नेपालमा लगानी गर्न फ्रान्सका वहुराष्ट्रिय कम्पनीहरु तयार, कानूनी व्यवधान हटाउन आग्रह

news-details

नवराज चालिसे / विश्वका विभिन्न मुलुकहरुमा लगानी गरिरहेका युरोपेली मुलुक फ्रान्सको झण्डै एक दर्जन बहुराष्ट्रिय कम्पनीहरुले नेपालमा लगानी गर्नका लागि इच्छा देखाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको फ्रान्स भ्रमणका क्रममा यहाँका उद्योगी व्यवसायीहरुले वान टु वान वार्ताका क्रममा नेपालको भौतिक पूर्वाधार, सूचना प्रविधि, पर्यटन र कृषिमा लगानी गर्न इच्छा देखाएका हुन् ।

प्रधानमन्त्री ओलीसँगको छलफलमा बहुराष्ट्रिय कम्पनीका प्रमुख तथा व्यवस्थापकहरुले नेपालमा लगानीको सुरक्षा र अनुकूल कानून भएमा आफूहरु लगानी गर्न तयार रहेको प्रष्ट पारे । फ्रान्सका बहुर्राष्ट्रिय कम्पनीहरु डेमिया अन्तर्राष्ट्रिय, एल्कोर, पुमा, ग्रेट स्पोटर्स टेक, विएनपी, पारिवास, इनग्रुप इन्टरनेशनल, सोसाइटी ग्लोवल फाइनान्स, ओइमीलगायतका अन्तर्राष्ट्रिय कम्पनीहरुले प्रधानमन्त्री ओलीको आह्वानपछि लगानी गर्न इच्छुक रहेको बताएका थिए ।

ग्लोवल डेमियाका उपाध्यक्ष साविने डोमनगेटले नेपालमा लगानीका लागि कानूनी झन्झट हटाएमा आफूहरु लगानी गर्न इच्छुक रहेको बताए । आफूहरु नेपालका विषयमा जानकार रहेको बताउँदै उनले भने, “भारत र चीन ठूला मुलुकको बीचमा नेपाल छ । दुवै देशमा उत्पादनको राम्रो बजार छ । नेपालबाट उत्पादित वस्तुका लागि बजारको समस्या छैन ।”

त्यस्तै एल्कोरका प्रेसिडेन्ट इरिक लेपोर्टले प्रधानमन्त्रीको आग्रहपछि पनि थप उत्साहित बनेको उल्लेख गर्दै लगानीका लागि कुनै पनि प्रशासनिक अवरोध आउन नहुनेमा जोड दिए । “फ्रान्समै आएर प्रधानमन्त्रीले लगानीका लागि आह्वान गर्नुभएको छ,” लेपोर्टले भने, “यसमा हामी निकै नै सकारात्मक भएका छौं र नेपाल सरकारबाट लगानीको सुरक्षाको ग्यारेन्टी आउनुलाई हामीले सकारात्मक रुपमा लिएका छौं ।”

फ्रान्सको निजी क्षेत्रको मेडेफ इन्टरनेशनल र नेपाल उद्योग वाणिज्य महासंघबीच दुई पक्षीय सम्झौता भएपछि फ्रान्सका बहुराष्ट्रिय लगानीकर्ताहरुले नेपालमा लगानीका लागि आफूहरु इच्छुक रहेको प्रतिक्रिया दिए । उनीहरुले नेपालमा राजनीतिक स्थिरता कायम भएमा आफूहरु लगानी लिएर नेपाल आउने आश्वास दिएका छन् । फ्रान्सका उद्योगी व्यवसायीहरुलाई सम्बोधन गर्दैै प्रधानमन्त्री ओलीले नेपालले अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई लगानी सम्मेलनमार्फत लगानीका लागि स्वागत गरेको उल्लेख गर्दै नेपालले विकास र समृद्धिका लागि अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई खुल्ला रुपमा आह्वान गरिसकेको बताए । प्रधानमन्त्री ओलीले सबै खालको कानूनी व्यवधान हटाउन सरकार तयार रहेको प्रष्ट पारे ।

फ्रान्सका उद्योगी व्यवसायीहरुलाई आश्वस्त पार्न प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदास वैरागी, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा। राजन भट्टराई उपस्थितिमा नेपाल उद्योग वाणिज्य महासंघकी भवानी राणाले नेपालमा लगानीको वातावरण बन्दै गएको उल्लेख गर्र्दैै नेपालको उच्च तहबाट भएको प्रतिबद्धताले अन्तर्राष्ट्रिय लगानीलाई सहज बनाएको बताउनुभयो ।

युरोप भ्रमणमा रहेको नेपाली उद्योगी व्यवसायीहरुको नेतृत्व गरेका महासंघका उपाध्यक्ष किशोर प्रधानले नेपालको निजी क्षेत्र अन्तर्राष्ट्रिय लगानीकर्ताहरुसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

महासंघको कृषि उद्यम केन्द्रका सहअध्यक्ष हेमराज ढकालले नेपालमा कृषि क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको बताउँदै युरोपेली मुलुकले नेपालको कृषि क्षेत्रमा लगानी गर्न सक्ने उल्लेख गर्नुभयो ।

छलफलमा प्रदेश सांसद लिलम बस्नेत, नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केवश भण्डारीलगायतले फ्रान्सेली लगानीकर्तासँग सहकार्य गरेर नेपालमा थप लगानी गर्न आफूहरु तयार बताएका थिए । नेपाल तथा फ्रान्स बीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि आकर्षणका क्षेत्रमा सहयोग एवं सहकार्य गर्ने उद्देश्यले महासंघ र मेडेफ बीच सहमतीपत्रमा हस्ताक्षर भएको महासंघले जनाएको छ ।

आपसी सहमतीपत्रमा, एक अर्का देशमा व्यवसायिक प्रतिनिधिमण्डलको आदान प्रदान, आर्थिक तथा व्यापारिक क्षेत्रबाट परियोजना अध्ययन समूहको भ्रमण, दुवै संस्थाको सहयोगमा सम्बन्धित विषयमा गोष्ठी, छलफल, सेमिनार लगायतका कार्यक्रम आयोजना गर्ने, प्राविधिक क्षेत्रमा सम्मेलन आयोजना गर्ने, आर्थिक तथा व्यवसायिक क्षेत्र बीच नियमित सम्पर्कमा रहेर सूचना तथा जानकारीको आदान प्रदान गर्ने, एकअर्का देशले अवलम्वन गरेका नीति नियमहरू आदान प्रदान गर्ने, आपसी लाभका क्षेत्रमा सहकार्य गर्ने, आर्थिक व्यापारिक क्षेत्रमा सहयोगका अवसरहरू जुटाउने, व्यापारिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि आकर्षणमा सहकार्य गर्ने उल्लेख छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *