उच्च अदालतको आदेशपछि लोकतान्त्रिक एसोसिएसनको अध्यक्षमा गैरेको बाटो खुल्यो
७ सल्लाहकार र ४ कार्यसमिति सदस्य चयन
- साउन २७, २०८३
- 0
काठमाडौं । उच्च अदालत पाटनले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको अध्यक्ष निर्वाचनसम्बन्धी थप निर्णय तथा कामकारबाही नगर्न–नगराउन अन्तरिम आदेश जारी गरेको छ। अदालतको आदेशसँगै गत असार ५ गतेको निर्वाचनबाट अध्यक्षमा निर्वाचित रामप्रसाद गैरेको पक्षमा तत्कालका लागि बाटो खुलेको छ।
गैरेले किशोरकुमार केसी र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाई गत साउन १२ गते दायर गरेको रिटमाथि मंगलबार न्यायाधीशद्वय विष्णुप्रसाद अर्याल र दीपक खनालको इजलासले निवेदनको अन्तिम टुंगो नलागेसम्म निर्वाचनसम्बन्धी थप निर्णय तथा कामकारबाही रोक्न आदेश दिएको हो।
रिटमाथिको बहसमा गैरेका तर्फबाट नेपाल बार एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्रसहित अधिवक्ता दमनबहादुर चन्द तथा विपक्षी किशोरकुमार केसीका तर्फबाट अधिवक्ताहरू जयलाल भण्डारी, भेष केसी र सिसम कुँवर सहभागी थिए।
यसअघि गैरे वैदेशिक रोजगारसम्बन्धी मुद्दामा दोषी ठहर भएको पुरानो फैसला सार्वजनिक भएपछि केसीले अध्यक्ष पदको विषयलाई लिएर उच्च अदालत पाटनमा निषेधाज्ञाको रिट दायर गरेका थिए। असार ३१ गते दायर उक्त रिटमा न्यायाधीशद्वय स्वीकृति पराजुली र नेत्रप्रकाश आचार्यको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। उक्त मुद्दाको अन्तिम फैसला भने हुन बाँकी छ।
पछिल्लो आदेशले भने एसोसिएसनको अध्यक्ष निर्वाचनसम्बन्धी थप प्रक्रिया अघि नबढाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई स्पष्ट निर्देशन दिएको छ। अदालतबाट आदेश पाएपछि गैरेले बुधबारदेखि आदेश कार्यान्वयनमा लैजाने बताएका छन्।
यसैबीच एसोसिएसनले संस्थाको कामकारबाहीलाई थप प्रभावकारी बनाउने उद्देश्यले ७ जना सल्लाहकार तथा ४ जना कार्यसमिति सदस्य चयन गरेको छ।
एसोसिएसनको कार्यसमितिको बैठकले कार्यसमितिलाई आवश्यक सल्लाह, सुझाव तथा मार्गदर्शन प्रदान गर्न दीपक थापा, शंकरप्रसाद आचार्य, तारा रेग्मी, नवलकिशोर यादव, तीर्थबहादुर गुरुङ, देवीप्रसाद काफ्ले र कमलदेव मल्ललाई सल्लाहकार चयन गरेको हो।
त्यस्तै, कार्यसमितिमा प्रेमबहादुर मगर, दीपककुमार देव, धर्मानन्द कोइराला (रविन) र खडानन्द घिमिरेलाई मनोनीत गर्ने निर्णय गरिएको एसोसिएसनले जनाएको छ।
एसोसिएसनका अनुसार नेपाली कांग्रेसका मूल्य, मान्यता र सिद्धान्तप्रति अडिग रहँदै संस्थाको उद्देश्य तथा कार्यसमितिलाई आवश्यक सल्लाह, सुझाव एवं मार्गदर्शन प्रदान गरी विधानमा उल्लिखित उद्देश्य प्राप्तिका लागि योगदान पुर्याउने अपेक्षासहित उनीहरूलाई जिम्मेवारी दिइएको हो।
एसोसिएसनले नवनियुक्त सल्लाहकार तथा मनोनीत कार्यसमिति सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।















