कवि रमाकान्त भण्डारी सृजना, सम्मान र श्रद्धाञ्जलि

news-details

शब्द अनि वाक्य बनेन अक्षरबाट
जीवन चलेन भोगाइबाट
बीज फलेन रोपाइँबाट
ढाड दुखेन झुकाइबाट
संसार बनेन खोकाइबाट ।
कवि रमाकान्त भण्डारीका मन छुने काव्यिक पंक्तिहरु हुन् यी । नेपाली साहित्यमा कलम चलाउन निकै लागिपरेका भण्डारीले फुट्कर रुपमा कविता, गीत र मुक्तक र स्वच्छन्द रचना मार्फत् आफ्नो उपस्थिति देखाउने क्रममा क्रियाशील नै थिए ।
२०३१ साल चैत्र १६ गते गल्याङ नगरपालिका वडा नं. २, स्याङ्जामा जन्मिएका कवि रमाकान्तमा काव्यिक चेतनाका थुप्रै बलिया रचना उनका आफ्ना डायरी, फुट्कर लेखनमा भेट्न सकिन्छ । समाज, प्रकृति, प्रेम र राजनीतिका अनेक परिवेशलाई सुक्ष्म रुपमा अध्ययन गरी कवितामा उतार्ने निकै बेजोड कला उनमा रहेको देखिन्छ ।

सामाजिक काम, शैक्षिक सेवा र साहित्यका कार्यमा आफूलाई उभ्याउन मन गर्ने समाजसेवी रमाकान्तलाई उनको गाउँ वरपर चिन्ने बुझ्नेहरुले एक कर्मठ व्यक्तिका रुपमा अनुभव गर्छन् । जगत्रदेवी पुस्ताकलय तथा शैक्षिक केन्द्र गल्याङ–२, स्याङ्जाका संस्थापक भई उनले पु¥याएको योगदान निकै अविष्मरणीय रहेको छ । अहिलेसम्म अत्यन्तै स्मरणीय रुपमा उनलाई यही शैक्षिक केन्द्रमार्फत् गल्याङ वरपरको वासिन्दाले आदर गर्ने गरेको थाहा हुन्छ ।

पिता स्व. पिता चन्द्रकान्त भण्डारी र माता श्रीमती पेमादेवी भण्डारीका कान्छा कान्छा छोरा रमाकान्तलाई ‘रमणी’ नामले पनि सम्बोधन गर्ने गरिन्थ्यो । उनका दाजुहरु खुमाकान्त, विश्वनाथ, ऋषिराम, लेखनाथ भण्डारी आ–आफ्नै क्षेत्रमा प्रतिष्ठित छन् ।

कवि रमाकान्तकी बहिनी डा. विमला भण्डारी आफ्ना साहित्यिक दाइको अत्यन्तै भावपूर्ण सम्मान र गौरवका साथमा नाउँ लिने गर्छिन् ।

‘कविता, साहित्य, समाजसेवाका लागि सँधै चिन्तन् गर्ने दाइले छोटो आयु लिए पनि हाम्रो हृदयमा ठूलो सम्मान र स्थान प्राप्त गरेको हाम्रो परिवारले अनुभव गरेको छ ।’ डा. विमला भन्छिन् ।

कवि रमाकान्तकी श्रीमती मेनका, छोराहरु सिद्धार्थ र अनुराग हाल जापानमा रहेका छन् । आफ्नो गाउँमा रहँदा पनि शिक्षा, साहित्य र समाजसेवामा लागिरहने उनको सृजनात्मक आनीबानी रहेको थियो ।

सामाजिक र राजनीतिक चरित्रलाई उतार्न उनले आफ्ना स्वतन्त्र काव्य रचना मार्फत सँधै सचेतनामूलक विचार प्रवाहित गरेको देख्न पाइन्छ । आफ्नो समाजभन्दा पनि विश्व मानवतामा आइरहेको कमजोरी र विखण्डनबाट चिन्तित भएर आफ्ना कवितामा कवि रमाकान्तले सुधार, प्रेम, परिवर्तन र उदारका भावना पोखेको अनुभव गर्न सकिन्छ ।

                                                                                 स्वर्गीय रमाकान्त भण्डारी

गएको २०७९ साल जेठ २६ गते उनको अल्पायुमै असामयिक र दुखद् निधन भएको थियो । आजकै दिन उनको प्रथम वार्षिक श्रद्धाञ्जलि तिथि समेत परेको छ ।

नेपाली भाषा साहित्यमा दर्बिलो कलम चलाइरहेका कवि तथा कर्मठ लेखक स्वर्गीय रमाकान्त भण्डारीको दिवंगत आमाको चिरशान्तिको कामना गर्दै आगामी दिनमा उनलाई स्मरण गर्ने साहित्य कर्म गरिने डा. विमला बताउँछिन् ।

‘दाइका छरिएका रचनालाई संकलन गरी प्रकाशन मात्रै गरिँदिदा पनि वहाँको साहित्यिक योगदानको कदर हुनेछ । र, वहाँप्रति साँचो श्रद्धाञ्जलि हुने मैले ठानेकी छु ।’ डा. विमला भावुक हुँदै बताउँछिन् ।
अन्त्यमा कवि रमाकान्तका शब्दसहित उनलाई शब्दश्रद्धाञ्जलि–
सुन्दा पनि कति असह्य छ
भोग्नेलाई झन् कस्तो भएको होला ?
खोला पनि उल्टो बग्दो होला
घाम पश्चिमबाट उदाउँला
भन्, अब कस्तो लाग्छ तँलाई तेरो चोला ?
कोराना तँ कहाँबाट आइस्
छाडिनस् कसैलाई पनि…. ।

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *