महासंघमा चुनावी चटारो : ढकालको पक्षमा निर्बिरोध बनाउन पहल

news-details

उद्योगी व्यवसायीहरुलाई यतिबेला कोरोना कहर भन्दा चुनावी रहरले छोपेको छ । निजी क्षेत्रको ठूलो संगठनकोरुपमा चिनिएको नेपाल उद्योग वाणिज्य महासंघको चुनावी महोलले यतिबेला नीजि क्षेत्र मात्र नभएर समग्र महोलनै तताएको छ ।

आगामी मंसिर ११ – १३ गते काठमाडौंमा हुने महासंघको ५४ औं बार्षिक साधारण सभा तथा निर्वाचनमा वरिष्ठ उपाध्यक्षका लागि हालका उपाध्यक्षद्वय किशोर प्रधान र चन्द्र ढकाल चुनावी मैदानमा उत्रिएका छन् ।

अहिले प्रधान र ढकाल समूहले प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् । आफ्नो पक्षमा मत हाँसिल गर्नका लागि दुबै पक्ष जोडतोडले लागेका छन् । यद्यपी महासंघका अग्रजहरु सर्वसम्मत नेतृत्व छान्नका लागि कसरत गरिरहेका छन् ।

सरल, सफल र अब्बल व्यवसायीका रुपमा छवी बनाउन सफल चन्द्र ढकालको पक्षमा सर्बसम्मत बनाउने पहल भइरहेको छ । ढकाल समूहले निकै फराकिलो मतान्तरले विजयी हुने देखेपछि प्रधान समूह सहमतिका लागि पद छोड्न तयार भएको जानकारहरु बताउँछन् । ढकाल समूहको समर्थनमा अधिकांश जिल्ला नगर अध्यक्षहरु रहेका र ढकालकै पक्षमा जनलहर देखिएपछि निर्विकल्प हुने संभावना अधिक छ ।

महासंघमा दुई पटक कार्यकारिणी समितिको सदस्य र उपाध्यक्ष भएका ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान महासंघमा छ । बैंकिङ, रेमिट्यान्स, अटोमोबाइल, जलविद्युत र केवलकारलगायत क्षेत्रमा आफ्नो लगानी विविधिकरण गरेका ढकाल आईएमई गु्रपका अध्यक्ष पनि हुन् ।

‘ हाम्रो व्यावसायिक नेटवर्क ७७ जिल्ला, नगर तथा टोलसम्म पुगेको छ । रेमिट्यान्स, बैंक, इन्स्योरेन्स, पर्यटन, सूचनाप्रविधि, ऊर्जा र मोटर्सलगायत धेरै क्षेत्रमार्फत जिल्ला नगरका व्यवसायी साथीहरूसँग हामी जोडिएका छौं । मेरो यही व्यावसायिक नेटवर्ककै माध्यमबाट अहिले सबै जिल्ला तथा नगर, एसोसिएट तथा वस्तुगतका सबै क्षेत्रमा निकै राम्रो अवस्था छ, यसले मेरो जितलाई सुनिश्चत गरिसकेको छ ।’ ढकाल ढुक्क साथ भन्छन् ।

‘म उपाध्यक्ष भएदेखि नै महासंघकै काम र कार्यक्रमहरूमा नेपालभर निरन्तर पुगेको छु, सबैका समस्या, गुनासा र अप्ठेराहरू मात्र नभएर उहाँहरूका सुख र दुःखका धेरै अनुभव गर्न पाएको छु ।’

महासंघमा बसेर व्यवसायीका मर्मलाई नजिकबाट बुझेका सबैका प्रिय ढकाल नेतृत्वका लागि अब्बल पनि छन् । त्यही भएर उनी भन्छन्–‘म अहिले एसोसिएट उपाध्यक्ष हो । मेरो महासंघको यात्रालाई हेर्ने हो भने म कि त सर्वसम्मत रूपमा आएको छु कि अत्याधिक बहुमतले विजयी भएको छु ।’

ढकाल समूहले देश दौडाहका क्रममा पाएको समर्थनले समेत उनको जीत सुनिश्चित गर्दछ । हरेक प्रदेशमा भएका कार्यक्रममा ढकाल समूहको पक्षमा देखिएको जनलहर त्यही पुष्टी गर्दछ ।

जिल्ला भ्रमणपछि काठमाडौं आएर ढकाल ढुक्क साथ भन्छन्–‘ अहिलेसम्मकै महासंघको इतिहासमा जिल्लारनगरका धेरैभन्दा धेरै साथीहरूले रुचाएको र अपेक्षा गरेको उम्मेदवार हुँ । र, वस्तुगतको कुरा गर्दा हाम्रो व्यवसाय धेरै सेक्टरमा रहेको छ । धेरै वस्तुगतका अध्यक्षज्यूहरूले मलाई नै समर्थन र सहयोग गर्नुभएको छ । यसले गर्दा समग्रमा भन्नुपर्दा मलाई त मेरो कुनै प्रतिस्पर्धा नै छैन भन्ने लाग्छ । मेरो जित सुनिश्चित भइसकेको छ ।’ धेरै जिल्ला नगरका अध्यक्षले ढकाललाई भोट हाल्ने खुला समारोहमै उद्घोष गरिसकेका छन् ।

‘म साना मझौला व्यवसायीको पीडादेखि ठूला उद्योगी व्यवसायीसम्मका पीडालाई सहजै बुझ्न सक्छु र तिनको समाधानका लागि नीति निर्माताका ढोकासम्म पु¥याउने क्षमता राख्दछु । यति मात्र नभई अन्तर्राष्ट्रिय अनुभवका आधारमा मैले राज्य र निजीक्षेत्रको साझेदारीमा आर्थिक विकास गर्न सकिन्छ भनेर राज्यलाई ठोस, वस्तुपरक र व्यावहारिक सुझाव दिने क्षमता राख्दछु ।’ ढकालको दावी छ ।

उद्योग व्यवसायीहरुमा लगानीमैत्री वातावरण, श्रम सम्बन्ध, जग्गाप्राप्ति, वातावरण, भन्सार तथा करका दरहरूलगायत समग्र क्षेत्रमा पुनर्संरचना आवश्यक रहेको ढकालको भनाई छ ।

गत चैत्रमा नै नयाँ नेतृत्व चयन गर्नु पर्ने महासंघमा कोरोना महामारीका कारण स्थगित हुँदै आएको हो । ‘निर्वाचनअघि हामी फरकफरक प्यानलको रहे पनि निर्वाचनपछि एउटै महासंघको छातामुनि रहेर काम गर्नेछौँ र विगतका तीतामीठा सबै अनुभवलाई बिर्सेर नयाँ चुनौती सामनाका लागि एकतावद्ध भएर अगाडि बढ्नेछौँ ।’ ढकालले भने ।

महासंघभित्रको अहिलेको अवस्थाले समग्र निजीक्षेत्र नै प्रभावित भएकाले अब हार्नेले सबै बिर्सेर जित्नेलाई सहयोग गर्ने र जित्नेले पूर्वाग्रह त्यागेर सबैलाई समेटेर अगाडि बढ्नुको विकल्प छैन । भोलिका दिनमा महासंघले प्रभावकारी ढंगले निजीक्षेत्रको आवाज मुखरित गर्न सक्षम नेतृत्व छान्नुपर्छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *