वैदेशिक रोजगारीमा जानेलाई लक्षित गरेर राखिएको विभेदकारी डेस्क हटाइएको छ –श्रममन्त्री अर्याल
अशक्त तथा फरक क्षमता भएका व्यक्ति भाडाका गाडीमै सिंहदरबार छिर्न पाउने !
- माघ १७, २०७९
- 0
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जानेहरुलाई लक्षित गरेर त्रिभुवन विमानस्थलको अध्यागमनमा राखिएको छुट्टै डेस्क हटाइएको बताएका छन । मंगलवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले अबदेखि विद्यार्थी भिसा, पर्यटन भिसा, व्यवसायिक भिसा र वैदेशिक रोजगारीको भिसामा जानेको लाइन एउटै हुने बताएका हुन ।
मन्त्री अर्यालले गृह मन्त्रालयसँगको समन्वयमा सोमबारदेखि नै लागू हुनेगरी वैदेशिक रोजगारीमा जानेहरुका लागि छुट्याइएको विभेदकारी डेस्क हटाएको बताएका हुन । उनले भने –‘वैदेशिक रोजगारीमा जानेलाई लक्षित गरेर राखिएको छुट्टै डेस्कले विदेशमा रोजगारीका लागि जाने नेपालीको आत्मबलमा ठेस पुगेको महसुृस भएकाले एउटै लाइन हुनेगरी अध्यागमन चेकजाचको प्रक्रिया थालनी भैसकेको छ ।’
मन्त्री अर्यालले श्रम मन्त्रालयमा रहेको कल सेन्टर नेपालभित्र र बाहिर रहने श्रमिकसँग सम्बन्धित भएकाले समस्या एकद्वार प्रणालीबाट समाधान गर्ने उद्देश्यले २४ घण्टा श्रम सहायता केन्द्रको रुपमा रुपान्तरण गरेको बताए । उनले श्रमिकका गुनासो र समस्या सुन्नको लागि ६ महिनाभित्र श्रमदान मोबाइल एप र श्रम सम्बन्धी सम्पूर्ण कार्यको टाइम कार्ड लागू गरिने बताए ।
श्रम सम्बन्धमा आएका गुनासा ६ महिना भित्र समाधान गर्ने गरी मन्त्रालयले कार्ययोजना बनाएको बताउदै मन्त्री अर्यालले भने –‘६ महिनामा पनि समस्या समाधान नभए कारणसहित कर्मचारीसँग जानकारी लिनेछौ ।’
यस्तै मन्त्री अर्यालले श्रम मन्त्रालयको सिफारिसमा र गृह मन्त्रालयसँगको सहकार्यमा अशक्त तथा फरक क्षमता भएका व्यक्तिका लागि सिंहदरबार प्रवेशमा सहज बनाएको बताए । उनले सबै नेपाली नागरिकलाई सिंहदरबार प्रवेश गर्न पाउने नैसर्गिक अधिकार भएकाले सोही अधिकार प्राप्तिको लागि अशक्त तथा फरक क्षमता भएका व्यक्तिका लागि सिंहदरबार प्रवेशमा सहज बनाएको दाबी गरे ।
उनले भने,‘सिंहदरबार आफैँमा देशको नीति नियम र कानुन बनाउने र प्रधानमन्त्री लगायत सम्पूर्ण मन्त्रालय रहेका छन । केही फरक क्षमता भएका तथा अशक्त व्यक्ति सिंहदरबारको गेटबाट भित्रसम्म हिँड्न सक्नुहुन्न । उहाँहरुसँग रातो र सेतो नम्बर प्लेटका सवारी नहुन सक्छ । उहाँहरु भाडाका सवारी चढेर सेवा लिन आउनुपर्ने हुन्छ । उहाँहरुले सिंहदरबारबाट सेवा लिन पाउने नैसर्गिक अधिकार हो जस्तो लाग्छ । गृह मन्त्रालयसँगको समन्वयमा अशक्त र फरक क्षमता भएका व्यक्तिलाई बोकेर सार्वजनिक सवारी सोमबारदेखि लागू हुनेगरी सिंहदरबार भित्रै छिर्ने व्यवस्था गरिएको छ । यो श्रम मन्त्रालयको पहलमा गृह मन्त्रालयले निर्णय गरेको छ ।’