उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

अब प्यानल तोडेर व्यवसायीको हितमा काम गर्छौ : ढकाल
news-details

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी हुनुभएको छ ।

आज बिहान सकिएको मतगणनाको अन्तिम नतिजाअनुसार प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी हुुनभएको हो ।

महासंघमा जिल्ला नगरतर्फको मतको ५० प्रतिशत हिस्सा रहेको समूहमा कुल १ सय ५ मत खसेकोमा ढकालले ५२ मत प्राप्त गर्नुभयो भने प्रधानको पक्षमा ५३ मत परेको छ ।

त्यस्तै, ३० प्रतिशत हिस्सा रहेको एशोसियटमा ८ सय ९७ सदर मतमध्ये ढकालले ५ सय २२ मत ल्याउँदा प्रधानको पक्षमा ३ सय ७५ मत परको छ ।

२० प्रतिशत हिस्सा रहेको वस्तुगतमा कुल ९८ सदर मतमा ढकालले ५९ र किशोर प्रधानले ३९ मत ल्याउनु भएको छ । वरिष्ठ उपाध्यक्षमा विजयी हुन ५० प्रतिशत भन्दा बढी मतभार चाहिन्छ ।

यसमा ढकालले ५४ दशमलव २६ मतभार प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी प्रधानले बाँकी रहेको ४५ दशमलव ७४ प्रतिशत मतभार प्राप्त गर्नुभयो ।

निजी क्षेत्रको छाता संगठन महासंघको नयाँ नेतृत्वका लागि हिजो मतदान भएको थियो भने साँझदेखि मतगणना सुरु भएको थियो ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएकाले सो पदलाई आकर्षक मानिन्छ । यो साधारणसभाले शेखर गोल्छा स्वतः अध्यक्ष चयन गरिसकेको छ ।

वरिष्ठ उपाध्यक्षका लागि ढकाल र प्रधान प्यानल नै बनाएर निर्वाचनमा उत्रिएका थिए ।

महासंघको नयाँ नेतृत्वका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १२७ जनाले उम्मेदवारी दिएका थिए ।

कार्यकारिणी सदस्यतर्फ यसअघि नै राजेन्द्र राउत र सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका थिए भने वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ तथा एशोसिएटतर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघाई निर्वाचित भएका छन् । महासंघमा वस्तुगततर्फ १ सय १, जिल्ला तथा नगरमा १सय ५ र एशोसिएटतर्फ ९ सय ३ मतदाता रहेका थिए ।

निर्वाचित भएपछि संचारकर्मीहरुसँग कुरा गर्दे वरिष्ठ उपाध्यक्ष ढकालले आफुले सम्पुर्ण व्यवसायीहरुको प्रतिनिधित्व गरेको र आफ्नो जित भनेको व्यवसायीको जित भएको प्रतिक्रिया दिनुभयो ।

प्यानल बनाएर निर्वाचनको मैदानमा उत्रिएका उपाध्यक्ष ढकालले मतपरिणाम घोषणा सँगै आफुले प्यानल तोडेर व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो “मैले यो भन्दा पहिला पनि भनेको थिएँ । हामीहरुको पक्ष विपक्ष भनेको १३ गते साँझसम्म मात्रै हो । आजदेखि हाम्रो पक्षविपक्ष भन्दा पनि सम्पुर्ण निजी क्षेत्रको आवाज उठाउने हो । निर्वाचित हामी सबैले व्यवयासीका सम्बन्धमा एउटै आवाज उठाउनेछौँ भन्ने जानकारी गराउन चाहन्छु । निजी क्षेत्रले नियमनकारी निकायसँग गर्ने एड्भोकेसी हामीले गर्नेछौँ । मेरो जित भनेको सम्पुर्ण व्यवसायीक साथीहरुको प्रतिनिधिको रुपमा भएको छ । ”

यस्तै एसोसियट तर्फको उपाध्यक्षमा विजयी रामचन्द्र संघाईले उद्योगहरुमा आइपरेका समस्या र श्रमिकको समस्या समाधानका लागि आफ्नो पहल हुने प्रतिक्रिया दिनुभयो ।
उहाँले निर्यातमुलक उद्योगमा सामेल भएको हुनाले स्वदेशी उत्पादनमा वृद्धि गरि निर्यात बढाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो ।

जिल्ला नगर तर्फको उपाध्यक्षमा बिजयी दिनेश श्रेष्ठले जिल्ला नगर वाणिज्य संघहरुलाई आफैमा सवल र सक्षम बनाउनुको साथै व्यवसायीक ज्ञान वृद्धि लगायत तर्फ आफ्नो पहल हुने बताउनुभयो ।
त्यसैगरी साना व्यवसायी र मझौला व्यवसायीलाई सक्षम र सवल बनाउँदै पूँजीमा पहुँच स्थापित गर्ने तर्फ आफ्नो प्रयास हुने उहाँले उल्लेख गर्नुभयो ।

वस्तुगत तर्फको उपाध्यक्षमा बिजयी अन्जन श्रेष्ठले वस्तुगत संघको विश्वासमा आफुले निर्वाचन जितेकाले उनीहरुका हितका लागि काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले लगानीको अवसर र वातावरण संगै सुरक्षाको वातावरण मिलाउने कामका लागि विशेष पहल गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “कोरोनाको कहर सकिएको छैन । विस्तारै जनजीवन सामान्य र व्यवसाय पनि चल्दै गएको छ । कोरानो बढ्दै गएमा आर्थिक वृद्धि ऋणात्मक हुनेछ ।

यसमा निजी क्षेत्रको सबै भन्दा ठूलो भूमिका छ । सरकारले केही गर्दैन भन्ने बुझिसकिएको छ । सरकारसँग सिमित साधन र स्रोत छ । सरकारसँग हामीले लगानी गर्ने अवसर र वातावरण खोज्ने हो । त्यसका लागि नीतिगत स्पष्टता र निरन्तरता चाहिन्छ । लगानीका लागि वातावरण हुनुपर्यो । लगानी सुरक्षा हुनुपर्‍यो । सम्पुर्ण वस्तुगत संघहरु र सम्पुर्ण उद्योमी व्यवसायीको समस्या यही हो । यही समस्यालाई हामीले समाधान गर्न तर्फ अगाडि जाने हो । ”

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *