जीविकोपार्जनका लागि महाकालीको बगरमा बास

news-details

बेलौरी नगरपालिका–८ का जुगमनि चौधरी हरेक वर्षको ९ महिना महाकाली नदी किनारको बगरमा बिताउँछन्। दम्पती नै नदीको बगरमा गिट्टी बालुवा छानेर जीविकोपार्जन गर्न लागेको आठ वर्ष भयो।

नदी किनारमै झुपडी बनाएर गिट्टी, बालुवा छानेर उनले वर्षभरिका लागि खर्चको जोहो गर्छन्। ‘बगरमा गिट्टी, बालुवा छानेर परिवार पालेको छु। यहाँ आउन थालेको आठ वर्ष भयो’, उनले भने, ‘भारत गएर काम गर्न सकेनौँ। यही काम गरेर परिवारको खर्च चलाइरहेका छौँ।’

उनले महाकाली नदीको बालुवा–ढुंगा नै आफ्ना लागि आयआर्जनको प्रमुख स्रोत भएको बताए। उनीजस्तै कञ्चनपुरको बेलौरी, बेल्डाँडी, कैलाली र डडेल्धुराबाट समेत आएर बगरमै टहरा बनाएर काम गरिरहेका छन्। महाकाली वरपरको तटीय क्षेत्रका दलित एवं विपन्न समुदायका अधिकांश परिवार अहिले बगरमै बसेर खर्च जोहो गरिरहेका छन्।

भीमदत्त नगरपालिका–१२ ऐरीका ४५ वर्षीय किसन सोनाहा पनि बगरमै संघर्ष गरिरहेका छन्। खर्च जुटाउन आफूहरूसँग यसको विकल्प नभएको उनले बताए। ‘सुन छान्ने परम्परागत पेसा भए पनि अहिले हामी नदी किनारमा गिट्टी, बालुवा छानेर जोहो गरिरहेका छौँ’, उनले भने, ‘यहाँ सुन भेटिँदैन, बालुवा छान्ने र गिट्टी कुट्नुको विकल्प छैन।’

किसनले आफूसहित श्रीमती, छोरा, बुहारी सबैजना गिट्टी कुट्न हरेक दिन महाकाली नदीको बगरमा आउने गरेको बताए। परिवारका सबै मिलेर उनीहरू मासिक २५ हजारसम्म कमाउँछन्। ‘चामल किन्नेदेखि छोराछोरीको स्कुलको शुल्कसमेत यही कमाइले व्यर्होनुपर्छ’, उनले भने, ‘दिनभर बगरमा काम नगरे साँझ– बिहान घरमा चुल्हो बाल्न मुस्किल पर्छ।’

पाँच वर्ष भारतको महाराष्ट्रमा मजदुरी गरेर स्वदेश फर्किएका अशोक सोनाह पनि बगरमै गिट्टी, बालुवा छान्न व्यस्त छन्। ‘सरकारले सीप सिकाएर रोजगारी दिएको भए हाम्रो बास बगरमा हुँदैनथ्यो।’, उनले भने।

अहिले महाकालीमा नदीमा प्रतिट्रली बालुवा एक हजार र गिट्टी रु एक हजार ८०० रुपैयाँमा बिक्री हुने गरेको छ । महाकाली नदीको भुजेलाबाट दोधारा चाँदनी झोलुंगे पुलसम्म ३०० भन्दा बढी विपन्न परिवार अहिले बालुवा र गिट्टी छानिरहेका छन्। अधिकांश परिवारसहित नदी किनारका खाली जमिनमा टहरा बनाएर बसिरहेका छन्।

-रासस

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *