उद्योग वाणिज्य महासंघको साधारण सभा आजदेखि सुरु हुँदै, निर्वाचन कार्यक्रम शनिबार

news-details

नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ वार्षिक साधारण सभा बिहीबारदेखि सुरु हुँदै छ । गत चैत अन्तिम साता हुनुपर्नेमा कोरोना महामारी र बन्दाबन्दीका कारण दुईपटक स्थगित हुँदै आजदेखि सुरु हुन लागेको हो ।

कोरोना सङ्क्रमणकै जोखिमका कारण साधारण सभाको उद्घाटनलगायत औपचारिक कार्यक्रम यसपटक अभौतिक रूपमा सम्पन्न गर्न लागिएको छ भने निर्वाचन कार्यक्रम आगामी शनिबार राजधानीमै गर्न लागिएको छ ।

महासंघको वैधानिक प्रावधान अनुरूप यो साधारण सभाले महासंघको अध्यक्षता वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई हस्तान्तरण गर्नेछ । विधानअनुसार वरिष्ठ उपाध्यक्ष कार्यकालपछि स्वतः महासंघको अध्यक्ष बन्छन् ।

भर्चुअल रूपमा हुने साधारण सभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाटै गर्ने कार्यक्रम रहेको महासंघ सचिवालयले जनाएको छ ।

बन्दसत्रको कार्यक्रम शुक्रबार पनि अभौतिक रूपमै हुनेछ । बन्दसत्रमा महासंघको आर्थिकलगायत विभिन्न प्रतिवेदन पेस गर्ने र पास गर्ने कार्यक्रमसहित निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरूले नीतिगत मन्तव्यसमेत राख्ने छन् ।

निर्वाचनको कार्यक्रम भने शनिबार तीन स्थानमा राखिएको छ । सचिवालयका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानमा जिल्ला नगर समूहको मतदान हुनेछ भने बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा एसोसिएट समूहको मतदान केन्द्र राखिएको छ । वस्तुगततर्फको मतदान भने टेकुस्थित महासंघ सचिवालय परिसरमै गर्ने निर्धारण गरिएको छ ।

महासंघको नयाँ पदाधिकारीका लागि वरिष्ठ उपाध्यक्ष पदमा व्यवसायी चन्द्र ढकाल र किशोर प्रधानले उम्मेदवारी दिनुभएको छ । दुवै उम्मेदवारले यसपटक पूरै प्यानलसहित उम्मेदवारी दर्ता गराउनुभएको छ ।

ढकाल समूहबाट जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी, एसोसिएटमा रामचन्द्र सङ्घई र वस्तुगतमा उमेशलाल श्रेष्ठले उम्मेदवारी दिनुभएको छ । उता प्रधान समूहबाट जिल्ला नगरमा दिनेश श्रेष्ठ, एसोसिएटमा सौरभ ज्योति र वस्तुगतमा अन्जन श्रेष्ठले उम्मेदवारी दिनुभएको छ ।

ढकाल समूहले जिल्ला, नगर र एसोसिएटतर्फबाट अत्यधिक मत आउने आकलन गरिरहेको छ भने प्रधान समूहले आफ्नो पक्षमा रहनुभएका केही पूर्वअध्यक्षको साथका आधारमा समग्र मत पाउने अपेक्षा राखेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *