‘दक्षिण कोरियामा एनआरएनएलाई वैधानिकरुपमै दर्ता गर्दैछौ’

लक्ष्मी गुरुङ, अध्यक्ष, गैरआवासीय नेपाली संघ, दक्षिण कोरिया
news-details

नेपालीहरुको राम्रो र आकर्षक रोजगारी गन्तब्य देश हो, दक्षिण कोरिया । जहाँ नेपालीको सक्रियता वा सामाजिक काममा अग्रसरता अधिक छ । विदेशमा रहेका नेपालीहरुको छाता संगठन गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको सक्रियता पनि राम्रो छ । एनआरएनए दक्षिण कोरियाको नेतृत्व लक्ष्मी गुरुङले गरिरहनुभएको छ । गुरुङ सामाजिक काममा सक्रिय रहेका कारण नै एनआरएनए कोरियालाई उचाईमा पु¥याउन तल्लीन हुनुहुन्छ । कोरियामा व्यवसायको अलवा सामाजिक काममा लागिरहनु भएकी गुरुङको मूख्य काम एनआरएनए कोरियालाई आधिकारिक दर्ता गराउने रहेको छ । एनआरएनए कोरियाको अध्यक्ष भएको एक बर्षको अवधिमा गरिएका काम, भावी रणनीति र योजनाका बारेमा उनै लक्ष्मी गुरुङसँग रोजगारमञ्चले गरेको संक्षिप्त कुराकानी :

तपाईले गैरआवासिय नेपाली संघ दक्षिण कोरियाको नेतृत्व गरिरहँदा यो एक वर्ष कसरी बित्यो जस्तो लाग्छ ?

यो विश्वसंजाल भएको संघ भएकोले विभिन्न कार्यक्रमहरुमा व्यस्त छु । देश विदेश हिडिरहेको छु । विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छु । अस्ति भर्खर जापान गए अब अहिले एसिया प्यासिफिक महिला सम्मेलनका लागि हङकङमा छु । समग्रमा भन्नुपर्दा व्यस्त नै छु ।

दक्षिण कोरियाको एनआरएनएले के कुरालाई प्राथमिकतामा राखेर आफ्नो कामहरु अघि बढाइरहेको छ ?

मैले निर्वाचित भएदेखि नै संस्थालाई पारदर्शी बनाउनको लागि संस्था दर्ताको प्रक्रियालाई अगाडि बढाइरहेको छु । नेपालको परराष्ट्र मन्त्रालयले नै मान्यता दिएको हुनाले कोरियाकै परराष्ट्रबाट दर्ता गराउन म लगायत यस संस्थाका सम्पुर्ण व्यक्तित्वहरु लागिपरेका छौं । यो प्रोसेसिङको लागि अलि झन्झट र लामो समय लाग्ने भएपनि मेरो कार्यकाल सम्ममा दर्ता गराइसक्छु भन्ने विश्वास छ ।

संस्था दर्ता गर्ने प्रक्रिया कति अगाडि बढेको छ ?

प्रक्रिया धेरै अगाडि बढिसकेको छ । नेपालमा रहेको कोरियन राजदुतावासले हाम्रो विधानहरुलाई सर्टिफाइ गर्नुपर्ने थियो । त्यो डकुमेन्ट सर्टिफाइ भएर आइसकेको छ र मैले त्यो बुझिसकेको छु । अब अरु चाहिने डकुमेन्टहरु पनि हामीले तयार गरेर बसेका छौं ।

यो वैधानिकरुपमा दर्ता भयो भने तपाईहरु के–के गर्न सक्नुहुन्छ, यसका फाईदा के–के छन् ?

दर्ता भयो भने कोरियाको सरकारबाट नै धेरै काम गर्न सकिन्छ । दुतावास र राज्यसँग मिलेर धेरै कामहरु गर्न सकिन्छ । संस्थालाई राम्रो बनाउन दर्ता गर्नु आवश्यक भएकोले मैले यो प्रक्रियालाई अगाडि बढाएको छु ।

संस्था दर्ता भएपछि कोरियाको सरकारबाट कतिको सहयोग पाईन्छ, काम गर्नलाई कतिको सहज हुन्छ ?

धेरै सहयोग हुन्छ । जस्तै म एउटा व्यापारी पनि हो र मैले आफ्नो आयबाट यस संस्थामा डोनेसन गरेको प्रमाणित भयो भने सरकारबाट सबै ट्याक्स रिफण्ड हुन्छ । यदि मैले महिनामा २५ लाख कर तिरिरहेको छु भने त्यो कर मैले सरकारलाई नतिरेर गुम्बा, चर्च वा कुनै अनाथालयहरुलाई डोनेशन गरे भने त्यो बराबर कर मैले तिर्नुपर्दैन । संस्था दर्ता भयो भने आर्थिक सहयोग पनि जुटाउन सकिन्छ र पारदर्शी पनि हुन्छ । मेरो कार्यकालमै लडेरै भएपनि संस्था दर्ता गर्छु भन्ने दृढसंकल्प लिएको छु ।

एनआरएनए कोरियाले अन्य काम चाहि के–के गरिरहेको छ त ?

धेरै कार्यक्रमहरु गरेका छौं । म अध्यक्षमा निर्वाचित भए लगत्तै हामीले महाविर पुनलाई सम्मान ग¥यौ । केही आर्थिक सहयोग पनि जुटाएका छौं । नेपालको हिमालय चाइल्डहरु कोरियामा ल्याएर आफ्नो कल्चर देखाउन पाएँ । कोरियनहरुले पनि धेरै सहयोग गर्नुभएको छ । यो एनआरएनए संस्था दर्ता भएपछि नेपाल र कोरियाको कल्चर एक्सचेन्ज गर्ने मेरो ठुलो ईच्छा छ । किनभने नेपाल कल्चरको एकदमै धनी देश हो । कसरी नेपाली कल्चरलाई कोरियाली माझ अझै चिनाउन सकिन्छ भन्ने ठुलो ईच्छा छ । कोरिया र नेपालको स्कुलहरुबीच मितेरी सम्बन्ध गाँस्ने तयारीमा पनि छु जसअनुरुप कोरियाका चारवटा स्कुलसँग यसका लागि कुरा पनि अघि बढीसकेको छ । यस्तै कामहरु गरेर दुई देशको सम्बन्धलाई अझ बढाउने प्लान पनि छ ।

त्यसैगरी दुतावाससँग मिलेर नेपालबाट तिन जना डाक्टरहरु बोलाएर कोरियामा रहेका नेपालीहरुकाबीचमा स्वास्थ्य सम्बन्धी कार्यक्रम राख्यौं । भैपरी आउने समस्याहरुमा एनआरएनए सँधै लागिपरेको छ । नेपालबाट आएका विद्यार्थीहरु देखि लिएर यहाँ ईपिएस मार्फत आउने नेपालीहरुको समस्या समाधानमा पनि निरन्तर लागिरहेका छौं । एनआरएनए भनेको कोरियामा मात्र नभई विश्वभरीबाट नै नेपाल र नेपालीका लागि केही गरौं भनेर खोलिएको संस्था हो । त्यसकारण यसलाई कोरियाको सिउलमा मात्र सिमित नभई यहाँ अरु कुना–कुनामा पनि कमिटी बनाएर यसको क्षेत्र बिस्तार गर्ने मेरो सोचाई छ । सायद यो दर्ता हुनु अगावै क्षेत्र बिस्तार भइसक्छ ।

प्रसंग बदलौ अहिले कोरिया भन्ने बित्तिकै धेरै नेपालीहरुको सपनाको देश भनिन्छ, इपीएस मार्फत रोजगारीको लागि आउने मात्र नभई उच्च शिक्षाका लागि आउने विद्यार्थीहरु पनि धेरै हुनुहुन्छ, तपाईको बुझाईमा नेपालीहरुको लागि कोरिया कस्तो छ ?

कोरिया एकदमै राम्रो देश हो । मैले अरु विभिन्न देशहरुको पनि भ्रमण गरेको छु र कोरिया किन पनि राम्रो छ भन्दा यहाँ काम गर्नेलाई खाने, लाउने बस्ने सुविधा सबै कम्पनीले उपलब्ध गराउँछ । रोजगार गरेर पैसा कमाउनको लागि कोरिया एउटा राम्रो ठाउँ हो । कोरियनहरु पनि नेपाली जस्तै काम गर्ने बेलामा एकदम मिहिनेत गर्ने र बस्ने बेलामा पनि मजाले बस्ने खाने गर्ने हुनाले अलि मिल्दोजुल्दो वातावरण छ । कोरिया आउने नेपालीहरुलाई आत्मबल ठुलो बनाएर म दुःख गर्छु र भविष्य राम्रो बनाउँछु भन्ने सोचेर आउन सुझाव दिन्छु । कोरिया राम्रो नियम कानुन भएको देश हो । यहाँ सुरक्षा छ । यहाँ रातिको दुई–तिन बजे पनि केटी मान्छे एक्लै निर्धक्क हिड्न सक्छन् । यतिको सुरक्षित त अरु देश छैनन् जस्तो लाग्छ मलाई ।

पछिल्लो समय कोरियामा विद्यार्थी भिषामा आउने नेपालीको सङ्ख्या बढिरहेको छ, यसको टे«्ण्ड कस्तो देखिएको छ ?

पहिला कोरियामा सबैभन्दा ठुलो समस्या भनेको इ–नाइनमा भन्दा म्यारिज भिषामा आउने बहिनीहरुको थियो । त्यसको लागि हामीले राज्यलाई पनि धेरै धक्धक्यायौ उद्धारको लागि । त्यो समस्या निवारण भएपछि सन् २००८मा इ–नाइन आयो । इ–नाइन आउँदाखेरी त्यसको नीती नियम राम्रोसँग बनेको थिएन । त्यतिबेला म ईमिग्रेसनमा काम गर्थे । तर अहिले कोरिया सरकारले विदेशीहरुलाई हेर्ने डिपार्टमेन्ट नै छुट्टै खोलेको छ । जसले गर्दा जति पनि समस्या छ त्यसको बारेमा रिर्सच गरेर तुरुन्तै समाधानको उपाय खोजिहाल्छ । इ–नाइन मार्फत पनि धेरैको समस्याहरु समाधान भएको छ । इ–नाइनमा बकैदा सरकारसँगै कन्ट्रयाक्ट गरेर आएको हुन्छ । त्यसकारण इ–नाइनमा पहिला भन्दा अलि कम समस्या भैरहेको छ । अहिले पनि आफुखुशी काम सार्न नपाइने लगायतका दुःख भने यथावत नै छ ।

अहिले विद्यार्थी भिसामा आउने क्रम ५–६ महिना यता धेरै बढेको छ । यो ५–६ महिनामै उनीहरुमा धेरै समस्या आएको छ । इपीएसमा जाँच दिँदा खेरी फेल भएका भाईबहिनीहरु प्लस टु सकेर कन्सलटेन्सी मार्फत १२ लाख–१५ लाख तिरेर आउनेले एकदमै दुःख पाइरहनुभएको छ । हामीलाई धेरै त्यस्तो समस्याहरुको निवदेनहरु आइरहेको छ । त्यस्तै दुतावासलाई पनि त्यति नै धेरै निवेदनहरु आइरहेकोछ । कुनै युनिभर्सिटीले पासपोर्ट नै नदिने, एलेन कार्ड नै नदिने लगायतका समस्याहरु छन् । त्यत्रो १२–१५ लाख तिरेर आईसकेपछि काम गर्न पनि नपाइने हुन्छ र पैसा पनि हुँदैन, उसले ल्याएको पैसा पनि सकिसकेको हुन्छ । त्यही भएर कन्सलेन्सीबाट आफुले बुझेर मात्र कोरिया आउन म सुझाव दिन्छु । पछिल्लो समयमा सबैभन्दा ठुलो समस्या भनेकै विद्यार्थी भाइबहिनीहरुलाई छ । पहिले पहिले हप्ताको एकदिन मात्र कलेज गए पनि हुन्थ्यो तर अहिले दिनहुँ कलेज जानुपर्ने नियम छ । त्यस्तो भए पछि काम गर्ने समय पनि हुँदैन, भएपनि नाइट ड्युटी गर्नुपर्ने अवस्था हुन्छ, दुःख हुन्छ । तर दुःख सहन सक्नुहुन्छ भने चाहि कोरिया आउँदा हुन्छ । सकेसम्म कुनै कन्सलटेन्सीमार्फत नभई आफैंले एप्लाई गरेर आउँनुपर्छ । मास्टर डीग्री गर्न आउने भाइबहिनीलाई खासै समस्या हुँदैन किनभने उनीहरुले पहिले नै युनिभर्सिटीको प्रोफेसरहरुसँग कन्फर्म गरेर आउनुभएको हुन्छ । तर प्लसटु पास गरेर उच्च शिक्षाका लागि आउने भाईबहिनीहरुले एकदमै सोच विचार गरेर आउनुपर्छ । कोरिया गएर त्यतिकै काम गर्छु वा ईल्लिगलै बस्छु भन्ने सोचेर चाँही नआउनु हुन म सुझाव दिन चाहान्छु ।

तपाई एनआरएनए कोरियाको अध्यक्ष भएको नाताले कोरियाको सपना देख्ने नेपालीलाई के सल्लाह÷सुझाव दिन चाहानुहुन्छ ?

नेपालीहरु रहरले भन्दा पनि बाध्यताले विदेशिनु परेको छ । नेपालमा मास्टर डिग्री गरेर यहाँ आएर त्यस्तो कम्पनीमा काम गरेको देख्दा धेरै दुःख लाग्छ । मैले त्यस्तो धेरै मान्छेहरु भेटेको छु सा¥है नरमाईलो लाग्छ । वहाँहरुलाई केही भन्नै सक्दिन किनभने नेपालमै जानुुस् भनौ भने देशमा रोजगार छैन । आउनु भनौ भने त्यत्रो दुःख गरेर पढेर यहाँ आएर एउटा निम्नस्तरको काम गर्नुपर्छ । सकेसम्म थोरै कमाई भए पनि आफ्नै देशमा काम गरेको राम्रो जस्तो लाग्छ । आफु चै विदेश बसेर ठुलो–ठुलो गर्छ पनि भन्नुहोला तर, मेरो अन्तरआत्माबाट भनेको हुँ । काम गर्नलाई कहिले पनि लजाउनु हुँदैन । सानै भए पनि आफ्नै देशमा काम गर्न सुझाव दिन्छु । राज्यले पनि देशमा रोजगारीको सिर्जना गर्नुप¥यो । नेपालीहरुले पनि थोरैबाट सुरु गर्नुस् तर आफ्नै देशमा पसिना बगाएर मिहिनेत गर्नुस अवश्य सफल भईन्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *