२१औँ वार्षिकोत्सवमा आकर्षण इन्टरनेशनलको रक्तदान, इथिकल र शून्य-शुल्क भर्नाप्रति प्रतिबद्ध

news-details

वैदेशिक रोजगार क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि सेवा दिँदै आएको आकर्षण इन्टरनेशनल प्रा. लि. ले आफ्नो २१औँ वार्षिकोत्सव सामाजिक उत्तरदायित्वसँग जोड्दै रक्तदान कार्यक्रम आयोजना गरी मनाएको छ। कम्पनीले वार्षिकोत्सवका अवसरमा आफ्नो केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम सञ्चालन गर्नुका साथै सुरक्षित, मर्यादित र नैतिक वैदेशिक रोजगारप्रतिको प्रतिबद्धता पुनः दोहोर्‍याएको हो।

कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार विगत २१ वर्षदेखि निष्पक्ष, पारदर्शी र जिम्मेवार वैदेशिक रोजगार सेवा प्रदान गर्दै हजारौँ नेपाली युवालाई सुरक्षित रोजगारीका अवसर उपलब्ध गराएको छ। विश्वास, इमानदारी र व्यावसायिकतालाई आफ्नो सफलताको आधार बनाउँदै आएको कम्पनीले शून्य-शुल्क (जिरो कष्ट)र नैतिक ( इथिकल) भर्ना प्रणालीमार्फत अन्तर्राष्ट्रिय रोजगार बजारमा छुट्टै पहिचान बनाउन सफल भएको जनाएको छ।

कम्पनीका अध्यक्ष विष्णु केसीले नेपाली श्रमिकलाई कुनै पनि प्रकारको आर्थिक शोषणबाट जोगाउँदै सुरक्षित र सम्मानजनक रोजगारीमा पठाउनु कम्पनीको मुख्य उद्देश्य रहेको बताए।

“विशेषगरी मलेसियामा हामीले इथिकल र शून्य-शुल्क भर्ना प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेका छौँ। यसले नेपाली श्रमिक, रोजगारदाता र अन्तर्राष्ट्रिय साझेदारहरूको विश्वास जित्न सफल भएको छ,” उनले भने। “आगामी दिनमा पनि यही नीतिलाई अझ सुदृढ बनाउँदै सबै गन्तव्य मुलुकमा सम्भव भएसम्म नैतिक भर्ना प्रणाली विस्तार गर्ने हाम्रो प्रतिबद्धता छ।”

प्रवन्ध निर्देशक मिलन थापाले वार्षिकोत्सवलाई केवल औपचारिक समारोहमा सीमित नराखी सामाजिक सेवासँग जोड्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए।

“रक्तदान जीवनदान हो। संस्थाको वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउनु हाम्रो संस्कार हो,” उनले भने। “वैदेशिक रोजगार क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र श्रमिकमैत्री सेवालाई अझ मजबुत बनाउँदै इथिकल भर्ना प्रणालीलाई संस्थागत रूपमा अघि बढाउने हाम्रो लक्ष्य रहेको छ।”

कम्पनीले आगामी दिनमा पनि उच्च नैतिक मापदण्ड कायम राख्दै सुरक्षित, मर्यादित र भरपर्दो वैदेशिक रोजगार सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, २१ वर्षको यात्रामा साथ, सहयोग र विश्वास गर्ने सम्पूर्ण कामदार, रोजगारदाता, व्यवसायिक साझेदार तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दै भविष्यमा अझ गुणस्तरीय र प्रभावकारी सेवा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया