पूर्वाधार रणनीति बनाउन भेला भए सुदूरपश्चिमका ३४ नगरपालिका प्रमुख

दीगो र नतिजामुखी विकासमा जुट्न मुख्यमन्त्रीको आग्रह
news-details

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समृद्धिको मुख्य बाधक नै वर्तमान विकासको मोडल भएको बताएका छन् । नगर विकास कोषले आयोजना गरेको प्रादेशिक कार्यशाला गोष्ठीमा सहभागी सुदूरपश्चिमका नगर प्रमुखहरुलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले व्यक्तिवादी विकास मोडल भन्दा दीगो र नतिजामुखी विकास आवश्यक रहेको बताए ।

मुख्यमन्त्री भट्टले संघ सरकारको वित्तीय वितरण प्रणाली नै बाधक रहेको जिकिर पनि गरे । उनले नगरपालिकाहरुले अब आन्तरिक आम्दानीको श्रोत आफैंले जोहो गर्न आग्रह गरे । सदूरपश्चिम विकासको दृष्टिले पछाडि परेकाले विशेष चासो दिन नगर विकास कोषलाई मुख्यमन्त्री भट्टले आग्रह गरे ।

आन्तरिक श्रोत कमजोर भएका पालिकाहरुलाई थप सबल बनाउँदै पालिकाको आय र रोजगार बढाउने तथा सम्भावना भएर पनि श्रोतको अभाव खेपिरहेका नगरपालिकाहरुलाई पूर्वाधार निर्माणमा सहयोग गर्न नगर विकास कोष सुदूरपश्चिम पुगेको कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले बताए ।

सुदूरपश्चिमका ३४ वटा नगरपालिकाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा कोषका कार्यकारी निर्देशक सापकोटाले अनुदानबाट मात्रै विकास गर्ने मान्यतालाई त्याग्न नगर प्रमुखहरुलाई अनुरोध गरे । उनले सामाजिक पूर्वाधार निर्माण अनुदानबाट गरे पनि व्यावसायिक र आर्थिक पूर्वाधार ऋण र अनुदानबाट निर्माण गर्ने सोच राख्नुपर्ने बेला आइसकेकेको बताए ।

आन्तरिक श्रोत बढाउन नसकेर खर्च कटौती गर्नुपर्ने अवस्थामा आइसकेका नगरपालिकाका नगर प्रमुखहरुलाई सम्वोधन गर्दै नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुले सस्तो लोकप्रियताका लागि कर मिनाहा नगरी व्यवसायिक योजना निर्माणमा लाग्न आग्रह गरे ।

नगर विकास कोषको सञ्चालक समितिका सदस्य समेत रहेका अध्यक्ष व्याञ्जुले नगरको पूर्वाधारमा ऋण सहयोग लिएर जनताको समृद्धिको सपना पुरा गर्न नगर प्रमुखहरुको ध्यानाकर्षण गरे ।

गोष्ठीमा विभिन्न नगरपालिकाहरुले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) प्रस्तुत गरेका थिए । प्रस्तुत परियोजनाको तुरुन्तै सम्भाव्यता अध्ययन गरेर लगानी गरिने कोषका कार्यक्रम निर्देशक सुवास राज पन्तले जानकारी दिए ।

नगर विकास कोषले सुदूरपश्चिमसँगै सातै प्रदेशमा दुईदिने बृहत कार्यशाला गोष्ठी गर्दैछ । २० फागुनमा कर्णाली प्रदेशको सुर्खेतमा गोष्ठी आयोजना हुने नगर विकास कोषले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *