बैङ्क तथा वित्तीय संस्थाहरूले बिदाका दिनमा कार्यालय खोल्नुपर्ने

news-details

वर्षको चार महिना बैङ्क तथा वित्तीय संस्थाहरूले सार्वजनिक बिदा र अन्य बिदाका दिनमा पनि कार्यालय खोल्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले परिपत्र जारी गरेर असोज, पुष, चैत र असारमा सबै सार्वजनिक बिदाका दिनमा पनि कार्यालयहरू खोल्न निर्देशन दिएको हो ।

यी महिनाका २५ गते र त्यसपछि मसान्तसम्म राजस्व सङ्कलन हुने भएकाले बैङ्कका शाखाहरू खोल्न राष्ट्र बैङ्कले निर्देशन दिएको हो ।

चेक क्लियरिङ गर्ने प्रयोजनका लागि अन्य बैङ्क तथा वित्तीय संस्था एवं नेपाल क्लियरिङ हाउस पूर्णकालीन रूपमा खुला गरी राजस्व बुझ्ने व्यवस्था गर्न र गराउन राष्ट्र बैङ्कले जारी गरेको परिपत्रमा उल्लेख छ ।

कर्मचारीलाई थपियो बिदा

यता बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीले आगामी वर्षभर ३२ दिन बिदामा पाउने भएका छन् । राष्ट्र बैङ्कले नयाँ वर्ष २०७८ मा कर्मचारीले ३२ दिन बिदामा बस्न पाउने व्यवस्था गरेको छ ।

राष्ट्र बैङ्कको जनशक्ति व्यवस्थापन विभागले नयाँ वर्ष २०७८ मा बैङ्क बिदाको सूचनामा बैङ्कका कर्मचारीहरूले एक वर्षमा ३२ दिन घर बस्न पाउने व्यवस्था गरेको हो ।

राष्ट्र बैङ्कका अनुसार एक वर्षमा ३२ दिन बैङ्क बन्द हुने भएका छन् भने सरकारी बिदा र कर्मचारीको संस्कृति वा उनीहरूले मनाउने पर्वअनुसार उनीहरू बिदा
लिन पाउने छन् । नयाँ वर्ष २०७८ को वैशाखमा १ गते देशभरका बैङ्कहरूमा बिदा दिइएको छ ।

राष्ट्र बैङ्कका अनुसार वैशाखमा दुई दिन, जेठमा दुई दिन, भदौमा तीन दिन, असोज नौ दिन, कात्तिकमा छ दिन, मङ्सिरमा दुई दिन बिदा दिइएको छ भने पुषमा बिदा दिइएको छैन । फागुनमा तीन दिन र चैतमा चार दिन बिदा दिइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *