सबैको हातेमालोले मात्र सम्बृद्ध चैनपुर बन्छ : कृष्णकुमार तामाङ, प्रमुख, चैनपुर नगरपालिका

news-details

कोशी प्रदेशकै एक सुन्दर र ऐतिहासिक नगरपालिका हो चैनपुर नगरपालिका । चैनपुर नगरपालिका सामाजिक, सांस्कृतिक र पर्यटकीय हिसावले प्रसिद्ध छ । यहां अवस्थित विभिन्न मठ मन्दिरहरुले धार्मिक पर्यटनको संभावना बोकेका छन् । चैनपुर नगरपालिकालाई कृषि तथा पर्यटकीय केन्द्रका रुपमा विकास गर्न नगरपालिका क्रियाशील रहेको छ । चैनपुर नगरपालिकाले ‘कृषि, पर्यटन र व्यापार, सुरक्षित सम्बृद्ध नगरको आधार’ मुख्य नारा नै बनाएर काम गरिरहेको छ ।

चैनपुर नगरपालिकाले स्थानीय तहमा राम्ररी भिजेका अनुभवी र भिजनरी नगरप्रमुख कृष्णकुमार तामाङलाई पाएको छ । चैनपुर नगरपालिकाको नगरप्रमुख भएको एक बर्ष अनुभव सम्हालिसक्नु भएका तामाङले विकासको गतिलाई तीब्ररुपमा दौडाइरहनु भएको छ । चैनपुुर नगरपालिकालाई नै सर्वोपरी मानेर अहोरात्र लागिरहनु भएका नगरप्रमुख तामाङलाई उपप्रमुख एलिना श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद ढकाल, वडाअध्यक्षहरु तथा स्थानीय प्रतिनिधिहरुले साथ दिइरहनुभएको छ ।

चैनपुर नगरपालिकाको विकास निर्माणको काममा एक वर्षमा केही इँटा थपिएको र चैनपुरवासीमै समर्पित हुनका लागि आफुले सङ्कल्प लिएको नगरप्रमुख तामाङको भनाई छ । चैनपुर छोडेर बाहिर जाने तथा बाहिर नै लगानी गर्नेहरुले अव चैनपुर फर्र्केर आआफ्नो ठाउँबाट सहकार्य गरेमा मात्र सम्बृद्ध चैनपुर बन्ने नगरप्रमुख तामाङको भनाई छ । चैनपुर नगरपालिका एक्लैले भन्दा पनि सबै मिलेर चैनपुरको विकासमा हातेमालो गर्न प्रमुख तामाङको अनुरोध छ । चैनपुर नगरपालिकाले गरिरहेका कार्य र भावी योजनाका विषयमा नगरप्रमुख कृष्णकुमार तामाङसँग अर्थ र रोजगार मासिक तथा रोजगारमञ्च डटकमले गरेको कुराकानी :

चैनपुर नगरपालिकाको नेतृत्व सम्हालेको एक वर्ष पुरा भएछ, तपाईले एक बर्ष कसरी पुरा गर्नुभयो ?

धन्यवाद, मैले चैनपुर नगरपालिकाको जिम्मेवारी सम्हालेको एक बर्ष पुरा भएको छ । विकास निर्माणको काममा यो एक वर्षमा केही इट्टा थपिएको छ जस्तो लाग्छ । मान्छेका विभिन्न आशाहरुलाई एकैपटक समेट्न नसकिएतापनि विस्तारै स्थानीय जनताको इच्छा, आकांक्षा र समस्याहरुलाई सम्बोधन गर्नुपर्छ भन्ने मैले दृढरुपमा सङ्कल्प लिएको छु ।

तपाईले चुनावअघि स्थानीय जनतासामु गरेका प्रतिवद्धता अनुसार केके कामहरु पुरा गर्न सक्नुभयो त ?

हामीले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, पशु, पर्यटन सबै क्षेत्रमा विकास गर्छौ भनेर प्रतिवद्धता जनाएका थियौं । एकैचोटी सबै पुरा गर्न सकिने अवस्था हुने रहेनछ, हामीले बिस्तारै केही काम थाल्यौ र हामी निर्वाचित भएको पनि एक वर्ष भएको छ । एक बर्षिय कार्यक्रमहरु अहिले धमाधम हुँदैछन् भने केही कामहरु बाँकी छन् । विकासको पहिलो प्राथमिकतामा हामीले सडक निमार्ण तथा मर्मतलाई दिएका छौं ।

नगरपालिका र संघको साझेदारीमा सडकको काम भइरहेको छ । खराङ, हात्तिसुडे हुँदै पिलुवाखोला सडक जुन हिजोबाटै बहुवर्षिय योजनामा पर्दै आएको थियो त्यसलाई हामीले अहिले पनि निरन्तरता दिएका छौ । चैनपुर नगरपालिकाकै भण्डारीमोडमा रहेको बाटो कालोपत्रे भएको छ । अर्को, चैनपुर रातमाटे माओदिनको बाटो कालोपत्रे हुँदैछ । त्यसैगरी चैनपुर सिरानबाट संखुवासभा बहूमुखी क्याम्पसको मोडबाट साउनेपानी भ्यागुते ढुंगा हुँदै सिद्धकाली जाने डेढ किलोमिटर बाटो ढलान र कालोपत्रे हुँदैछ । यस्तै हामीले चैनपुर बजारबाट भञ्ज्याङखर्क हुँदै खाँदबारी जाने सडक पनि निर्माण गर्दै छौ । त्यहाँ पनि करिब ५ सय मिटर ढलान गरिसकेका छौ । नगरले ठूला बजेटबाट निर्माण गरेका सडकहरु यीनै हुन् । यसका अतिरिक्त वडामा वडाध्यक्षहरुले पनि सानातिना बाटाहरुमा सोलिङ, दायाबाँया चौडा गर्ने कामहरु गरिरहनुभएको छ । नगरपालिकाकै पहलमा चैनपुर, हेवाखोला, बाह्रबिसे सडकमा काम भइरहेको छ ।

हामीले २ वटा झोलुङ्गे पुल पनि वडा नं ४ र १० मा निर्माण गरेका छौ । यहाँ खानेपानीको समस्या समाधान गर्नको लागि वडा नं १० मा अरुण सभा खोला र पिलुखा खोलाबाट लिफ्टिङ गरेर खानेपानीको समस्या समाधान गरिरहेका छौ भने ११ वडामा पानी खान थालिसकेका छन् । र त्यो सँगसँगै सिँचाईको काम पनि हामीले गरिरहेका छौ । त्यसैगरी वडा नंं ४ को सेवाखोलाबाट बृहत् खानेपानी निर्माण हुँदैछ ।

विकास निमार्णका साथै कृषि तथा पशुपालनको पुरानो शैलीलाई परिवर्तन ल्याउनको लागि नगरपालिकाले केही गरेको छैन ?

हामीले यसका लागि कार्ययोजना पनि बनाएका छौ । यहाँका युवायुवती रोजगारको शिलशिलामा विदेशिने गरेका छन् र यही रहेका युवाहरुलाई कसरी रोजगार दिन सकिन्छ भनेर विभिन्न कार्यक्रमहरु पनि राखेका छौ । हामीले कृषिसँग सम्बन्धित केही कार्यक्रमहरु राख्यौ । जस्तै भैसी पाल्नेहरुलाई अनुदानसहित भैसी दिने, बाख्रा पालनका लागि बोका तथा बाख्राहरु दिने गरिरहेका छौ । आयआर्जन बढाउनका लागि हामीले कृषिसँगै पशुपालनलाई जोडेर उन्नत जातका बोयर बोकाहरु वितरण ग¥यौ । हामीले फलफूलका विरुवाहरु पनि दियौ । जस्तै वडा न. ५ अन्तर्गत सुन्तलाको पकेट क्षेत्र भनेर घोषणा गरेर सुन्तलाका विरुवाहरु दिएका छौ र त्यहाँ सुन्तला धमाधम उत्पादन हुन थालेका छन् ।

हामीले नगरपालिकाबाट छुट्टै कार्यक्रम बनाएर ब्यागहरु बनाउनको लागि तालिम संचालन ग¥यौ, ड्राइभिङ सेन्टर संचालन गरेर तालिम दियौ । केश काट्नका लागि मान्छेहरु बाहिरबाट आउने र तिनीहरुले यहाँबाट धेरै पैसा बाहिर लगेकोले त्यो पैसालाई यही रोक्नको लागि हामीले केश काट्ने तालिम पनि दियौ । प्रधानमन्त्री रोजगार कार्यक्रम उत्पादनमुखि बनाउने हाम्रो सोच छ । र निश्चित ठाउँ दिएर निश्चित काम लगाउने जस्तै चिया खेती गर्न लगाउने र त्यो उत्पादन नगरले प्राप्त गर्ने हामीले सोच बनाएका छौ । यसरी नै हामीले फलफूल, किवी, सुन्तला, आँप, लिचि दाँतेओखरका बिरुवा वितरण गरेका छौ । अहिले हामीले रोजगारको क्षेत्रमा यस्तै कामहरु गरिरहेका छौ र आगामी वर्षमा यसलाई बढाएर लैजाने छौ ।

चैनपुर पर्यटकीय क्षेत्र पनि हो, पर्यटकलाई भित्र्याउनको लागि नगरपालिकाको योजना के छ ?

हो, चैनपुर ऐतिहाँसिक, प्राकृतिक तथा धार्मिकरुपमा पर्यटक तान्ने क्षेत्र हो । तर, विडम्बना चैनपुरमा जन्मिएर बाहिर बसेका अनि चैनपुरमै रहेर आयआर्जन गरिरहेकाहरु पनि आफ्नो ठाउँमा लगानी गर्न चाहिरहेका देखिदैनन् । त्यसले गर्दा चैनपुरको भविष्य दिनप्रतिदिन खस्कदै गएको देख्छौ हामी । यसैले यहाँ स्थानीयको लगानीको पनि खाँचो छ । बाहिरबाट आउनेलाई यहाँ बस्न खान राम्रो सुविधाको लागि स्तरीय होटलहरुको व्यवस्था गर्नुपर्छ । चैनपुरको खानपान चिजबिज किन्न पाउनुपर्छ । सबैको सहकार्य तथा हातेमालो भयो भने चैनपुरमा पर्यटक धेरै भित्र्याउन सकिन्छ । दुर्भाग्य यहाँ अहिले चैनपुरे करुवा पनि बन्न छोडेको छ । हामी चैनपुरे करुवा चैनपुरमानै बन्नुपर्छ भनेर लागिरेका छौं ।

चैनपुरको जिरो पोइन्टमा निर्माण भएको ‘करुवा पार्क’को विषयमा बिवाद कसरी भयो ?

हामी यसलाई विवाद भन्दा पनि बढि हल्लाखल्ला मात्र भएको मान्छौ । खासगरि त्यो करुवा यहाँका मानिसहरुले बनाउन नसक्ने भएपछि ललितपुरका कालिगढलाई बनाउन दिएको र यहाँ राखिसकेपछि चैनपुरको करुवा भनेजस्तो नभएको कारण यो विवाद आएको हो । अव केही महिनामा करुवा बनाउने ठेकेदारले चैनपुरको नमूना करुवा बनाएर राख्ने र अहिले प्रतिकात्मकपमा राखिएको करुवा लैजाने सहमति भइसकेको हुँदा अव कुनै विवाद वा समस्या छैन ।

हामीले बजारमा करुवाको नमुना खोज्न जाँदा कहीपनि एकरुपको करुवा पाएनौ । त्यही भएर पनि भनेजस्तो करुवाको आकार नआएको हो । त्यही भएर चैनपुरवासीले पनि आफ्नो पेशा लोप हुँदै गएकोमा चिन्ता गर्नुपर्छ । चैनपुरे करुवा लोप दिन हुँदैन र निमार्णमा प्रोत्साहन गर्नुपर्छ भनेर नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

समृद्ध चैनपुर नगरपालिका बनाउन तपाईका योजनाहरु केके छन् ?

नगरलाई समृद्ध बनाउनका लागि यसलाई पर्यटनसँग जोड्ने र आयआर्जन बढाउने भन्ने नै हो । अव चैनपुरमा होटल व्यवसायहरु चलाएर, स्थानीय उत्पादन बढाएर, स्थानीयलाई आयआर्जनको स्रोत बढाइदियो भने उनीहरुको स्तर बढ्छ भन्ने लागेको छ । त्यसैगरी आधुनिक कृषि, पशुपालन, नगदेवालीलाई पनि जोड्नुपर्छ भन्ने लागेको छ ।
अहिले भएका जमिनहरु बाँझो राखेर शहरउन्मुख हुने क्रम बढ्दो छ । यस्ता व्यक्तिहरुलाई गाउँमै फर्काउने, खेती लगाउने र आयआर्जनतिर लगाएर समृद्ध बनाउने भन्ने हाम्रो योजना छ । हामीले उनीहरुलाई कृषिऔजार, हातेट्रयाक्टर, पाइपहरु बाँडेका छौ । उनीहरुलाई समृद्ध बनाउन रोजगारमा जोड्न लागेका छौ । त्यो चाँहि हामीले भनेर मात्रै पनि हुँदैन गर्नेसँग पनि भर पर्छ ।

तपाईले सम्बृद्ध चैनपुर बनाउन देखेका सपना पुरा गर्नका लागि चैनपुरवासीलाई के आग्रह गर्नुहुन्छ ?

कुनै पनि कार्य सफल पार्नका लागि एक जना मान्छेको केही पनि चल्दैन । यसमा सबैको साथ सहयोग चाहिन्छ । एउटा नगरप्रमुखले हिजो जुन सपना देखेर यहाँ आएको थियो, त्यो अवश्य पनि पुरा गर्न सकिदैन । प्रशासनबाट त्यत्तिकै साथ सहयोग चाहिन्छ । शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र सुर्धान सबै लाग्नुपर्नेछ । उद्योगी, व्यापारी व्यवसायी, कृषक सबैले आ–आफ्नो ठाउँबाट लाग्ने हो भने यो ठाउँ बन्छ । अब आफै सच्चिएर अघि बढनुपर्छ । अरुलाई भन्ने तर आफू नसच्चिने हो भने यो कुनै पनि हालतमा हुँदैन । त्यसकारण आफ्नो ठाउँ बनाउनका लागि हरेक क्षेत्रको मान्छेले हातेमालो गर्नुपर्छ ।

अन्त्यमा, चैनपुर नआएका तथा चैनपुरका बारेमा थाहा नपाएकाहरुका लागि तपाईको के सन्देश छ ?

चैनपुर, एउटा पुरानो ऐतिहासिक बजार हो । चैनपुर भनेपछि पूर्वमा कहलिएको ठाउँ हो । चैनपुर बजार निकै धनीहरु बसेको ठाउँ पनि भनिन्छ । चैनपुरको तल अरुण नदीदेखि लिएर माथि गुफापोखरी, जलजले मिल्के डाडाहरुसम्म पर्छ । बोटबिरुवा, हावापानी तथा खोलानाला फरक किसिमको हुनाले यो नगरपालिका अलि फरक छ । चैनपुर संखुवासभा जिल्लाको पुरानो सदरमुकाम पनि हो । यो अरुण नदीदेखि हिमालसम्म जोडिएको छ । धार्मिक तथा पर्यटकीय स्थलले घेरिएको चैनपुरमा नुनढाकी तातोपानी, सिद्धकाली मन्दिर, वानेश्वर मन्दिरको दर्शन गर्न पाइन्छ । चैनपुर नआउनु भएका तथा आउन चाहनेहरुले हवाई तथा स्थलमार्ग प्रयोग गरेर आउन सकिन्छ । सबैलाई चैनपुर नगरपालिका स्वागत गर्न आतुर छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *