राष्ट्रिय वाणिज्य बैंकको ५७ औं वार्षिकोत्सव कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न

news-details

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७औं वार्षिकोत्सव समारोह अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आथित्यतामा सम्पन्न भएको छ । बैंकले कोभिड–१९ का कारण आज सोमबार भर्चुअल माध्यमबाट वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा अर्थमन्त्री शर्माले वित्तीय व्यवस्थापन आफैमा चुनौतीपूर्ण भएतापनि राष्ट्रिय वाणिज्य बैंकले चुनौतीको सामना गरी व्यवसायीक रुपमा अगाडी बढिरहेको बताए । उनले बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी राष्ट्र निर्माणमा थप योगदान गर्नुुपर्ने बताउँदै बैंकले आगामी दिनमा प्रविधिमार्फत दिइने बैंकिङ्ग सेवामा ग्राहकको आकांक्षा बमोजिम थप कार्य गर्नुपर्ने औल्याए ।

अर्थमन्त्री शर्माले कार्यक्रममा USSD मोवाइल बैंकिङ्गको Display गरी सेवा शुभारम्भ गर्दै यसले इन्टरनेट नभएको स्थानमा पनि वित्तीय पहँुचको विस्तार हुने बताए । यस्तै उनले बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क स्मारिका उपहार–२०७८ पनि भर्चुअल माध्यमबाट विमोचन गरेका थिए ।

बैंकले आजैबाट सीमित कारोबारको लागि शाखामा जान नपर्ने गरी बैंकको मोवाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकहरुले दुई लाख रुपैंयासम्मको नगद भुक्तानी लिन सक्ने गरी सबै शाखा कार्यालयहरुको काउण्टरमा स्मार्ट क्यूआर टेलर सेवाको पनि शुभारम्भ गरेको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको समग्र स्थितिमा सुधारको लागि विगतमा आफुसमेत सहभागी भई कदमहरु चालिएकोले बैंकका वित्तीय अवस्था र सेवाको गुणस्तरमा सुधार भई उत्पादकत्व बढेको र पुनः आउनसक्ने चुनौतीको सामना गर्न बैंक तयार भईरहनुपर्ने बताए । उनले सो अवसरमा बैंक तथा वित्तीय संस्थालाई तल्लोवर्गका नागरिकको जीवनस्तर उकास्ने गरी लगानी गर्न आग्रह पनि गरे ।

बैंक संचालक समितिका अध्यक्ष डा.बलराम पाठकले आफ्नो वित्तीय अवस्था तथा परिसूचकहरु उत्कृष्ट रूपमा प्रस्तुत गर्न सफल यो बैंक बैकिङ क्षेत्रका सबै क्षेत्रमा नेतृत्वदायी भूमिका वहन गर्न सफल भएको बताए ।

यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराउँदै बैंकले डिजिटल सेवालाई जोड दिईरहेको बताए । उनले २०७७ पुस मसान्तसम्म बैंकले २ खर्ब ४५ अर्ब रुपैंया निक्षेप संकलन गरी २ खर्ब १४ अर्ब रुपैंया कर्जा लगानी गरेको बताए ।

कार्यक्रममा रा.वा.बैंक कर्मचारी संघ नेपालका का.वा.अध्यक्ष रामप्रसाद जोशी, नेपाल वित्तीय संंस्था कर्मचारी संघ, रा.वा.बैंकका बरिष्ठ उपाध्यक्ष मिलनबाबु नेपाल, नेपाल राष्ट्रिय कर्मचारी संगठन, रा.वा. बैंकका अध्यक्ष दिपेन्द्र कार्कीले शुभकामना व्यक्त गरेका थिए ।

आज भन्दा ५७ वर्ष अघि २०२२ साल माघ १० गते मुलुकको आर्थिक क्षेत्रकोे विकासमा टेवा पु¥याउने उद्धेश्यका साथ स्थापना भएको यो वैंक देशको सातैवटा प्रदेशमा ७७ वटै जिल्लामा पुग्ने पहिलो वाणिज्य बैंक हो । हाल देशभर बैंकका २५८ वटा शाखा कार्यालय, २४५ वटा ए.टि.एम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ स्थानमा शाखारहित बैंकिंग सेवा संचालनमा रहेका छन् ।

कार्यक्रममा कर्मचारी सम्मान कार्यक्रम तथा बैंकमा २० वर्ष सेवा पूरा गरेका कर्मचारीहरुलाई दीर्घसेवा पदक घोषणा गरिएको थियो ।

यस्तै ५७ औं वार्षिकोत्सवको अवसरमा गत माघ ५ गते आयोजना गरिएको रक्तदान कार्यक्रममा देशैभरिबाट २४९ जना रक्तदाताहरुले रक्तदान गरेको पनि बैंकले जानकारी दिएको छ ।

बार्षिकोत्सव कार्यक्रममा अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेती, अर्थ सचिव मधुकुमार मरासिनी, राजश्व सचिव कृष्णहरि पुष्कर, डेपुटी गभर्नरहरु, शेयरधनीहरु, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु, बैंक संचालक समितिका सदस्यहरु, विभिन्न संस्थानहरुका प्रमुखहरु, बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्धय कविराज अधिकारीे, देवेन्द्ररमण खनाल, उपकार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, ब्राण्ड एम्बासडर एवं मिस नेपाल नम्रता श्रेष्ठ, विभागीय प्रमुखहरु, शाखा प्रबन्धकहरु लगायत कर्मचारीहरुको भर्चुअल माध्यमबाट उपस्थिति रहेको थियो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *