समृद्धिको आधार परिश्रम : वैदेशिक रोजगारमा जाने सबैको परिवारमा यस्तै समृद्धि छाओस्

news-details

यतिखेर मुलुकको अर्थतन्त्र गम्भीर मोडमा पुगेको तथ्य सर्वविदितै छ । यहाँ किसानको पसिना सडकमा पोखिन्छ । त्यही सडकमा घरिघरि दूध घोप्टिन्छ अनि दही घिउ पनि पोखिन्छ । हो, कृषिप्रधान देशमा किसान पीडा बोकेर सडकमा उत्रनु कति दुःखको कुरा हो ? यहाँ खेती गर्ने समयमा मल पाइदैन । बीउ भेटिदैन । खेती योग्य अधिकांश जमिनमा सिँचाइ सुविधा छैन । आकाशे वर्षात् समयमा हुदैन । कृषकका लागि भनेर छुट्याइएको अनुदान रकम वास्तविक हकदारका लागि भने ‘आकाशको फल आँखा तरि मर’ झै भएको छ, यसमा पनि बाठाटाठा कै हालीमुहाली छ ।

आफूले उब्जाएको उत्पादनले उचित मूल्य नपाएपछि केही समय अघि विभिन्न जिल्लाका किसानले तरकारी र दूध सडकमा पोखेर आफूहरुले बेहोरेको घाटा सुनाएका थिए । यस विषयमा केही दिन चर्चा र बहस पनि भयो तर बिस्तारै घटना सेलायो । विज्ञ भन्छन्, ‘सरकारले मुलुकभित्रै उत्पादन भएका कृषिजन्य वस्तुलाई पहिलो प्राथमिकता नदिँदा आयातीत वस्तुले बजार ओगटेका छन्, यो राम्रो होइन ।

भारत सरकारले किसानका अधिकांश बालीमा ९९ देखि शतप्रतिशतसम्म अनुदान दिएको छ । त्यति ठूलो अनुदानमा उत्पादन भएका वस्तुमा नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न सक्दैन । फ्याक्दा पनि फरक नपर्ने खालका ‘सी’ गे्रडका ती कमसल वस्तुमात्रै नेपाल पठाउने भारतीय बजारको पुरानै रबैया अर्थात् चलन हो । जनस्वास्थ्यसँग जोडिएको यस्तो गम्भीर विषयमा समेत नेपाल सरकार मौन रहनु हामी कस्तो छहारीमा बाँचेका छौँ ?

नेपाल विश्व व्यापार सङ्गठन (धतय) मा पनि संलग्न छ तर भएर के गर्नु ? किसानको उत्पादन दिनप्रतिदिन बढ्दै जाँदा पनि आन्तरिक उत्पादनले मूल्य पाएको छैन । बजार पाएको छैन । यसका लागि खबरदारी पनि नगरिएको होइन । यहाँका उद्यमी, व्यवसायी र उपभोक्ताको हीतका लागि सरकारबाट ठोस रचनात्मक आर्थिक कदमको अपेक्षा छ, हुन्छ । मुलुकको अर्थतन्त्रलाई चाहिने कुल पँुजीको दुईतिहाई निजी क्षेत्रले लगानी गर्छन् ।

राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० को व्यापार घाटा गत आर्थिक वर्षको तुलनामा १८.७ प्रतिशतले कम भएर ८ खर्ब २५ अर्ब ७३ करोडमा झरेको छ । रेमिट्यान्स भने २७.१ प्रतिशतले वृद्घि भई ६ खर्ब ८९ अर्ब ८८ करोड पुगेको छ । यसको सकारात्मक प्रभाव स्वरुप शोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब रुपैयाँभन्दा बढी बचतमा छ । विदेशी विनिमय सञ्चितिको कुरालाई पुरा गर्नु भन्दा पहिला यहाँ रेमिट्यान्स भित्राउने युवाहरु मध्ये एक युवाकी श्रीमती रिता राउतलाई सुनौँ ।

‘बारा जिल्लाको निजगढमा मेरो जन्म भएको हो । औपचारिक शिक्षा पाँच कक्षा मात्र पढेँ । त्यो पनि सरकारी स्कुलमा । मेरो बुवाआमा नै हुनुहुन्छ तर सानो उमेरमा आमा एक्लैको काँधमा पर्यौँ हामी । हो, यसकारण आमाले निकै ठूलो सकस झेलेर दुई छोरी र एक छोराको भरणपोषण गर्नुभयो । ती दिनलाई सम्झदा यो मन आकुलव्याकुल हुन्छ ।

पढाइ लेखाइ माया मारेपछि ठूलोबुवाको छोरी दिदीसँग काठमाडौं आएँ म । पाँच वर्ष दिदीसँगै बसेँ । त्यस बेला त मैले खासै केही गरिन । बरु दिदी नै गार्जेन्ट बनेर मेरो बिहे भयो ।

०६४ सालमा स्थायी घर झापाका भोलानाथ पोखरेलसँग मेरो बिबाह भएको हो । बिहाह गरेको एक वर्षमा बच्चा जन्मियो, छोरा । बाबु तीन महिना पुगेकै थिएन, श्रीमान बाहिर जानुभयो ।
बिहे अघि नै दुबईमा रोजगार गर्नु हुन्छ भनेर थाहा थियो । हाम्रो सम्बन्ध गहिरो प्रेममा डुबेर भन्दा पनि देखादेखको आधारमा भा’ हो । मैले यति मात्रै भन्दा मान्छेलाई विश्वास नलाग्ला किनभने उहाँ बाहुनको छोरा, म परेँ क्षेत्री राउतकी छोरी तर लेखेको कुरा भएरै त होला हाम्रो घरजम भयो ।

श्रीमान्को घर झापा गएर बस्नु पर्छ भन्ने बाध्यता भएन । त्यो बेला उताबाट पनि कोही आउनु हुन्थेन । यसको मतलब काठमाडौं नै नआउने भन्ने होइन । पारिवारिक नाता भएपनि हामीसँग ओहोरदोहोर गर्न चाहनु भएन, हुन्थेन । हो, समयको रफ्तार दिन बित्दै गयो । त्यही लयमा जीवन अघि बढ्यो ।

मेरो काखमा सानो बच्चा थियो । भएपनि कोठामा यतिकै बस्नुभन्दा आफूले नि केही गर्नु पर्छ भन्ने भयो । कतै सुनेथेँ, कर्ममा विश्वास गर्नेहरुका लागि भगवान्ले समेत ‘तँ चिता म पु¥याउछु’ भन्छन् रे । यही कुरालाई मनन गर्दै तत्काल मैले कटिङ सिकेँ । बच्चा स्याहार्दै थालेको काम खै, ठीक गरे कि बेठीक ? सुरुमै सिलाई पसल खोलेँ । त्यसका लागि सानीमाको छोरा भाइसँग तीस हजार सापट मागेँ । उसले नाइ भनेन । अब पसलको दर्ता प्रक्रियासँगै दुई जना मास्टरलाई तलब नै कबुलेर सिलाइको काम जिम्मा लिन थालेँ ।

एउटालाई महिनाको २५ हजार दिनुपथ्र्यो । अर्कालाई भने ‘पिस’ अनुसार तलब दिन्थेँ । जस्तो कि, फर्म राखेको एउटा ब्लाउज सिलाउँदा तीन सय मास्टरको हुन्थ्यो भने चार सय मैले कमाउथेँ । त्यस्तै, एक जोर कुर्था सुरुवाल सिलाउदा मास्टर ज्याला १२० छुट्याएर तीन सय मेरो हुन्थ्यो । यस प्रकार खट्दै गएँ । त्यतिखेर ८ हजार सटर भाडा तिर्नु पथ्र्यो । खाइखर्च बाहेक बास बस्न ४५ सयले भ्याउथ्यो । उनीहरुले गरेको काम हेर्दा हेर्दै मैले सिकेँ । सिलाइ सम्बन्धी धेरै जानेँ । त्यसपछि त मास्टर राख्नु परेन ।

हाम्रो सल्लाहमा श्रीमानको कमाइ उहाँ आफैँ व्यवहार गर्नुहुन्छ, मेरो कमाइले छोराको स्कुल फी, उसलाई टिफिन, स्कुल ड्रेसलगायत कतिथोक चाहिन्छ चाहिन्छ ? नदेखिने खर्च के–के हो, हो । जे–जसरी चल्दै छौँ, दुःखसुख बाँचिदैछ । ऊ बेला बुवाले कान्छीआमा लिएर हिँडे, गाउँको ठाउँमा कति हन्डर खपेर पनि आमाले एक्लै व्यवहार गरेर कतै घुन पुतली नलागि हामीलाई हुर्काउनु भयो । त्यो स्थिति हेर्दा यसरी आफैँ काम गरेर खान सक्षम हुनु चानचुने हिम्मत होइन । तर। भाग्य छ भन्दैमा डोकामा दूध अडिँदैन ।

कोटेश्वर सहयोगी नगरमा सटर लिएर सुरु गरेको काम उही ठाउँमा लगातार पाँच वर्ष बसेँ । दुई वर्षभयो त्यस ठाउँबाट थोरै फरक लोकेसन कोटेश्वर चोक मूल सडकबाट अलिकति भित्र सेन्टरमै जस्तो सरेकी छु । अहिले सिलाउने काम सबै म आफैँ गर्छु । सुरुमा काम गरेको एरियामा आफ्नो घर छ । मिहिनेतको कमाइले बनाएको यो घर पहिला एक तले थियो, हामीले किन्यौँ । त्यो बेला हातमा पुरा पैसा थिएन तर आँट गरेर अठार लाख त ऋण बोकेरै किक्यौँ । व्यक्तिबाट लिइएको सापटी २४ प्रतिशतका दरले ब्याज बुझाउनु पथ्र्यो । चार वर्षमा सबै तिर्यौँ । अनि, घरको तला पनि थप्यौँ । अहिले तीन तला घर, एक तलामा आफू बसेर दुई तला भाडामा लगाएका छौँ ।

परदेशको बास भए पनि उहाँको कमाइ राम्रो छ । दुबईको ‘म्याक्स’ कम्पनी भनेपछि विश्व बजारमा ठूलो मार्केट कमाएको रहेछ । उसो त पहिला पहिला दुई–दुई वर्षमा घर आउँदा आतेजाते भाडा कम्पनीले नै तिरिदिन्थ्यो । त्यो प्रचलन अहिले पनि छ । तर, भोलानाथजी वर्षको एक पटक आफ्नै खर्चमा घर आउनु हुन्छ । दशैँ मान्नेगरि आएर तिहारपछि कर्म थलो फिर्नु हुन्छ ।’

रिता राउतका बारेमा यो लेख लेखिरहदा म स्वयं हर्षविभोर भएँ । आखिर मान्छेसँग धैर्य र लगनशीलता भयो भने परिवार दुई तिर भएर बस्दैमा विखण्डित कहाँ हुदो रहेछ ? नेपालको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि विदेशबाट आउने रेमिट्यान्सको महत्वपूर्ण योगदान रहेको छ । हुन त सकेसम्म नेपालमै रोजगार भएको राम्रो । विदेशिदा पनि श्रम सिकेर, राजदूताबासमा सम्पर्क गरेर, आफूले काम गर्न जाने कम्पनीका बारेमा राम्रो जानकारी राखेर मात्र कदम चाल्नु बुद्घिमान हुन्छ ।

व्यवसायमा असल व्यवस्थापक रिताले गरेको कर्मको फलले उनको घरको आर्थिक स्थिति सुध्रियो भन्नु भन्दा पनि छोटो समयमा नै मजबुत भयो भन्दा राम्रो हुन्छ । हो, रितालाई बिहे गरेपछि आउजाउ नभएको घर यतिखेर चाडपर्व आउँदा खास गरेर दशैँमा मूलथलो झापामै भेला हुन्छन् र सपरिवार सँगै बसेर पर्व मनाउँछन् । ‘प्लस टु’ सकेपछि विदेशीएका भोलानाथ र निम्न माध्यमिक पनि नसकेकी रिताको अहिलेको सुन्दर परिवारले समाजमा सकारात्मक सन्देश दिएको छ । वैदेशीक रोजगारमा जाने सबैको परिवारमा यस्तै समृद्घि छाओस् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *