नेपालको प्रतिष्ठित मेनपावर कम्पनी इन्टरनेशनल मेनपावर रिक्रुटमेन्ट प्रा.लि.(आईएमआर)ले अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम)बाट इन्टरनेशनल रिक्रुटमेन्ट इन्टेग्रेटी सिष्टम (आइरिस) प्रमाणपत्र प्राप्त गरेको छ ।

आइरिस प्रमाण पत्र प्राप्त गर्ने आइएमआर नेपालको पहिलो वैदेशिक रोजगार कम्पनी हो भने आइरिस प्रमाणपत्र पाउने विश्वमै न्यून एजेन्सीहरु मात्र रहेको बताइन्छ ।

आइरिस प्रमाणपत्र पाएपछि सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कम्पनीका प्रबन्ध निर्देशक वाइबी राईले विगत ९ वर्षदेखि कडा अनुशासनमा रहेर पूर्णरूपमा अवलम्बन गरिएको न्यायोचित र नैतिक भर्ना प्रक्रियाको मूल्यांकन गरेर आईओएमबाट आफ्नो कम्पनी आईरिसअन्तर्गत प्रमाणित हुँदा गर्व लागेको बताएका छन् ।

सन् २००४ देखि खाडी तथा मलेसियासहित विश्वका विभिन्न देशमा कामदार पठाउँदै आएको उक्त कम्पनीले सन् २०१६ देखि न्यायोचित र नैतिक भर्ना प्रक्रियाको प्रारम्भ गरी सन् २०१८ देखि श्रम आप्रवासनका क्रममा हुने खर्च रोजगारदाता कम्पनीले व्यहोर्ने सिद्धान्तमा आधारित स्वच्छ श्रमिक भर्ना प्रक्रिया अपनाउँदै आएको छ ।

सन् २०२१ देखि आईओएमबाट सञ्चालित न्यायोचित र नैतिक भर्ना प्रक्रियासम्बन्धी तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरूमा सहभागी हुँदै आएको उक्त कम्पनीले क्षमता अभिवृद्धिसम्बन्धी चरण पूरा गरेर पूर्व लेखापरीक्षण समेत सम्पन्न गरेपछि आईओएमले सन् २०२३ अगष्ट महिनामा आईरिस प्रमाणीकरण गरेर प्रमाण पत्र दिएको प्रबन्ध निर्देशक राईले बताए ।

अन्तर्राष्ट्रियस्तरको आइरिस प्रमाणपत्र पाउने पहिलो मेनपावर बन्यो ‘आइएमआर’

प्रबन्ध निर्देशक राईले अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्न आफ्नो कम्पनीले निरन्तररूपमा अन्तर्राष्ट्रिय असल अभ्यासहरू सिक्नुका साथै आफ्ना व्यावसायिक प्रक्रियाहरू सुधार गरेकाले यो सफलता प्राप्त गरेको बताए ।

आइएमआरले हालसम्म १८ हजारभन्दा बढी नेपाली कामदारलाई मलेसिया, कतार, यूएई र साउदी अरेबियामा स्वच्छ एवं नैतिक भर्ना प्रक्रियाका माध्यमबाट वैदेशिक रोजगारीमा पठाएको बताएको छ ।

कम्पनीले पूर्णरूपमा न्यायोचित र नैतिक भर्ना प्रक्रिया अवलम्बन गरेको अनुभव सुनाउँदै प्रबन्ध निर्देशक राईले न्यायोचित र नैतिक भर्ना प्रक्रियाको माध्यमबाट कामदार पठाउँदा व्यवसाय झन्झटमुक्त, आर्थिकरूपमा पारदर्शी र सामाजिकरूपमा आत्मसन्तुष्टि प्राप्त भएको अनुभव सुनाए ।

अन्तर्राष्ट्रियस्तरको आइरिस प्रमाणपत्र पाउने पहिलो मेनपावर बन्यो ‘आइएमआर’

व्यवसायी राईले नेपालको सन्दर्भमा न्यायोचित र नैतिक भर्ना प्रक्रियाबाट वैदेशिक रोजगारीमा कामदार पठाउँदा चुनौती भएता पनि आइएमआरले आफूलाई सुधार गर्दै नैतिक भर्ना प्रक्रियालाई भोलिका दिनमा निरन्तरता दिने प्रतिबद्धता जनाए ।

प्रवन्ध निर्देशक राई भन्छन्–‘ हामी नैतिक भर्ना प्रक्रियालाई निरन्तरता दिनेछौं, म सबै मेनपावर कम्पनीलाई नैतिक भर्ना प्रक्रिया अपनाउन आग्रह गर्दछु, भोलिका दिनमा अन्तर्राष्ट्रिय श्रम बजारमा न्यायोचित र नैतिक भर्ना प्रक्रियाको आवश्यकता र महत्व बढेर जानेछ ।’

उनले सरकारले पनि नैतिक भर्ना प्रक्रियाबाट कामदार पठाउने विषयमा कडाइका साथ अनुगमन गरेर कमीकमजोरी हटाएर यसको विश्वसनीयता बढाउन जरुरी रहेको बताए ।

अन्तर्राष्ट्रियस्तरको आइरिस प्रमाणपत्र पाउने पहिलो मेनपावर बन्यो ‘आइएमआर’

आइएमआरका निर्देशक प्रणय राईले वैदेशिक रोजगारमा कामदार भर्ना तथा छनोटको प्रक्रियामा कम्पनीले नेपाली र अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाहरूको पूर्णरूपमा पालन गर्ने, नेपाल र अन्तर्राष्ट्रिय कानुनी आवश्यकताहरूको पालना गराउने, कामदारको अधिकारको सम्मानमा समान र निष्पक्ष प्रतिस्पर्धा, स्वस्थ र सुरक्षित काम गर्ने वातावरणको सुनिश्चितता, करारको पालना तथा राहदानी आफैंले राख्न पाउने व्यवस्थाको ग्यारेन्टी, स्वदेश आवागमनको स्वतन्त्रता र स्वतन्त्र रूपमा रोजगारी छनोटको सम्मान जस्ता विषयमा पनि उचित ध्यान पु¥याउने पनि कम्पनीको नीति रहेको बताए ।

निर्देशक राईले कम्पनीले न्यायोचित र नैतिक भर्ना प्रक्रियालाई निरन्तरता दिनुका साथै कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक तथा मानवीय कार्य गरेको बताए । उनले न्यायोचित र नैतिक भर्ना प्रक्रियाबाट वैदेशिक रोजगारमा गएका कामदारले प्राप्त गरेको सफलताले कम्पनीलाई थप हौसला मिलेको उल्लेख गरे ।