भकुण्डेबेँसीमा आख्यान र कविताको चर्चा

news-details

काभ्रेको भकुण्डेबेँसीमा छन्द दिवसको अवसर पारेर साहित्य चर्चा र बहस गरिएको छ । नमोबुद्ध नगरपालिका र रोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा कविता र आख्यानमाथि बहस गर्नुका साथै कविता वाचन पनि भए ।

‘समकालीन नेपाली आख्यानका प्रवृत्ति’ विषयमा निबन्धकार/पत्रकार दीपक सापकोटाले विप्लव प्रतीक, रेशम विरही, नवीन विभासको बहसलाई सहजीकरण गरे । युवा पुस्ताले लेखिरहेका आख्यानको शैली, शिल्प, कथ्य र शक्ति कस्तो छ भन्ने विषयमा उक्त छलफल केन्द्रित थियो ।

वक्ता विरहीले आजका पुस्ताले लेखिरहेका आख्यानमा आशा गर्ने ठाउँ हुँदाहुँदै पनि लेखन कमजोर रहेको टिप्पणी गरे । विप्लव प्रतीकले आफूलाई ठिक लागेको विषय र सन्दर्भमा आफूले लेख्ने गरेको बताउँदै पाठकको वर्ग र उमेरलाई हेरेर लेख्ने नगरेको भनाइ राखे । लेखक विभासले भने आजको पुस्ता सामाजिक सञ्जालको प्रभावमा परिरहेको भन्दै त्यसलाई प्रयोगमा ल्याउन नसकेको बताए ।

यस्तै, ‘समकालीन नेपाली कविता’का विषयमा सहभागी अभय श्रेष्ठ, विप्लव प्रतीक, भुवनहरि सिग्देल र रमन पौडेललाई पत्रकार फणीन्द्र संगमले बहसमा जोडे ।

कवि सिग्देलले छन्द कविता संकटमा परे पनि अहिले पनि उत्तिकै लोकप्रिय बनिरहेको तर्क गरे । अर्का वक्ता श्रेष्ठले जडतालाई चिर्न सक्नु नै कविताको वैशिष्ट्य रहेको भन्दै पछिल्लो पुस्ताले त्यो प्रयास गरिरहेको भनाइ राखे । पत्रकार रमन पौडेलले भने फरक धारणा राखे । उनले अहिले कविता चरम संकटमा रहेको भन्दै निराशा व्यक्त गरे । तर, अरु वक्ताले उनको तर्कलाई काटेर त्यो अवस्था आउन नसक्ने भन्दै कविताको बचाउ गरे ।

अर्का वक्ता विप्लव प्रतीकले हरेक समयमा स्थापित कविहरु आइरहने भन्दै तत्कालै मूल्यांकन गर्न नहुने बताए ।

कार्यक्रममा वरिष्ठ साहित्यकार एवं साहित्यिक पत्रकार मोहन दुवाल, हरि मञ्जुश्री, लोकगायक मच्छेश्वर सापकोटा, रामबहादुर पहाडी, राजु स्याङ्तान, रोशन पुन, नरेन्द्रकुमार नगरकोटी, पलपल दाहाल, सजना आचार्य, समर्पण श्री लगायतले रचना वाचन गरेका थिए ।

‘नमोबुद्ध साहित्य गोष्ठी’ नाम दिइएको कार्यक्रमा नमोबुद्ध नगरपालिकाका प्रमुख टंकप्रसाद तिमिल्सनाले चेतनाको विकासका लागि साहित्य पनि आवश्यक भएकाले आफूहरुले योजनामै साहित्य वाङ्मयलाई पनि समेटेको बताए । उनले रोशी वाङ्मय प्रतिष्ठानका लागि २० लाख बजेट विनियोजन गराइएको पनि उक्त कार्यक्रममा जानकारी गराए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *