सेटिङ गरी विदेश जान खोज्ने विमानस्थलबाटै फर्काइए
- रोजगारमञ्च
- साउन ८, २०७६
- 0
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले मंगलबार विदेश जान विमानस्थल पुगेका करीव ३० युवालाई घर फर्काइदिएको छ ।कार्यालयका अनुसार कोरिया जान हिँडेका २९ युवा र सेन्जेन भिसा लिएर स्विट्जरल्यान्ड उड्न लागेका एक युवा लाई फकाइएको हो ।
उनीमध्ये सेन्जेन भिसा वाहक युवाको भिसा नक्कली पाइएपछि अध्यागमनले हिरासतमा लिएको कार्यालयले पुष्टी गरेको छ ।यूरोपका विभिन्न २८ मुलुकमा एकै भिसााबाट यात्रा गर्न पाइने भिसा नै सान्जेन भिसा हो ।
यही भिसा नै नक्कली पाइएपछि अध्यागमनका अधिकारीहरु चकित परेका छन् । मानव तस्करले नेपाली यूवासँग ठूलो रकम लिएर यूरोपमा पुर्याउने, त्यसपछि अलपत्र छाड्ने प्रवृत्ति छ ।
त्यसो त यूरोपमा भागेर पनि सजिलै बस्न सकिन्छ भन्ने मानसिकताका कारण धेरै यूवा जोखिम मोलेरै मानव तस्करको पछि लाग्ने गरेका छन् । देशभित्र उद्योग धन्दा, कृषि तथा अन्य सबै क्षेत्रमा युवा र जनशक्तिको चरम अभाव रहेका बेला नेपाली यूवा भने अनेक जोखिम मोलेर विदेशमै धाइरहेका छन् ।
कार्यालयले मंगलबार नै स्पेनका एक नागरिकलाई पनि नक्कली राहदानी बोकेको भेटाएपछि हिरासतमा लिएको थियो । मंगलबार कागजात नपुगी कोरिया उड्न लागेका २९ जना युवालाई विमानस्थल अध्यागमनले फर्काएको छ ।
उनीहरुले कोरियामा अध्ययन तथा तालीमका लागि जान लागेको बताएपनि पर्याप्त कागजात पेश गर्न भने सकेनन् । कोरियामा वैधानिक तवरबाट रोजगारीका लागि जाने युवालाई भने समस्या छैन ।