अनलाइन प्रणालीबाट श्रम स्वीकृति दिन थालिएपछि घटयो भिड, पहिलो दिन ८५५ जनाले लिए सेवा

news-details

वैदेशिक रोजगार विभागअन्तर्गत वैदेशिक रोजगार कार्यालय काठमाडौंबाट हिजो आइतबारदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्न थालिएको छ ।

पहिलो दिन नै अनलाइनबाट ८५५ जना सेवाग्राहीले पुनः श्रम स्वीकृतिको सेवा लिएका छन् । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बिनाझन्झट आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट सेवा प्रदान गर्ने उद्देश्यअनुरुप पुनः श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र थालिएको हो ।

वैदेशिक रोजगार कार्यालयमा अहिले विचौलियालाई निषेध गरिएको छ भने पुनः श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट गर्न थालिएपछि कार्यालयमा हुने भीड हटेको कार्यालयको भनाइ छ ।

यसैबीच आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, सचिव एकनारायण अर्यालसहितको टोलीले कार्यालयमा अनलाइन प्रणालीबाट शुरू गरिएको पुनः श्रम स्वीकृति जारी गर्ने कार्यको अनुगमन गरेका छन् । सो क्रममा मन्त्री श्रेष्ठले श्रम स्वीकृतिलाई छिटो, छरितो र पारदर्शी रुपमा गुनासोरहित सेवाप्रवाह गर्न निर्देशन दिएका छन् ।

मन्त्री श्रेष्ठले आफूले मन्त्रालयमा सुधारको अभियान सञ्चालन गरेको बताउँदै अनलाइन प्रणालीको सफलता महत्वपूर्ण उपलब्धि भएको बताए ।

त्यस्तै सचिव अर्यालले सरकारले सेवा प्रवाहलाई सूचनाप्रविधि मैत्री बनाउँदै लगेको बताउँदै सेवाप्रवाहलाई सरलिकृत गर्नुपर्नेमा जोड दिए ।

कार्यालय प्रमुख रमेश अर्यालले सेवाग्राहीका समस्या समाधान गर्न, जानकारी एवं सूचना प्रवाह गर्न कार्यालय परिसर भित्र हेल्प डेस्क स्थापना गरिएको र कार्यालयको काममा ठगिएमा, गुनासो वा सुझाव भएमा कार्यालय प्रमुख समक्ष सेवाग्राहीले गुनासो राख्ने वातावरण मिलाइएको जानकारी दिएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *