सोमबारदेखि वैदेशिक रोजगारसम्बन्धी कारोबार ठप्प पार्न तथा श्रमिक नउडाउन संघको निर्देशन

news-details

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले भदौ १ गतेदेखि देशभरका वैदेशिक रोजगार व्यवसायी संस्थाहरूलाई वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण काम–कारोबार बन्द गर्न आह्वान गरेको छ।

संघले यही साउन ७ गते सम्पन्न बृहत् व्यवसायी भेलाको म्यान्डेट तथा साउन २२ गते पत्रकार सम्मेलनमार्फत घोषणा गरिएको चरणबद्ध संघर्षको कार्यक्रमअनुसार भदौ १ गतेदेखि मुख्य तथा शाखा कार्यालय बन्द गरी वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण कारोबार तथा श्रमिकको उडान पूर्णरूपमा बन्द गर्न सबै इजाजतपत्रवाला संस्थाहरूलाई सूचित गरेको हो।

संघका अनुसार नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङ रोक्ने, जारी श्रम स्वीकृति भएका श्रमिकको उडानका लागि दिइएको समयसीमा समाप्त भइसकेकाले समेत अब भदौ १ गतेदेखि वैदेशिक रोजगारसम्बन्धी सबै गतिविधि बन्द गरिनेछ।

संघका महासचिव हिरा बहादुर डाँगी (हरि) द्वारा जारी सूचनामा उक्त संघर्ष कुनै व्यक्ति, समूह वा तत्कालीन लाभ–हानिको विषय नभई व्यवसायीहरूको पेशागत अस्तित्व, सम्मान, अधिकार तथा दीर्घकालीन भविष्यसँग जोडिएको निर्णायक अभियान भएको उल्लेख गरिएको छ।

संघले सरकार, मन्त्रालय, विभाग तथा सम्बन्धित निकायसँग समस्या समाधानका लागि संवाद, समन्वय र वार्ताका ढोका खुला राख्दै निरन्तर पहल गरिरहेको जनाएको छ। तर, व्यवसायीका जायज मागको ठोस सम्बोधन, निर्णय र कार्यान्वयनको विश्वसनीय आधार नआएसम्म संघर्ष फिर्ता वा स्थगित नगरिने स्पष्ट पारेको छ।

संघले कुनै पनि इजाजतपत्रवाला संस्थाले व्यक्तिगत सुविधा, तत्कालको लाभ वा अन्य कुनै बहानामा संघको निर्णयलाई कमजोर पार्ने गरी काम–कारोबार सञ्चालन नगर्नसमेत आग्रह गरेको छ।

त्यसैगरी संघको आह्वान र निर्णयविपरीत लुकीछिपी वा वैकल्पिक माध्यमबाट कार्यालय तथा कारोबार सञ्चालन गर्ने संस्था वा व्यवसायीको आवश्यक अभिलेख राखिने र भविष्यमा संघबाट उपलब्ध हुने आवश्यक सहयोग, संरक्षण तथा संस्थागत साथका विषयमा निर्णय गरिने चेतावनीसमेत दिइएको छ।

संघले हालको संघर्षलाई सामान्य कार्यक्रमका रूपमा नलिई व्यवसायिक क्षेत्रको शुद्धीकरण, पेशागत सम्मान र सुरक्षित भविष्य निर्माण गर्ने निर्णायक लडाइँका रूपमा ग्रहण गर्न तथा संघको निर्णय पूर्ण रूपमा पालना गर्न सम्पूर्ण इजाजतपत्रवाला संस्थाहरूलाई हार्दिक आह्वान गरेको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया