बहराइनसँग नेपालबाट सीधा हवाई सेवा जोड्नु पर्छ : कमल श्रेष्ठ (भिडियोसहित)

news-details

खाडी मुलुक बहराइन जति सानो छ त्यति नै नेपालीको संख्या पनि न्यून छ । २५/३० हजार नेपाली कार्यरत रहेको बहराइनमा नेपालीहरुका समस्या पनि न्यून छ । केही बर्ष अगाडिदेखि नेपाली दूतावास स्थापना भएपछि बहराइनमा नेपाली कामदारको हक अधिकार रक्षाका लागि मात्र नभएर दुई देशिय सम्बन्ध बिस्तार भइरहेको छ । नेपाली दूतावास स्थापना हुनुभन्दा पहिला नेपाली क्लव बहराइनले यी सबै काम गर्दै आएको थियो । सन् २००० मा स्थापना भएको नेपाली क्लव मान्यता प्राप्त पुरानो नेपाली संस्था हो । बहराइनमा क्रियासिल सम्पुर्ण संघसंगठन तथा सस्थाहरु मध्ये नेपाली क्लव बहराइन सरकारद्वारा मान्यता प्राप्त एक मात्र सामाजिक संस्था हो । बहराइनको राजधानी मान्मामा क्लवको आफ्नै भवनमा कार्यालय रहेको छ । नेपाली संघसंस्थाहरुलाई विभिन्न कार्यक्रम गर्नका लागि हल तथा रेष्टुरेन्टको सुविधासमेत उपलब्ध गराइरहेको क्लवले विभिन्न सामाजिक तथा जनचेतनामुलक कार्यक्रम गर्दै आइरहेको छ ।

नेपाली क्लव बहाराइनको नेतृत्व अहिले कमल श्रेष्ठले गरिरहेका छन् । बहराइनमा व्यपार व्यवसायमा सफलता चुमिरहेका श्रेष्ठ आफै सामाजिक तथा एनआरएन अभियानमा क्रियाशिल रहेका छन् । खाडीका अन्य देशमा नेपालबाट सीधा हवाई सेवा भएतापनि बहराइनमा ट्रान्जिटबाट आउनु पर्ने भएकाले सीधा हवार्ई सेवा संचालनका लागि लामो समयदेखि नेपाली क्लव तथा अन्य संघसंस्थाहरुले दवाव दिदै आइरहेका छन् । नेपाली दूतावास बहराइनले पनि सीधा हवाई सेवाका लागि पहल गरिरहेको जनाएको छ । केही समय अगाडि बहराइनका राजकुमारले नेपालका हिमाल आरोहण गर्दा नेपाल र बहराइनको सम्बन्धमा नयाँ उचाई थपिएको छ । बहराइनमा रहेका नेपाली, नेपाली क्लव तथा अन्य विषयमा रहेर नेपाली क्लवका अध्यक्ष कमल श्रेष्ठसँग गरिएको छोटो कुराकानी :

सानो र सुन्दर देश बहराइनमा नेपालीहरुको अवस्था कस्तो छ ?

बहराइन एकदमै सानो देश हो । यहाँ नेपाली दाजुभाइ दिदिबहिनीहरुको समस्या एकदमै न्युन छ । हुँदै नभएको हैन तर एकदमै न्युन छ । नेपालीहरुलाई परेको समस्या समाधान गर्नको लागि यहाँको सबै संघ संस्थाहरु सक्रिय छन् । नेपाली राजदूतावास बहराइनले एकदमै एक्टिभ भएर काम गरेको छ । त्यसैले अहिले धेरै समस्या छैनन, नेपालीहरुको अवस्था समग्रमा राम्रो छ ।

बहराइनमा नेपालीहरु कति कार्यरत छन् र कुन कुन क्षेत्रमा रहेका छन् ?

सरकारी रेकर्डमा हेर्दा लगभग २६ हजार डकुमेन्ट भएका नेपालीहरुको रेकर्ड बहराइनमा भेटिन्छ । अनडकुमेन्टेड नेपालीहरु पनि केही मात्रामा रहेका छन् । २५/३० हजारको हाराहारीमा छौ भन्ने मलाई लाग्छ ।

बहराइनमा अधिकांश नेपाली जनरल वर्कर, क्लीनर, सेक्युरेटी गार्डमा कार्यरत रहेका छन् । यसको अर्थ लेबर काममा बढि नेपालीहरु छन् । बाँकी रिटेलमा, सेल्समा, मलहरुमा, रेस्टुरेन्टहरुमा पनि नेपालीहरुको एकदमै राम्रो पर्फमेन्स छ । केहि साथीहरु कम्पनीहरुमा पनि आवद्ध हुनुहुन्छ । र समग्रमा राम्रै आर्जन गरेर रामै पेशामा काम गर्ने नेपालीहरु पनि छौ । व्यवसाय गरेर बस्ने नेपालीहरु पनि छौं ।

बहराइन सरकारले मान्यता दिएको एक मात्र नेपाली संस्था नेपाली क्लवको नेतृत्व गरिरहनु भएको छ, क्लवले के के काम गरिरहेको छ ?

नेपाली क्लव बहराइन सन् २००० मा स्थापना भएको संस्था हो । स्थापना कालदेखि नै यो संस्थाले निरन्तर अहिलेसम्म नेपालीहरुलाई सहयोग गर्दै आइरहेको छ । यो संस्था बहराइनको श्रम मन्त्रालय, सोसियल डेभ्लोप्मेन्टको एउटा शाखामा रजिष्टर भएको संस्था हो ।

मैले कार्यभार सम्हाल्दै आएदेखि नेपाली राजदूतावास र यहाँको सरकारसँग सहकार्य गरेर हामीले काम गरिरहेका छौ । जस्तै हाम्रो संस्कृति परम्परा देखाइरहेका छौ । कोभिडजस्तो महामारीमा पनि हामीले यहाँको सरकार र निकायहरुसँग सहकार्य गरेर नेपाली श्रमिकहरुलाई सहयोगदेखि लिएर स्वदेश फर्काउने कार्य ग¥यौ । नेपाली श्रमिकहरुलाई जनचेतना फैलाउनेदेखि लिएर उनीहरुलाई निःशुल्क सेवाहरु प्रदान गर्दै आइरहेका छौ । अनलाइन श्रम नविकरण गर्ने सुविधाका साथै अहिले इपासपोर्ट भर्ने व्यवस्था पनि मिलाएका छौ । केही समस्या वा ठगिमा परेका नेपालीहरुलाई क्लवले सेल्टरको व्यवस्था गरेर खान, बस्नका साथै सहयोग गरिरहेका छौ ।

क्लवले विभिन्न कार्यक्रम तथा सहयोगका लागि आर्थिक व्यवस्थापन कसरी गर्छ ?

नेपाली क्लवलाई अन्य संघसंस्थाले वार्षिक सहयोग प्रदान गरिरहेका हुन्छन् । विभिन्न संघसस्थाहरुलाई भनेर क्लवको भवनमा नै रेस्टुँराको व्यवस्था गरिएको छ, त्यहाको सुविधा लिएर त्यसको केहि बेनिफिट पनि नेपाली क्लबलाई आउछ । र क्लवको मुख्य आयस्रोत भनेको बर्षेनी दुईवटा कल्चरल इभेन्ट गर्छौ । कल्चर इभेन्टका लागि स्पोन्सरसिप जुटाएर र इन्ट्रि फि लिएर कार्यक्रम गर्छौ र त्यो फन्ड मोबिलाइज गरेर नेपाली क्लब संचालन भइरहेको छ ।

बहराइनमा नेपालीहरुका कुनै समस्या नै नभएका त होइन होला ? यहाँ कस्ता खालका समस्या छन् नेपालीहरुका ?

सबै राम्रो नै छ भन्न खोजेको त होइन, तुलनात्मकरुपमा राम्रो छ मात्र भन्न खोजेको हो । हामीले पहिलादेखि नै भन्दै आएका छौ, बहराइन र नेपालबीच सीधा हवाई सेवा छैन । नेपाल र बहराइन ४ घण्टाको उडान भए पनि अन्य देश हुँदै यात्रा गर्दा धेरै दुःख भोग्नु परेको छ । यो समस्या हल गर्नका लागि हामीले नेपाल सरकार, नेपाली दूतावास सबैलाई दवाव दिइरहेका छौं ।
अर्कोतर्फ कामदारका केही समस्या नआएका होइनन् । केही कम्पनीमा आएका नेपालीहरुको केही समस्या छ । क्लिनिङ कम्पनी र सेक्युरिटी कम्पनीहरुमा धेरै समस्या आएको छ । नेपाल सरकारले फ्रि भिसा फ्रि टिकट भने पनि डेढ दुईलाख रुपैया तिरेर आउने र यहाँ आएपछि ४०–५० हजार बच्छ भनेर झुटो बाचा गर्दा समस्या देखिएका छन् । बहराइन आएपछि केही कम्पनीले सेकेन्ड एग्रिमेन्ट गराएर १२ घण्टा काम लगाएर महिनाको ३० हजार पनि दिदैनन् । अनि समस्या उत्पन्न हुन्छ । त्यस्ता कम्पनीहरुमा जानेर या नजानेर दलालहरुको चक्करमा नेपालीहरु फसेका छन् । त्यस्ता खराव कम्पनीहरुको हामीले सर्टलिस्टेड गरेर नेपाली राजदूतावास बहराइनमा बुझाएका छौ । त्यस्ता कम्पनी, मेनपावर र एजेन्टहरुमार्फत पठाउन हुँदैन भनेका छौं । हामीले बहराइन सरकारलाई रिकमेन्ड गरेका छौ र बहराइन सरकार एकदमै सकारात्मक छ ।

बहराइनका राजकुमारले केही समय अगाडि नेपाल पुगेर हिमाल चढेर फर्किएका छन्, बहराइनले नेपाली र नेपाललाई कुन ढंगले हेरेको छ ?

बहराइन सरकारले नेपाललाई एकदमै सम्मानित तवरले हेरेको मेरो बुझाई छ । नेपालीहरु एकदमै मेहेनती, इमान्दार र सिधा हुने भएकाले बहराइनको पहिलो प्राथमिकतामा नेपालीहरु नै पर्छन् । नेपालीहरुलाई एकदमै राम्रो तरिकाले हेर्दछन् । बहराइन सरकारले पनि नेपाललाई एकदमै राम्रो नजरले हेर्छ । अहिले बिस्तारै बहराइनीहरु नेपालमा जाने ट्रेन्ड पनि बढिरहेको छ । बहराइनका राजकुमारले नेपालको हिमाल आरोहण गर्नु भनेको नेपाल र नेपालीका लागि महत्वपूर्ण उपलब्धी हो । अब हाम्रो अर्को फोकस भनेको राजदरबारसँग मिलेर नेपालका व्यवसायीहरुलाई बहराइन ल्याउने र यहाँका व्यवसायीहरुलाई नेपाल लाने लक्ष्य रहेको छ ।

अन्त्यमा, रोजगारीका लागि बहाराइन आउन चाहने नेपालीहरुका लागि के भन्न चाहनुहुन्छ ?

हुन त सकेसम्म नेपालमै रोजगार भएको राम्रो । बाध्यताले कोही विदेश आउनुभएको छ भने राजदूतावासमा सम्पर्क गरेर राम्रोसँग जानकारी लिएर मात्र आउनु होला । अहिले संचारको युग छ, आफुले काम गर्न जाने कम्पनीका बारेमा राम्रो जानकारी राखेर मात्र वैदेशिक यात्रा तय गर्न आग्रह गर्दछु ।

हेर्नुहोस् भिडियो अन्तर्वार्ता

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *