सन् २०२५ सम्ममा सबै प्रकारका बालश्रम उन्मुलन गरिनेछ : मन्त्री श्रेष्ठ
- जेष्ठ २५, २०७९
- 0

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपालबाट सन् २०२५ सम्ममा सबै प्रकारका बालश्रम उन्मुलन गरिसकिने बताएका छन् ।
११०औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा आज भर्चुअलरूपमा सहभागी भएका मन्त्री श्रेष्ठको सबैं प्रकारका बालश्रम, बाध्यात्मक श्रम, मानव बेचविखन तथा आधुनिक दासत्व पूर्ण रुपमा उन्मुलन गर्ने नेपालको प्रतिवद्धता रहेको बताएका हन् ।
‘सबै प्रकारका बालश्रम सन् २०२५ सम्ममा उन्मुलन गर्ने लक्ष्यका साथ नेपाल सरकारले काम गरिरहेको छ,’ मन्त्री श्रेष्ठले जोड दिँदै भने । स्वीट्जरल्याण्डको जेनेभामा जारी सम्मेलनमा उनले आप्रवासनसम्बन्धी विश्वव्यापी समझदारीपत्रको भावनाअनुसार नेपालले काम गरिरहेको पनि बताएका छन् ।
आप्रवासी कामदारले गन्तव्य तथा सम्वद्ध मुलुकमा मानवअधिकार तथा समानताको सुनिश्चितता हुनुपर्ने उनको भनाइ छ । मन्त्री श्रेष्ठले नेपालले कोभिडविरुद्ध खोप अभियानलाई सफलतापूर्वक अघि बढाइरहेको बताए ।
महामारीका कारण परेको असर कम हुँदै जाँदा नेपालको अर्थव्यवस्था विस्तारै सुधार हुँदै जाने क्रममा रहेको तर उपभोग्य वस्तुहरुको मूल्य बढेकाले श्रमिकको जीवनस्तर तथा उद्योगहरुमा समेत यसबाट असर पुगेको मन्त्री श्रेष्ठको भनाइ छ ।
उनले नेपालले रोजगारी, सामाजिक सुरक्षा तथा औद्योगिक सुरक्षाको बारेमा गरिरहेको प्रयासबारे सम्मेलनलाई जानकारी गराएका छन् । नेपालले सन् २०१८ मा योगदानमा आधारित सामाजिक सुरक्षा योजना अगाडि बढाएको बताउँदै उनले श्रमिक तथा उनीहरूको परिवारको कामसँग सम्वन्धित जोखिम न्युनिकरण सम्बन्धमा सामाजिक सुरक्षा योजना महत्वपूर्ण कदम रहेको बताए ।
सीमान्तकृत तथा बेरोजगार नागरिकहरुलाई केन्द्रमा राखी सुरु गरिएको सय दिन रोजगार दिने प्रधानमन्त्री रोजगार कार्यक्रमले अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र महामारीमा रोजगारी गुमाएकाहरुलाई पनि केही मात्रामा सहयोग पुर्याएको मन्त्री श्रेष्ठले बताए । व्यावसायिक सीप विकास तालिम नीति तथा संरचनाहरु निर्माण गरी रोजगारका अवसरहरु उपलव्ध गराउन लागि परेका उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा आईएलओका सदस्य रहेका विभिन्न देशका सरकार तथा राज्य प्रमुख, श्रममन्त्री, उद्यमी तथा औद्योगिक क्षेत्रका अगुवा तथा श्रमिक नेताहरुले सम्बोधन गरेका छन् ।