वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क बृद्धिप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउदै प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले उक्त निर्णय फिर्ता लिन चेतावनी दिएको छ ।

मञ्चले आज एक प्रेस विज्ञप्ती निकाल्दै वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५ सयबाट एकैचोटी बढाएर ९ हजार ५ सय तोक्ने निर्णय अन्यायपूर्ण मात्र नभई गरिब तथा विपन्न कामदार माथि गरिएको गम्भिर आर्थिक शोषण भएको जनाएको छ ।

मञ्चका अध्यक्ष जनक रावलद्धारा हस्तारक्षित विज्ञप्तिमा भनिएको छ ‘सरकारले खाडी तथा मलेसिया जाने कामदारका लागि सेवा शुल्क केवल १० हजार मात्र तोकेको अवस्थामा स्वास्थ्य परीक्षणकै नाममा मात्र ९ हजार ५ सय रुपैयाँ असुल्नु गम्भीर आपत्तिको विषय हो ।’

यूएई, साउदी अरब, कतार, मलेसिया र ओमान जाने नेपाली श्रमिकहरू आर्थिक रूपमा अत्यन्तै विपन्न अवस्थामा रहेको मञ्चको भनाइ छ । दैनिक करिब १ हजार ५ सय नेपाली वैदेशिक रोजगारीमा जाने गरेको बताउँदै मञ्चले यो शुल्क वृद्धिले समग्र श्रमिकमाथि अतिरिक्त आर्थिक भार पर्ने जनाएको छ ।

शुल्क वृद्धि गर्ने पक्षले आधुनिक, व्यवस्थित र विश्वसनीय स्वास्थ्य परीक्षण आवश्यक भएको दाबी गर्दै आएका छन् । तर, मञ्चले व्यवहारमा श्रम गन्तव्य मुलुकहरूले नेपालमा गरिने स्वास्थ्य परीक्षणलाई विश्वास नगरी आफ्नै मापदण्डअनुसार पुनः परीक्षण गराउँदै आएको जनाएको छ ।

‘गुणस्तरीय परीक्षण’ का नाममा अस्वभाविक शुल्क वृद्धि गर्नु आफ्नो आर्थिक स्वार्थ पूर्ति गर्ने बहानाबाजी मात्रै भएको भएको मञ्चको दाबी छ । मञ्चले विपन्न कामदारमाथि प्रत्यक्ष असर पर्नेगरी गरिएको स्वास्थ्य परीक्षण शुल्क वृद्धि तत्काल फिर्ता लिन माग गरेको छ ।

मूल्यवृद्धि फिर्ता नलिएमा कामदारको हितमा आवश्यक सबै कदम चाल्न बाध्य हुने मञ्चले चेतावनी दिएको छ ।

श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बृद्धिको निर्णय फिर्ता लिन मञ्चको चेतावनी