बैङ्क तथा वित्तीय संस्थाले बढाए ब्याजदर

news-details

लामो समयदेखि तरलताको समस्या भोग्दै आएका वाणिज्य बैङ्कहरूले लगानीयोग्य रकम जोहो गर्न फागुन महिनाका लागि ब्याजदर बढाएका छन् ।

माघ महिनाको अन्तिम दिन वाणिज्य बैङ्कहरूले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको ब्याजदरअनुसार वाणिज्य बैङ्कहरूको अधिकतम ब्याजदर ११.०३ प्रतिशत पुगेको छ ।

वाणिज्य बैङ्कहरूको छाता सङ्गठन नेपाल बैङ्कर्स एसोसिएसनले फागुनदेखि निक्षेपको ब्याजदर बढाउने सहमति गरेको थियो । एसोसिएसनको शुक्रबार बसेको बैठकको निर्णयअनुसार फागुन १ गतेदेखि वाणिज्य बैङ्कहरूले व्यक्तिगत मुद्दतीमा ११.०३ प्रतिशत र संस्थागतमा १०.०३ ब्याजदर लागू हुने भएको छ । साथै साधारण बचत खातामा व्यक्तिगत मुद्दती खातामा भन्दा ५ प्रतिशतभन्दा कम र कल निक्षेपमा ३.०१५ प्रतिशत निर्धारण गरिएको छ ।

एसोसिएसनले राष्ट्र बैङ्कले दिएको ब्याजदरसम्बन्धी निर्देशनको पालना गर्दै अघिल्लो महिनाभन्दा औसतमा १० प्रतिशत बढी फागुन महिनामा बढाइएको जनाएको छ ।

राष्ट्र बैङ्कको निर्देशनअनुसार वाणिज्य बैङ्कहरूले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशतसम्म ब्याजदर बढाउन पाउने सहमति गरे पनि ब्याजदर बढाउनेरनबढाउने निर्णय भने बैङ्क स्वयंकै हुनेछ ।

तर आफ्नो निक्षेप अर्कोमा जाने जोखिमलाई मध्यनजर गर्दै बैङ्क तथा वित्तीय संस्था अहिलेको अवस्थामा ब्याजदर अधिकतम बिन्दुसम्मै बढाउने प्रस्ट देखिएको छ ।मङ्सिर महिनामा बढाएको निक्षेपको ब्याजदर पुस र माघ महिनामा पनि सोही कायम गरेका वाणिज्य बैङ्कहरूले फागुनमा बढाएका हुन् । ब्याजदर बढाए पनि निक्षेप सङ्कलन नहुने र बढेको ब्याजदरले खर्च मात्र बढाउने भन्दै दुई महिना वाणिज्य बैङ्कहरूले ब्याजदर तटस्थ राखेका थिए ।फागुनका लागि भने एसोसिएसनलाई राष्ट्र बैङ्ककै उच्च व्यवस्थापनबाट निक्षेपको ब्याजदर बढाउन दिइएको सुझाव अनुसार ब्याजदर बढाइएको हो ।

विकास बैङ्क र फाइनान्सले पनि बढाए

बैङ्कर्स एसोसिएसनले ब्याजदरलाई खुला छोड्ने निर्णय गरेपछि विकास बैङ्क र फाइनान्स कम्पनीले पनि संस्था आफैँलाई ब्याजदर निर्धारण गर्न खुला छोडेका छन् ।विकास बैङ्कहरूले पनि बैङ्क आफैँले नै ब्याजदर तोक्न पाउने गरी सहमति गरेका छन् । बैङ्कले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११.६५ प्रतिशतसम्म बढाउन पाउने सहमति गरेका छन् भने फाइनान्स कम्पनीले पनि केन्द्रीय बैङ्कको नियममा रहेर संस्था आफँैले ब्याजदर तोक्न पाउने सहमति गरेका छन् । फाइनान्स कम्पनीले राष्ट्र बैङ्कको नियमअनुसार अधिकतम ११.७१ प्रतिशतसम्म कायम गर्न पाउने गरी निर्णय गरेका हुन् ।

उद्योग क्षेत्र थप धराशायी हुने आशङ्का

वाणिज्य बैङ्कहरूले फागुन महिनाका लागि ब्याजदर बढाएपछि नेपाल उद्योग वाणिज्य महासङ्घले भने ब्याजदर वृद्धिको निर्णय स्थगन गर्न आग्रह गरेको छ । महासङ्घले निक्षेपको ब्याजदर वृद्धि नगर्न आग्रह गर्दै भनेको छ, कोभिडका कारण साना ठूला सबै प्रकारका उद्योग व्यवसाय यतिखेर अत्यन्त कठिन अवस्थाबाट गुज्रिरहेका छन् । एकातिर उद्योग व्यवसाय कोभिडपूर्वको अवस्थामा सञ्चालन हुन सकेका छैनन् भने उत्पादित वस्तुको बिक्री वितरणबाट उठनुपर्ने रकमसमेत बजारबाट उठन सकिरहेको
अवस्था छैन ।

बैङ्किङ क्षेत्रबाट उद्योग व्यवसायलाई पूर्ण रूपमा सञ्चालन गर्ने कार्यमा सहयोगको अपेक्षा भइरहेको अवस्थामा निक्षेपमा ब्याज वृद्धिको निर्णयबाट उद्योग व्यवसाय क्षेत्र थप सशङ्कित भएको महासङ्घको भनाइ छ ।

बैङ्किङ क्षेत्रबाट विगतमा भएका सकारात्मक पहलको निजी क्षेत्रले सदैव स्वागत गरेको जनाउँदै महासङ्घले अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्र र उद्योगी व्यवसायीले लिएको ऋणको ब्याजदर पुनः बढेमा यो क्षेत्र थप धराशायी हुने र सम्पूर्ण उद्योगी व्यवसायी सडकमा आउने परिस्थिति सिर्जना हुने हो कि भन्नेमा निजी क्षेत्रको चिन्ता रहेको जनाएको छ ।

हरेक त्रैमासमा निक्षेपमा ब्याजदर वृद्धि हँुदै जाने प्रथा कायम हुने हो भने मुलुकभित्र उद्योग व्यवसाय गर्न सम्भव नभएको भन्दै महासङ्घले यसरी ब्याजदरमा अस्थिरता कायम रहँदा मुलुकमा व्यावसायिक लागत प्रक्षेपण गर्न सक्ने अवस्थासमेत नहुने जनाएको छ ।

विगतका अनुुभवसमेतलाई हेर्ने हो भने पनि ब्याजदर वृद्धिबाट तरलता समस्या समाधान नहुनेमा बलियो विश्वास रहेको भन्दै महासङ्घले ब्याजदर वृद्धिलगायतका कारणबाट उद्योग व्यवसाय क्षेत्र चौतर्फी दबाबमा पर्दा यसको प्रत्यक्ष असर मुुलुकको उत्पादन र अर्थतन्त्रमा पर्ने जनाएको छ ।

व्यापार घाटाको दायरा निकै बढिरहेको अवस्थामा, पछिल्लो पटक निक्षेपमा ब्याजदर वृद्धिको निर्णयबाट कर्जाको ब्याजदर वृद्धि हुन गई उद्योग व्यवसाय थप शिथिल हुने र त्यसले आन्तरिक उत्पादन नै ठप्प हुन जाने अवस्था आउनेतर्फ महासङ्घले सरकार र नेपाल राष्ट्र बैङ्कको ध्यानाकर्षण गराएको छ ।

यसर्थ अनपेक्षित रूपमा गरिएको निक्षेपमा ब्याजदर वृद्धिको निर्णयले आधार दर वृद्धि हुन गई ऋणको ब्याजदरमा समेत वृद्धि हुने आशङ्का गर्ने ठाउँ पर्याप्त देखिएकाले तत्काल उक्त निर्णय स्थगन गर्न महासङ्घ राष्ट्र बैङ्कसमक्ष आग्रह गरेको छ । साथै थलिएका उद्योग व्यवसायलाई सुसञ्चालन गर्ने वातावरण बनाउन सरकार, राष्ट्र बैङ्क र बैङ्किङ क्षेत्रसँग आग्रह गर्दै यसका लागि निरन्तर संवाद र सहकार्यमा रहन महासङ्घले सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *