मेगा बैंकले शुरू गर्यो डिजिटल भुक्तानीका लागि ‘कर्पोरेट–पे’ सेवा

news-details

मेगा बैंक नेपालले आफ्ना संस्थागत ग्राहकका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट–पे’ प्रणालीको शुरूवात गर्ने भएको छ ।

मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेली तथा नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

बैंकले आफ्ना व्यावसायिक ग्राहकहरूलाई प्रदान गर्ने उक्त डिजिटल माध्यममार्फत ग्राहकहरूले बैंकमा नगईकनै रकम स्थानान्तरण, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरू आफ्नो खाताबाटै सजिलै गर्न सक्ने छन् ।

उक्त प्रणाली मार्फत कनेक्ट आईपीएस अथवा एनसीएचएल–आईपीएसमा रियल–टाइम वा नन–रियलटाइममा समेत भुक्तानीसम्बन्धी कारोबारहरू गर्न सकिने बैंकले जनाएको छ ।

‘कर्पोरेट–पे’मा आबद्व हुनका लागि ग्राहकले मेगा बैंकमा सम्पर्क गरी ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवातको लागि स्वीकृति लगायतका आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने छ । त्यसपश्चात ग्राहकहरूले तोकिएको सीमाभित्र रही कुनै पनि भुक्तानीहरू बैंकको प्रत्यक्ष संलग्नताबिना गर्न सक्ने छन् भने तोकिएको सीमाभन्दा बढी रकमको कारोबार गर्नका लागि बैंकले नियमानुसार थप प्रक्रिया पूरा गरेपश्चात् गर्न मिल्ने व्यवस्था रहेको छ ।

यो प्रणालीमा पहुँच पाउन ‘मल्टीलेयर अथेन्टीकेशनको सुरक्षित व्यवस्था गरिएको छ भने कुनै पनि कारोबार प्रविष्ट तथा स्वीकृत ग्राहक आफैले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरूले मात्र गर्न पाउने गरी यस प्रणालीमा सुरक्षाको व्यवस्था मिलाइएको छ । साथै, ग्राहकले आवश्यक्ता अनुसार यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरू पनि लिन्क गरी कारोबार गर्न सकिने प्रावधान रहेको छ ।

आफ्ना ग्राहकहरूका लागि विभिन्न डिजिटल भुक्तानी माध्यामहरू प्रदान गर्दै आएको मेगा बैंकले यस कर्पोरेट–पे प्रणालीको सुरुवातबाट बैंकका व्यावसायिक ग्राहकहरूलाई डिजिटल भुक्तानीको सेवा प्रदान गर्न थप टेवा पुग्ने विश्वास लिएको छ ।

यस प्रणालीको प्रयोग र विस्तार पश्चात् बैंकको शाखा कार्यालयमा उपस्थित नभई विभिन्न भुक्तानीको कारोबारहरू अनलाइन मार्फत नै गर्न सकिने हुँदा व्यावसायिक ग्राहकहरूलाई अझ बढी सहज हुने बैंकले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *