प्रगतिशील मञ्चको अधिवेशन शुक्रबार हुदै, अध्यक्षमा रावल, कट्टेल र बैभवको दाबी
- रोजगारमञ्च
- साउन २८, २०८३
- 0
काठमाडौं । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालको साधारणसभासहितको अधिवेशन भोलि साउन २९ गते हुँदैछ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष जनक रावल, महासचिव मिलन कट्टेल र नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा पूर्व तृतीय उपाध्यक्ष रहेका बैकुण्ठ पौडेल बैभवले आकांक्षा देखाएका छन्।
वर्तमान अध्यक्ष रावलले लगातार दुई कार्यकाल नेतृत्व गरिसकेपछि पुनः नेतृत्वमा आउने इच्छा देखाएका छन्। आफ्नो नेतृत्वमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा मञ्चका उम्मेदवारलाई दुई पटक अध्यक्षमा विजयी गराउन सफल भएको उल्लेख गर्दै रावलले संगठनलाई थप सुदृढ बनाउँदै व्यवसायीका हकहितका लागि निरन्तर काम गर्न नेतृत्वमा दोहोरिन चाहेको बताएका छन्।
अध्यक्षका अर्का आकांक्षी वर्तमान महासचिव मिलन कट्टेल हुन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको पदाधिकारीमा दाबी गर्दै आए पनि सहमतिका लागि पछि हटेका कट्टेलले अब मञ्चमै रहेर व्यवसायीका मुद्दामा काम गर्ने इच्छा देखाएका छन्।
त्यस्तै, नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा तृतीय उपाध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका बैकुण्ठ बैभव पनि अध्यक्षका आकांक्षी छन्। आफ्नो अनुभवका आधारमा मञ्चको नेतृत्वमा सर्वसम्मत रूपमा चयन हुनेमा आफू आशावादी रहेको उनले बताएका छन्।
अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासस्वरूप मञ्चले आजै बैठक बोलाएको छ। बैठकबाट सहमतिको प्रयास गरिने र आपसी सहमति जुट्न नसके निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्ने तयारी मञ्चको छ। तथापी सर्वसम्मत नेतृत्व चयन हुने मञ्चको दावी छ ।
वैदेशिक रोजगार व्यवसायीका हकहित, व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउने तथा संगठनलाई थप प्रभावकारी बनाउने विषय अधिवेशनका प्रमुख एजेन्डा बन्ने बताइएको छ।















