ऐन–नियम राम्रा तर, कार्यान्वयन नहुँदा वैदेशिक रोजगार अस्तव्यस्त

सन्दर्भ : अन्तर्राष्ट्रिय आप्रवासन दिवश
news-details

वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनका लागि धेरै राम्रा ऐन–नियम नेपालमा बनेको भएता पनि सहि कार्यान्वयन हुन नसक्दा वैदेशिक रोजगारको क्षेत्र अस्तव्यस्तकै अवस्थामा रहेको छ । अन्तर्राष्ट्रिय स्तरमै उदाहरणीय नियम कानुन नेपालसँग भएपनि व्यवहारिक नहुँदा वा कार्यान्वयन हुन नसक्दा खासै सुधार हुन नसकेको वैदेशिक रोजगार विज्ञहरुले बताएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासन दिवशको अवसरमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले मंगलबार राजधानीमा आयोजना गरेको ‘वैदेशिक रोजगारी : अबको बाटो’ विषयक अन्र्तक्रिया कार्यक्रममा ऐन–नियमको कार्यान्वयन पक्ष चुनौतीपूर्ण रहेको विज्ञहरुले औल्याएका हुन ।

नेपाल सरकारले गठन गरेको थिंक–ट्ंयाकका सदस्य तथा वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङले भने–‘हामीले नीति त बनायौ तर प्रभावकारी कार्यान्वयन भएन, यी दुईबीच एकअर्कामा डिर्भोस जस्तै भएको छ ।’ अब प्रभावकारी कार्यान्वयन र अनुगमनको खाचो रहेको डा. गुरुङको भनाई छ ।

नेपाल सरकारका पूर्वसचिव पूर्णचन्द्र भट्टराईले विगतको तुलनामा अहिले वैदेशिक रोजगारको क्षेत्रको सोचमा परिवर्तन आएको, व्यवस्थापनमा सुधार देखिएको भएता पनि अझै सफल कार्यान्वयन हुन नसक्दा वैदेशिक रोजगारको क्षेत्रमा सुधार नआएको बताए । उनले भने–‘वैदेशिक रोजगार मात्र होइन अब स्वरोजगारलाई प्राथमिकता दिनुपर्छ ।’

कार्यक्रममा अधिवक्ता सोम लुइटेलले नेपालमा वैदेशिक रोजगार सम्वन्धी उदाहरणीय कानुनहरु भएको बताए । उनले भने–‘हामीसँग वैदेशिक रोजगार मात्र हेर्ने वैदेशिक रोजगार न्यायधिकरण र विदेशमा ठगिएपनि स्वदेशमै क्षतिपूर्तिका लागि उजुरी दिने व्यवस्था छ, यस्तो प्रावधान अन्य कुनै देशमा छैन ।’

यसैगरी कार्यक्रममा बोल्दै पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरुङले नीति नियम जस्तै राम्रो बनेपनि महिला कामदारहरुले कुनै आभाष पाउन नसकेको बताइन । उनले भनिन–‘वैदेशिक रोजगारमा जाने महिलाहरुको पक्षमा अहिलेसम्म व्यवहारमा कुनै परिवर्तन आएको छैन, हामीलाई राज्य भएपनि नभएजस्तै भएको छ ।’

कार्यक्रममा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका कार्यवाहक अध्यक्ष रामप्रसाद भन्तनाले वैदेशिक रोजगारका सुधारका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए । उनले भने–‘वैदेशिक रोजगारका लागि व्यवसायी मात्र कारक होइन, सबै सरोकार पक्ष जिम्मेवार नबनेसम्म वैदेशिक रोजगारमा सुधार आउदैन ।’

श्रमिकलाई आत्मसम्मान दिलाउँछौ : मन्त्री विष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रमिकहरुको आत्मसम्मान दिलाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । अन्तर्राष्ट्रिय आप्रवासन दिवशको अवसरमा मन्त्री विष्टले श्रम गर्ने श्रमिकको अपमान हुने अवस्थाको अन्त्य हुने र अन्तर्राष्ट्रियस्तरमा पनि आज श्रमिकको सम्मान खोजिएको बताए ।

वैदेशिक रोजगारको सुधारका लागि प्रयत्न गर्दा असफल बनाउने खेल भइरहेको भन्दै मन्त्री विष्टले आम जनताको हितमा गर्ने कार्यमा दृढतापूर्वक लाग्ने आश्वासन दिए । उनले भने–‘वैदेशिक रोजगारको सुधारको बाटो होइन राजमार्ग नै बन्ने छ ।’ सरकार आम श्रमिकको पक्षमा निर्णय गर्न कुनै दबाब वा वदनामदेखि नडराउने मन्त्री विष्टको भनाई छ ।

यो पनि पढनुहोस

आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस, विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *