‘धेरै भयो निष्ठुरीको छैन केही खबर,
छातीभरि उर्लिदिन्छ उनलाई भेट्ने रहर ।’

चर्चित रेडियो प्रस्तोता, पत्रकार तथा गीतकार हरिराम पौडेलको उल्लिखित गीत समेटिएको गीतसंग्रह ‘मेरो खुसी मेरो चाह’ काठमाडौंमा लोकार्पण गरिएको छ ।

अग्रज गीतकारहरू प्रा.डा. कृष्णहरि बराल, एसपी कोइराला, चूडामणि देवकोटा, गजलगो घनश्याम न्यौपाने परिश्रमी, महाकाव्यकार डा. नवराज लम्साल, सााहित्यकार युवराज नयाँघरे, पत्रकार जानुका ढकाल, योगगुरु गणापति मण्डललगायतले संग्रह लोकार्पण गरेका थिए ।

समारोहमा अतिथि वक्ताहरूले कतिपय मानिसहरूले गीत–संगीतलाई हल्काफुल्का मनोरञ्जनको साधनका रूपमा लिने गरे पनि एउटै गीत–संगीत सिर्जनाले संसार हल्लाइदिने परिवर्तनकारी क्षमता राख्ने टिप्पणी गरेका थिए ।

संचारकर्मी हरिराम पौडेलको गीति सङ्ग्रह ‘मेरो खुसी मेरो चाह’ लोकार्पण

कार्यक्रममा गायक तथा संगीतकारहरू सन्तोष खरेल, राजेश थापा, राजु सिंह, गोपाल अधिकारी लगायतले गीतकार पौडेलका केही गीतलाई सांगीतिक रूपमा प्रस्तुत गरेका थिए ।

‘मेरो खुसी मेरो चाह’ संग्रहमा गीतकार पौडेलले दुई–दशकयता सिर्जना गरेका ६४ वटा गीत सञ्चयन गरिएका छन् । पौडेलका अधिकतम गीतहरू प्रेम र पीडा–भावको सेरोफेरोमा रचना गरिएका छन् ।

लिस्नर्स क्लव नेपालको आयोजनामा आयोजित उक्त कृति लोकार्पण कार्यक्रममा नेपाली गीत संगीत क्षेत्रका चर्चित व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।