निजी क्षेत्रका लागि आवश्यक सहजीकरण गर्न तयार छौँ : प्रधानमन्त्री देउवा

news-details

प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको लगानी अभिवृद्धिमा आफूले सधैँ सहयोग गर्ने बताउनुभएको छ ।

नेपाल उद्योग परिसङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले औद्योगिक विकासका लागि निजी क्षेत्रले लगानी वृद्धि गर्नुपर्ने भन्दै त्यसको सहजीकरणका लागि आफू तयार रहेको बताउनुभयो ।

“हाम्रो पार्टीले निजी क्षेत्रलाई सधैँ प्रवद्र्धन गरेको छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “तपाईंहरूलाई आवश्यक पर्ने नीतिगत सहजीकरणका लागि हामी तयार छौँ ।”

उहाँले परिसङ्घले अघि बढाएको ‘मेक इन नेपाल-स्वदेशी’ अभियान नेपालको अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउन औजार बन्ने विश्वास व्यक्त गर्नुहुँदै नेपाली वस्तुको उत्पादन र उपभोग बढाउन यस अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले कोभिडले निम्त्याएको सङ्कटसँग जुध्न सरकारले सबै संयन्त्रको प्रयोग गरिरहेको पनि बताउनुभयो । “कोभिडले निम्त्याएको जटिलता नै सबैभन्दा ठूलो चुनौती हो”, उहाँले भन्नुभयो ।

भेटमा परिसङ्घका अध्यक्ष शतिशकुमार मोरले प्रधानमन्त्री देउवालाई बधाई ज्ञापन गर्दै निजी क्षेत्रले सरकारबाट ठूलो अपेक्षा गरेको बताउनुभयो । उहाँले नीतिगत सहजीकरणमार्फत लगानी अभिवृद्धिको वातावरण बनाउन पनि आग्रह गर्नुभयो ।

“आयातमुखी नेपाली अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन हामी प्रयासरत छौँ”, उहाँले भन्नुभयो, “यसका लागि सरकारले नीतिगत र प्रक्रियागत सहजीकरण गरिदिनुपर्छ ।” अध्यक्ष मोरले नीतिगत स्थिरताले लगानी बढाउन सहयोग गर्ने भन्दै सरकारले त्यसमा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

परिसङ्घका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन र यसको नेतृत्व गर्न निजी क्षेत्र सक्षम रहेको भन्दै त्यसमा सरकारले साथ दिनुपर्ने बताउनुभयो ।

यसैगरी परिसङ्घका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले विद्यमान सङ्कटसँग जुध्न कोभिडविरुद्धको भ्याक्सिन आवश्यक भएको भन्दै त्यसको उपलब्धतामा सरकारले ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा परिसङ्घका उपाध्यक्षहरू निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, सुलभ अग्रवाल र वीरेन्द्रराज पाण्डे एवं महानिर्देशक यादवप्रसाद पौड्याल लगायतको उपस्थिति थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *