वैदेशिक रोजगारको समस्याको मुहान नेपाल मै छ : जोन अर्याल

news-details

राजेन्द्र अर्याल (जोन) आइसीसी सदस्य,
गैरआवासीय नेपाली संघ

राजेन्द्र अर्याललाई धेरैले जोन अर्याल भनेर चिन्दछन् । सन् १९९९ डिसेम्बरमा साउदी अरव छिर्नु भएका अर्यालले करिव ५ बर्ष वैदेशिक रोजगारीमा बिताउनु भयो । रोजगारीले मात्र उहाँको चित्त बुझेन अनि थाल्नु भयो आफ्नै व्यवसाय । पाल्पाका अर्यालले त्यसपछि कहिल्यै पछाडि फर्किएर हेर्नुपरेन । आफै रोजगारमा जानु भएका अर्यालले अहिले ३ जना नेपालीसहित १३ जनालाई रोजगारी दिइरहनुभएको छ ।

व्यवसायको अलावा सामाजिक काममा पनि सक्रिय अर्याल एनआरएन अभियानमा पनि निरन्तर लागिरहनु भएको छ । सन् २०१० देखि एनआरएन साउदीमा लाग्नु भएका अर्याल एक कार्यकाल एनसीसी सदस्य भएर काम गर्नुभयो । अहिले एनआरएनए आइसीसी सदस्य रहनु भएका अर्याल एनआरएनएको वैदेशिक रोजगार तथा आप्रबासी कामदार कल्याण समितीको सहसंयोजक पनि हुनुुहुन्छ । खाडी देशमा रहेका नेपालीहरुका दुःख र समस्यालाई नजिकबाट बुझ्ने अर्यालले एनआरएन मार्फत पनि धेरै सहयोग गरिरहनु भएको छ ।

उहाँसँग मध्यपूर्वका नेपालीहरुको अवस्थाका बारेमा रोजगार मञ्चले ओमानको मस्कटमा गरेको कुराकानी :

तपाई एनआरएनको अभियानमा कसरी जोडिनु भयो ?

वैदेशिक रोजगारमा साउदी अरव सन् १९९९ मा आएपनि म प्रत्यक्षरुपमा सन २०१० देखि एनआरएनमा आबद्ध छु । एनआरएन एनसीसी साउदीको सदस्य एक कार्यकाल बिताएँ भने एनआरएनए आइसीसी सदस्यमा निवार्चित भएर काम गरिरहेको छु । त्यसैगरी एनआरएनए सचिव डिबी क्षेत्रीको अध्यक्षतामा रहेको वैदेशिक रोजगार तथा आप्रबासी कामदार कल्याण समितीको सहसंयोजकका रुपमा काम गरिरहेको छु । हामीले दुःख पाएर पीडित हुनुभएका दाजुभाई तथा दिदीबहिनीहरुलाई उद्धार गरेका छौं । भर्खर हामीले दुई वर्षदेखि हस्पिटलमा रहनुभएका साउदीका धर्मनाथ पासवानलाई सकुशल उद्धार गर्न सफल भयौं । त्यस्तै धेरै कम्पनीहरुमा भिजिट गरेर दुख पाएका नेपालीहरुलाई दूतावाससम्म पु¥याउने माध्यम भएर धेरैको उद्धार गरिसकेकाछौं ।

तपाई धेरै समय मध्यपूर्वमा बस्नुभयो र साउदी अरब तपाईको कार्यक्षेत्र छ, साउदी अरबका नेपालीहरुको धेरै समस्या सुनिन्छ,  के हो वास्तविकता ?

साउदी अरवमा नेपालीहरु आउने भनेको वैदेशिक रोजगारमा नै हो । नेपालीहरु गाउँघरदेखि नै विदेश पठाउने एजेण्टमार्फत ठगिन थाल्दछन् । अर्को कुरा नेपालमा ७ सय पारिश्रमिक भनेर आउँनेको पनि एग्रिमेन्टमा भने १५ सय हुन्छ । सबै मेनपावरले त्यसो नगरे पनि धेरैले दोहोरो एग्रिमेण्ट नै गर्दा रहेछन् । तर, कतिपय मेनपावरले पीडितहरुलाई उद्धार समेत गर्नुभएको छ । मुख्य समस्या भनेको नेपाली दाजुभाई तथा दिदीबहिनी आफैमा पनि छ । आफु कहाँ जाँदैछु, कुन काममा जाँदैछु, सेवा सुविधाहरु के कस्ता छन् जस्ता सामान्य ज्ञान पनि नहुनु, विदेश आइसकेपछि त्यहाँका रहन सहन, रितीरिवाज, धर्म संस्कृतिको ज्ञान नहुनु अर्को समस्या हो । अहिले इन्टरनेटको जमानामा गाउँ गाउँमा नेट छ, कमसेकम कम्पनीको बारेमा सम्पुर्ण निरीक्षण गरेर सबै बुझेर मात्र आइदिनुभयो भने समस्याहरु धेरै कम हुने थियो ।

भनेपछि वैदेशिक रोजगारको समस्या वा ठगीको मुहान चै नेपाल मै छ भन्न खोज्नुभएको हो ?

हो, मुहान सफा भयो भने सबै राम्रो हुन्छ । गाउँदेखि विदेश जान चाहनेहरुलाई मेनपावरसम्म विभिन्न एजेण्टले ल्याएका हुन्छन्, जसले मेनपावरसम्म पु¥याएको हुन्छ त्यसले नै ठगिरहेको हुन्छ । धेरै त्यस्ता समस्याहरु देखिन्छन् । तर अहिले साउदी सरकारले न्युनतम पारिश्रमिक एक हजार प्लस ३ सय पु¥याएको छ । त्यो सफल भयो भने केही हदसम्म नेपालीहरु लाभान्वित हुन्छन् ।

मध्यपूर्वमा रहेका नेपालीहरुका समस्या तथा मुद्धाहरु समान छन् । त्यही भएर मध्यपूर्वका एनआरएनमा पनि एकता हुन सके बलियो आवाज जाने थियो, तपाईको अपेक्षा वा पहल कस्तो रहन्छ ?

अहिलेसम्म मिडिलइस्टमा एकता भनेर नारामा मात्रै सीमित रहेको छ । वर्षौदेखि यी कुराहरु सुन्दै आएकाछौं । गतवर्ष एक किसिमको एकता गर्न सकिएको पनि थियो । त्यही बाटोमा यसपटक पनि निरन्तरता पायो भने मिडिलइस्टले पनि नेतृत्व पाउनुपर्छ भन्ने हामी सबैको सोच हो । म सबैलाई हामी मिडिल इष्ट एक भएर जाऔं, एक भएर गयौं भने हामीले चाहे अनुसारको पद लिन सक्छौ, अव हामी एक हुनुको विकल्प छैन भन्न चाहन्छु । एकताको वातावरण मिलाउनेछु ।

मध्यपूर्वमा रोजगारीका लागि आउने नेपालीहरु अहिले पनि धेरै छन्, उनीहरुलाई तपाईको अनुभवले कस्तो सल्लाह सुझाव दिन चाहानुहुन्छ ?

म वैदेशिक रोजगारमा आउन चाहने साथीहरुलाई सबै भन्दा पहिला आफु के काममा जान लागेको, सेवा सुविधा कस्ता छन् सबै कुरा बुझेर आउन अनुरोध गर्दछु । कतिपय गाडी नै नचलाएकाहरु यहाँ डुप्लिकेट लाईसेन्स बनाएर आएका घटनाहरु छन् । जसका कारण आउने समस्या कामदारलाई नै हो । त्यसकारण आफुले जानेको सीप अनुसारको काममा राम्ररी बुझेर आउँदा धेरै राम्रो हुन्छ । विदेश आएर केही न केही सीप लिएर आउन पनि म अनुरोध गर्न चाहन्छु । सबै बुझेर आफुसँग भएको अलिकति सीप पनि लिएर आउनुभयो भने यहाँ कुनै समस्या छैन । त्यस्तै यहाँ आउनुभन्दा अघि यहाँको धर्म संस्कृतिको बारेमा राम्ररी बुझेर आउन पनि म अनुरोध गर्दछु ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *