६९औँ अन्तर्राष्ट्रिय भन्सार दिवस : आजदेखि राष्ट्रिय एकद्वार प्रणाली शुरु, कागजरहीत प्रक्रिया बनाइने

news-details

अन्तर्राष्ट्रिय व्यापारलाई सरलीकृत गर्न भन्सार प्रक्रियासँग सम्बन्धित सबै निकायलाई आबद्ध गराउने गरी आजदेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली शुरु भएको छ ।

६९औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार विभागले तयार गरेको उक्त प्रणाली आज सार्वजनिक भएको हो । डेढ वर्षअघिदेखि भन्सार विभागले निर्माण गरिरहेको उक्त प्रणाली पहिलो पटक कार्यान्वयनमा आउन लागेको हो ।

विभागका अनुसार यो प्रणालीमा पहिलो चरणमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वारेन्टाइन केन्द्र आबद्ध हुनेछन् । भन्सार प्रक्रियालाई कागजरहित बनाउँदै सरल बनाउने उद्देश्य राखिएको यो प्रणालीमा सरकारी र निजी क्षेत्रका ४० वटा निकाय आबद्ध हुनेछन् ।

यो प्रणालीअन्तर्गत निर्माण हुने वेब पोर्टलमार्फत व्यापारीले आफूसँग सम्बन्धित कागजात अनलाइनमै पेश गर्न सक्नेछन् । त्यसरी पेश गरिएको कागजात र त्यससँग सम्बन्धित विवरण यसमा आबद्ध निकायले समेत प्राप्त गर्न सक्नेछन् ।

यससँगै फरक(फरक निकायलाई कागजात बुझाउनु पर्ने बाध्यताबाट व्यापारी मुक्त हुने बताइएको छ । अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित तथ्याङ्क तथा प्रतिवेदन प्रणालीलाई थप स्तरीय बनाउन र विद्युतीय भुक्तानी प्रणाली विकासमा पनि यो प्रणाली सहयोगी हुने भन्सार विभागको भनाइ छ ।

आफूलाई प्राप्त युजरनेम र पासवर्डका आधारमा व्यापारसँग सम्बन्धित सबै कागजातको विवरण व्यापारीले त्यहीँ उपलब्ध गराउन सक्छन् । कर्मचारीको अनुहार नै नहेरी काम हुने वातावरण यसले बनाउँछ ।

सन् २०१३ मा यस्तो प्रणाली लागू गर्न विश्व बैङ्क र नेपाल सरकारबीच सम्झौता भए पनि विगत केही महिनायता मात्र यसको कार्यान्वयनका लागि तयारीका काम अगाडि बढेको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *