अभिमुखीकरण महासंघमा नयाँ अध्याय, तीन महिनाभित्र निर्वाचन गराउन तदर्थ समिति गठन
- रोजगारमञ्च
- साउन २१, २०८३
- 0
नेपाल वैदेशिक रोजगार अभिमुखीकरण महासंघको लामो समयदेखि परिवर्तन हुन नसकेको नेतृत्व अन्ततः जिल्ला प्रशासन कार्यालय काठमाडौंको हस्तक्षेपपछि पुनः संरचित भएको छ। प्रशासनले अध्यक्ष रामराजा गौतम नेतृत्वको कार्यसमिति विघटन गर्दै निवर्तमान उपाध्यक्ष टुनुकाजी पौडेलको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो।
जिल्ला प्रशासन कार्यालयले महासंघभित्र देखिएको नेतृत्व विवाद अन्त्य गर्दै संस्थालाई विधिसम्मत ढंगले अघि बढाउन तीन महिनाभित्र नयाँ नेतृत्व चयन गर्न निर्देशन दिएको छ। सो अवधिसम्म महासंघका सम्पूर्ण प्रशासनिक तथा संगठनात्मक जिम्मेवारी तदर्थ समितिले सम्हाल्नेछ।
तदर्थ समितिको संयोजकमा टुनुकाजी पौडेल रहेका छन् भने सदस्यहरूमा निवर्तमान अध्यक्ष रामराजा गौतम, पूर्वअध्यक्ष पूर्णबहादुर मल्ल, पूर्वउपाध्यक्ष कल्पना पाण्डे, विष्णुगोपाल गड्तौला, निवर्तमान महासचिव लक्ष्मीप्रसाद लामिछाने, निवर्तमान कोषाध्यक्ष नारायणप्रसाद अधिकारी, निवर्तमान कार्यसमिति सदस्य बाबुराम खड्का तथा पूर्व कार्यसमिति सदस्य जयप्रकाश यादव रहेका छन्।
रामराजा गौतमको नेतृत्वमा २०७८ सालमा निर्वाचित कार्यसमितिले आफ्नो कार्यकाल सकिएपछि पनि समयमै निर्वाचन सम्पन्न गरी नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्न नसकेको तथा संस्थाभित्रको विवाद चर्किदै गएको निष्कर्षसहित प्रशासनले संस्था दर्ता ऐन, २०३४ को दफा ११ बमोजिम तदर्थ समिति गठन गर्ने निर्णय गरेको जनाएको छ। साउन १२ गते सरोकारवालाबीच भएको छलफलपछि यो निर्णय कार्यान्वयनमा आएको हो।
प्रशासनले विघटित कार्यसमितिलाई तीन दिनभित्र महासंघसँग सम्बन्धित सम्पूर्ण कागजात, सम्पत्ति तथा प्रशासनिक जिम्मेवारी तदर्थ समितिलाई विधिवत् हस्तान्तरण गर्न निर्देशन दिएको छ।
यससँगै तदर्थ समितिलाई महासंघको विधान, प्रचलित कानुन तथा संस्थागत पद्धतिअनुसार महासंघ सञ्चालन गर्ने, अनुमति प्राप्त तथा महासंघमा आबद्ध संस्थाहरूको सदस्यता, नवीकरणलगायतका सेवा कुनै अवरोधबिना नियमित रूपमा सञ्चालन गर्ने अधिकार पनि प्रदान गरिएको छ।
प्रशासनको निर्देशनअनुसार तदर्थ समितिले स्वच्छ, निष्पक्ष, पारदर्शी र लोकतान्त्रिक प्रक्रिया अपनाई २०८३ साल कात्तिक मसान्तभित्र नयाँ कार्यसमिति चयन गरी जिम्मेवारी हस्तान्तरण गर्नुपर्नेछ। निर्वाचन प्रक्रिया सफल बनाउन सबै सदस्य संस्था तथा व्यवसायीलाई सहयोग, समन्वय र व्यावसायिक निष्ठा कायम गर्न समेत आग्रह गरिएको छ।
महासंघबाट हुने महत्वपूर्ण निर्णय तथा गतिविधिबारे नियमित रूपमा जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउन पनि निर्देशन दिइएको छ।
यता निवर्तमान अध्यक्ष रामराजा गौतमले प्रशासनको निर्णयलाई सकारात्मक रूपमा लिएको जनाउँदै व्यवसायीहरूको साझा हित र महासंघको संस्थागत सुदृढीकरणका लागि सबै पक्षले सहकार्य गर्नुपर्ने बताए।















