पद्मश्री पुरस्कार यारलाई, तारानाथ शर्मालाई साधना सम्मान

news-details

काठमाडौं–२०७४ सालको ‘पद्मश्री साहित्य पुरस्कार’ लेखक नयनराज पाण्डेको संस्मरणात्मक कृति ‘यार’ र ‘पद्मश्री साधना सम्मान’ तारानाथ शर्मालाई प्रदान गरिने भएको छ। खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले सोमबार एक सूचना जारी गर्दै पुरस्कार तथा सम्मानको घोषणा गरेको हो ।

‘पद्मश्री साहित्य पुरस्कार’ वर्षभरी प्रकाशित कृतिमध्ये उत्कृष्ट कृतिलाई र ‘पद्मश्री साधना सम्मान’ नेपाली साहित्य, कला, संस्कृति आदि क्षेत्रमा दीर्घ साधना गरी विशिष्ट योदना दिने व्यक्तिलाई प्रदान गरिँदै आएको छ ।

यारमा आफ्ना निकट साथीहरूका माध्यमबाट नेपाली समाज,साहित्य र कलाका साथै त्यहाँभित्रका मानिसको मनोदशालाई विशिष्ट शैलीमा प्रस्तुत गरिएको छ । प्रतिष्ठानले वर्षकै उत्कृष्ट कृतिको रुपमा यारलाई छनोट गरेको हो ।

डा।तारानाथ शर्मा विगत ६ दशकदेखि नेपाली नियात्रा,निबन्ध, समालोचना, आख्यान, अनुवाद र सम्पादनमा विशिष्ट योगदान दिँदै आइरहेका छन् । उनी नेपाली साहित्यमा झर्रोवादी अभियानका एक अभियान्ता पनि हुन् ।

खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले २०६२ देखि मोफसलमा प्रकाशित उत्कृष्ट कृतिलाई ‘पद्मश्री साहित्य पुरस्कार’प्रदान गर्दै आएको थियो । २०६६ सालबाट देश तथा विदेशबाट समेत नेपाली भाषामा प्रकाशित उत्कृष्ट कृतिलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।

त्यसैगरी २०६७ सालबाट नेपाली साहित्य, कला, संस्कृति आदि क्षेत्रमा दीर्घ साधना गर्ने विशिष्ट व्यक्तिलाई‘पद्यश्री साधना सम्मान’ प्रदान गर्दै आइरहेको प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले बताए ।

घोषणा गरिएका दुवै पुरस्कार र सम्मानको राशी २-२ लाख रहेका छन् । पुरस्कार तथा सम्मान आगामी कोजाग्रत पूर्णिमाको दिन प्रदान गरिने संरक्षक लामिछानेले बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *