वैदेशिक रोजगार वोर्डका नवनियुक्त ५ सदस्यलाई सचिवालयमा स्वागत
- पुस १८, २०७८
- 0
वैदेशिक रोजगार वोर्डका नवनियुक्त ५ जना सदस्यलाई सचिवलायका कार्यकारी निर्देशक राजन श्रेष्ठले कार्यालयमा स्वागत गरेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले मन्त्रीस्तरीय निर्णयबाट विभिन्न क्षेत्रका व्यवसायी तथा विज्ञलाई वैदेशिक रोजगार वोर्ड सदस्यमा नियुक्त गरेपछि आइतबार सचिवालयमा उनीहरुलाई स्वागत गरिएको हो ।
वोर्ड सदस्यमा वैदेशिक रोजगार व्यवसायी यम बहादुर राई (वाइबी), वैदेशिक रोजगार व्यवसायी राधिका कटुवाल, नेपाल अभिमुखीकरण व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तथा सल्लाहाकार पुर्णबहादुर मल्ल, महासंघकै उपाध्यक्ष कल्पना पाण्डे न्यौपाने र मुटु रोग बिशेषज्ञ डा.मिलन प्रकाश श्रेष्ठ नियुक्त भएका छन् ।
वैदेशिक रोजगार ऐन २०६४ को दफा ३८ को उपदफा १ अनुसार नियुक्ति पाएका उनीहरू सबैको कार्यकाल नियुक्ति पाएको मितिले दुई वर्ष हुने मन्त्रालयले जनाएको छ ।
श्रममन्त्रीको अध्यक्षता रहने वोर्डमा उच्च पदस्थ सरकारी अधिकारी, बैदेशिक रोजगार व्यवसायी, ट्रेड युनियन, बैदेशिक रोजगार विज्ञ र यस क्षेत्रमा कार्यरत संस्थाहरुको प्रतिनिधित्व रहने व्यवस्था छ । हाल वोर्डमा अध्यक्ष सहित २५ जना सदस्यहरु रहेका छन् ।
वोर्डवाट हालसम्म मूख्यरुपमा मृतकका परिवारलाई आर्थिक सहायता, बिरामी एंव अंगभंग भएकालाई उपचार खर्च, बिदेशमा अलपत्र परेका शव ल्याउन सहयोग, अलपत्र परेका कामदारलाई उद्धार गर्ने, जनचेतनामुलक कार्यक्रमहरु संचालन, बिदेशमा सुरक्षित गृह संचालनलगायतका कार्य गर्दै आएको छ ।
वोर्डमा विदेश जाने प्रत्येक कामदारले कल्याणकारी कोषका नाममा अनिवार्य पैसा जम्मा गर्नु पर्ने प्रावधान रहेको छ ।