मध्यपूर्वका समस्यालाई जरैदेखि उखेल्छौ : आरके शर्मा

news-details

‘सुरक्षित र मर्यादित बैदेशिक रोजगारी, हाम्रो सरोकार : ज्ञान, सीप, बिप्रेषण र उद्यमशिलता समृद्धिको आधार’ मूल नारासहित यहि अगष्ट २३, २४, २५ तारिखमा संयुक्त अरब इमिरेटस(युएई)मा एनआरएनए मध्यपूर्व छैटौ क्षेत्रीय भेला हुँदैछ । झण्डै ९८ प्रतिशत नेपाली श्रमिकहरु रहेको मध्यपूर्वमा समस्याको चंगुल ठूलो छ । मध्यपूर्वमा अवसर र चुनौति सामना गरिरहेका नेपालीहरु एनआरएनको क्षेत्रीय भेलाबाट केही राहत लिनका लागि आतुर छन् । मध्यपूर्वका समस्यालाई जरैदेखि उखेलेर भोलिका दिनमा कुनै समस्या नआओस् भन्ने भेलाको प्रमुख धेय रहेको छ ।

मध्यपूर्वमा सिकेको ज्ञान, सीप र पूँजीलाई राष्ट्रिय विकासमा उपयोग गर्न पाउँ र मध्यपूर्वका नेपालीलाई हेला होइन सम्मान गर्नका लागि उनीहरुको विशेष आग्रह छ । एनआरएनए मध्यपूर्व क्षेत्रीय भेला र मध्यपूर्वका नेपालीहरुको विषयमा रहेर एनआरएनए मध्यपूर्व संयोजक आरके शर्मासँग गरिएको कुराकानी :

वैदेशिक रोजगारको ‘हब’ मध्यपूर्वको यूएईमा एनआरएनएको क्षेत्रीय भेला गर्दै हुनुहुन्छ, के छ यस भेलाका मूख्य एजेण्डा ?

हामीले वैदेशिक रोजगारमा धेरै नेपालीहरू रहेको क्षेत्र मध्यपूर्वको मुटु यूएईमा एनआरएनएको छैटौ मध्यपूर्व क्षेत्रीय भेला गर्दैछौं । विशेष गरेर बीस लाख भन्दा बढी नेपाली दाजुभाई तथा दिदी बहिनीहरू श्रमिकका रुपमा यस क्षेत्रमा कार्यरत हुनुहुन्छ । प्रतिशतको हिसाबमा जाने हो भने लगभग ९९ प्रतिशत  श्रमिक रहेको क्षेत्र हो मध्यपूर्व । मध्यपूर्वमा रहेका संभावना तथा समस्याहरूलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा एनआरएनएको ‘नेपालीका लागि नेपाली’ भन्ने मुल नारालाई आत्मसात गर्दै नेपाल सरकारसँग सहकार्य गरेर ‘एड्भोकेसी’ कसरी गर्न सकिन्छ भन्ने उद्देश्य लिएर त्यहाँ भएका समस्या तथा सम्भावनाहरूलाई केलाउनका लागि भेला आयोजना गरिएको हो ।

खासमा अहिले मध्यपूर्वमा विभिन्न कारणले तथा भाषाको अज्ञानताले जेलजीवन बिताइरहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरू पनि हुनुहुन्छ, त्यसैगरी अकालमा ज्यान गुमाउनु परेका यथार्थता पनि छ । स्वास्थ्य तथा सुरक्षाका बारेमा जनचेतना नहुनाले मृत्युको मुखमा पुग्नु परिरहेको छ । हामीहरूले सन् २००८ देखि नै स्वास्थ्य तथा सुरक्षाका विषयमा जानकारी नभईकन विदेश जानु हुँदैन भन्ने आवाज उठाउदै आएका छौ । अब मलाई लाग्छ अकालमा मृत्यु हुने दरलाई पक्कै पनि सरकारले घटाउदै लैजाने छ । स्वास्थ्य तथा सुरक्षा सम्बन्धी जनचेतना भएमा अवश्य पनि अकाल मृत्युमा कमी आउँछ होला ।

यूएईमा हुने भेलालाई ‘सुरक्षित र मर्यादित वैदेशिक रोजगारी, हाम्रो सरोकार, ज्ञान, सीप विप्रेशण र उद्यमशिलता समृद्धिको आधार’ भन्ने नारा दिनुुभएको छ, वास्तवमा सुरक्षित वैदेशिक रोजगार र त्यहाँ कमाएको पैसाको सही सदुपयोग होस् भनेर पनि केही आवाज उठाउँदै हुनुहुन्छ ?

हामीहरूले धेरै अघिदेखि अझ भनौ मैले व्यक्तिगत रुपमा ठूलो चिन्ता जनाएको विषय भनेको अहिलेको ३०–३५ वर्षका युवाहरू जसले श्रम बेचिरहनुभएको छ, अब १०–१५ वर्ष पछि रिटायर्ड भएर फकिर्दा न हामीसँग पेन्सन हुन्छ न त सामाजिक सुरक्षाले औषधी उपचार गर्न जोगाड हुन्छ । हामीहरूले पठाएको रेमिट्यान्सको ६० प्रतिशतभन्दा बढी रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ । अर्को पाटोमा, नेपाल सरकारले विदेशबाट रकम ल्याउनुस् भनिरहदा अहिले बार्षिक करिब आठ खर्ब रेमिट्यान्स भित्रिइरहेको छ । तर हामीहरूले पठाएको रेमिट्यान्स नेपाल सरकारले यसरी लगानी गर्नुस् भनेर लगानीमा डाइभर्ट गराउन कुनै ठोस काम गर्न सकेको छैन ।

राष्ट्रले देश विकास गर्न विदेशी ऋण ल्याउन जमर्को गरिरहने तर हामीहरूले ल्याएको ६० प्रतिशत रकम भने अनुत्पादक क्षेत्रमा खर्च गर्दै जाने हो भने कुनै अर्थ रहँदैन । हामीहरू भोलि दीर्घ रोग लागेर वा पाखुरामा बल नभएर नेपाल फर्कदा हामीले पठाएको रेमिट्यान्स पनि सेभिङ नहुँदा के होला भन्ने विषयलाई पनि यो भेलामा विशेष मुद्दाका रुपमा उठाउने छौं । साथै वैदेशिक रोजगारीमा जाने नेपालीहरूको जनचेतना वृद्धिका सवाल उठाइनेछ । खासगरी यो एनआरएन सँगसँगै नेपाल सरकारको पनि जिम्मेवारी हो, किनकी आजसम्म जिडिपीको २६ प्रतिशत धान्ने रेमिट्यान्सले त्यही २६ प्रतिशत रेमिट्यान्स पठाउने केही हजार युवाहरूलाई समस्या पर्दा नेपाल सरकारले गर्नुपर्ने दायित्व पनि अब बहाना पारेर टार्न हुँदैन । श्रमिकका विभिन्न समस्याहरू सम्बोधन गर्नुका साथै रेमिट्यान्सको सही सदुपयोग गर्न सरकार जाग्नुपर्छ भन्ने विषयमा पनि भेला केन्द्रित रहने छ ।

मध्यपूर्वमा कार्यरत नेपालीको रेमिट्यान्समा रमाउने सरकार त्यहाँ कार्यरत नेपालीहरूको हक अधिकारका लागि जिम्मेवार बन्न सकेको छ त ?

म मध्यपूर्वमा बसेको १६ वर्ष भयो । लामो समयदेखि स्थलगतरुपमा समस्यालाई प्रत्यक्ष भोगेर वा निगरानी गरेर बसिरहेका छौ । यसमा सबैभन्दा चिन्ताको विषय भनेको अकालमा मृत्यु हुन नपरोस् र अर्को कुरा सरकारले हामीहरूले पठाएको रेमिट्यान्स जुन हामी मध्यपूर्वका नेपालीले ५० डिग्रीमा काम गरेर पठाएको छौ त्यसको कदर गर्नुपर्छ । त्यो रेमिट्यान्स सरकारले सुरक्षित गर्दियोस् भनेर हामीले माग राखेका हौं । हामीले पठाएको रेमिट्यान्स सरकारलाई पनि त चाहिने हो । हामीले पठाएको रेमिट्यान्सको सही सदुपयोग हुनुप¥यो । नेपालमा आउने कुल रेमिट्यान्सको ५५–६० प्रतिशत मध्यपूर्वबाट आउँछ । त्यो क्षेत्रमा केही प्रतिशत अफ्ठ्यारोमा परेका नेपालीहरूलाई सरकारले प्रत्यक्ष रुपमा निगरानी गरेर समस्यालाई जरैदेखि उखेलेर अघि बढ्नुपर्दछ भन्ने हाम्रो जोडदार माग हो । यो माग हामी एनआरएनको मात्र नभएर मध्यपूर्वमा बस्ने २० लाख बढी नेपालीको पनि हो । हामीलाई आशा छ अहिलेको सरकारले यो कुरालाई सम्बोधन गर्नुहुनेछ ।

युएईमा हुने भेलामा सहभागीता कस्तो हुँदैछ, सरकारी पक्षको उपस्थिति हुन्छ ? यो अवस्थामा तपाईहरूले तयारी कुन रुपमा अगाडि बढाइरहनुभएको छ ?

हाम्रो सम्मेलनमा विश्वभरीका एनआरएनए पदाधिकारीहरू र एनआरएनएका फाउन्डर प्याटर्नहरू उपस्थित हुनुहुनेछ । नेपाल सरकारबाट पनि हाम्रो मुद्दाहरूमा सम्बन्धित हुने निकाय तथा नेपाल सरकारलाई पनि प्रत्यक्षरुपमा सहभागी गराउँन आमन्त्रण गरेका छौं । हामी हाम्रा समस्या तथा चित्कारहरू उहाँहरूलाई सुनाउन चाहन्छांै । एउटा आम मानिसले पाउनु पर्ने सुविधाहरूमा दिशानिर्देश गर्दिनोस् भन्ने हाम्रो चाहना हो । हामीले ५० डिग्रीको घाममा खटेर पठाएको रेमिट्यान्सको सही सदुपयोग गर्न मार्ग देखाइदिनोस् । हामी पछि अशक्त, अपाङ्ग भएर फर्कदा, हातमा बल नभएर फर्किदा कमसेकम हामीलाई औषधी उपचार गर्न सक्ने गरी एउटा मार्गचित्र देखाइदिनोस् भन्ने हामी सम्पुर्ण मध्यपूर्ववासी नेपालीहरूको सरकारसँग अनुरोध हो । अहिलेको दुई तिहाई बहुमतको सरकार भएको हुनाले उहाँहरूले पनि यस विषयमा सिन्सियर भएर लाग्नुहुन्छ भन्ने हामीलाई विश्वास छ ।

एनआरएनए भनेको पक्कै एउटा आवाज उठाउने संस्था हो, तपाईहरूको मुद्धामा सरकार कति चिन्तित भएको पाउनुभएको छ ?

मेरो व्यक्तिगत कुरा भन्दा पनि मध्यपूर्वको सम्पुर्ण नेपालीहरूको एउटा अनुभव भनेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि आगमन हुने बित्तिकै कर्मचारीहरूलगायतले हामीलाई अर्कै दर्जाको नेपाली होकी भनेर हेरिने अनुभव आजसम्म छ । त्यो कुरालाई यस्तो होइन है भन्ने यर्थाथतामा बदल्न अहिलेको सरकार सक्षम हुन्ुपर्छ र यसमा सरकार सक्षम हुन्छ भन्ने पनि विश्वास छ । किनभने मध्यपूर्वमा बस्ने नेपालीहरूले पठाएको रेमिट्यान्सको ६० प्रतिशत जति पनि अरु क्षेत्रमा बस्नेले पठाउनुहुन्न । तर उहाँहरूलाई जति इज्जत गरिन्छ, अरु क्षेत्रमा बस्ने दाजुभाई दिदीबहिनीहरूलाई त्यती नेपाल सरकारको सम्बन्धित निकायले नगरेको हो की भन्ने गुनासाहरू बारम्बार सुन्ने गरेका छौ । अव देशको अर्थतन्त्र धान्ने हामी मध्यपूर्वका नेपालीहरूलाई सरकारले विशेष चासो दिनुपर्छ भन्ने भनाई छ मेरो ।

अब एनआरएनएको मध्यपूर्व क्षेत्रीय भेलाले तपाईहरूप्रति गरिने व्यवहार वा बुझाइमा परिवर्तन ल्याउन सकोस् भन्ने पनि हो ?

हाम्रो त आत्मैदेखि त्यही हो । हाम्रो चित्कार नेपाल सरकारले सुनोस्, हाम्रो भावनालाई सरकारले चिनोस् । यि समस्यामा पर्ने नेपालीहरूको उद्धार गर्ने दायित्व सरकारको हो । हामी पनि त्यही नेपालीहरूकै भिडमध्ये बाटै हांै । आज हामी पनि बालबच्चालाई पढाउन नसकेर, बुवाआमालाई औषधी किन्न नसकेर विदेशीएका हौ । हामी रहरले विदेशिएका हैनौ । तसर्थ यी कुराहरूमा अहोरात्र लाग्ने छौ र नेपाल सरकारले श्रमको सम्मान गर्नुहुनेछ र अहिले पनि गरिरहनुभएको छ तर विशेष गरेर जसले श्रम बेच्छन् उहाँहरूको दीर्घकालिन हकहितको लागि अहिले आवाज उठाएर मात्र भएन, उहाँहरूको भविष्यको लागि पक्कै पनि नेपाल सरकारले धेरै कुराहरू गर्न बाँकी छ ।

अन्त्यमा, यूएईमा हुन गईरहेको क्षेत्रीय भेलालाई सफल बनाउनको लागि तपाई संयोजकको नाताले नेपाल सरकार, सम्पुर्ण एनआरएन तथा सहभागीहरूलाई के भन्न चाहानुहुन्छ ?

नेपाल सरकार, एनआरएन तथा नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई म तीन कुरा अनुरोध गर्न चाहन्छु । आजसम्म हामीले विदेशमा श्रम गरेर सिकेका ज्ञान सीपहरूलाई नेपालमा कहिले प्रयोग गर्ने ? यहाँ केही तला बिल्डिंगहरू बनाउँदा भारतका मजदुरहरू बोलाउने होस् वा टनेलहरू बनाउदा चाइनाका ईन्जिनियरहरू बोलाउने, हाम्रा ईन्जिनियरहरू विदेशका टनेलहरू खनिरहेका छन् । यस्तै यस्तै धेरै क्षेत्रमा विज्ञ भएका नेपालीहरू मध्यपूर्व तथा एनआरएनमा हुनुहुन्छ । उहाँहरूको ज्ञान सीपलाई र हामीले पठाएको रेमिट्यान्सलाई राष्ट्रिय विकासमा कसरी उपयोग गर्न सकिन्छ भन्ने कुरामा केन्द्रित हुन अनुरोध गर्दछु ।

त्यसका साथै विदेश जानुभन्दा पहिला आफ्नो स्वास्थ सुरक्षा सम्बन्धी र आफुलाई अफ्ठ्यारो पर्दा कुन निकायमा कसरी सम्पर्क गर्ने भन्ने जानकारी लिएर जानु हुन अनुरोध गर्दछु ।

अन्त्यमा, मध्यपूर्ववासी दाजुभाई÷दिदीबहिनीहरू तथा विश्वभर रहनुभएका दाजुभाइ दिदी बहिनीहरूलाई यस गहन कार्यक्रममा सहभागी भएर मध्यपूर्वमा रहेर श्रम गर्ने नेपालीहरूका घाउमा मल्हम लगाउनका लागि नेपाल सरकारसँग सामूहिक आवाज उठाउनका लागि आग्रह गर्दछौ । तसर्थ तपाई हामी सबैको जिम्मेवारी हो मध्यपूर्वमा रहेका तथा विश्वभर रहेका नेपालीका समस्या समाधानका लागि नेपाल सरकारसँग अनुरोध गर्ने, यो कार्यको लागि सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई उपस्थितिको लागि म संयोजकको नाताले तथा एनआरएनए कमिटीको तर्फबाट निमन्त्रणा गर्न चाहन्छु ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *