कामदारमा कोरोना देखिएपछि तातोपानी नाका खुलेको एकदिनमै बन्द

news-details

सातजना कामदारमा कोरोना देखिएपछि सोमबारदेखि खुलेको नाका आजदेखि पुनः बन्द भएको छ ।

बाढी तथा पहिराको कारण करीब तीन महिना बन्द भएको तातोपानी नाका खुलेको एक दिनमै पुनःबन्द भएको हो ।

भन्सार सामग्री लोड अनलोड गर्ने मजदूरमा कोभिड-१९ सङ्क्रमण पुष्टि भएपछि चीनले नाका बन्द गरेको हो । चीनतर्फ सामग्री लोड अनलोड गर्न गएका ३३ मजदूरको स्वास्थ्य परीक्षण गर्दै स्वाब सङ्कलन गरिएकामा सात जनामा सङ्क्रमण देखिएपछि चीनले एकतर्फी रुपमा बन्द गरेको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताउनुभयो ।

नेपालमा परीक्षण गर्दा ती मजदूरको कोरोना रिपोर्ट नेगेटिभ आए पनि चीनतर्फ परीक्षण गर्दा पोजेटिभ देखिएकाले अर्को सोमबारसम्मका लागि आयातनिर्यात बन्द गरिएको हो ।

सबै चालक र मजदूरको पाँचपाँच दिनमा परीक्षण गर्ने क्रममा कोरोना भाइरस देखिएका चार जनालाई सदरमुकाम चौतारास्थित आइसोलशनमा राखेर उपचार गरिँदैछ । ती चार जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ नसकिँदै पुनः तीन जनामा कोरोना पोजिटिभ देखिएपछि सीमा नाका बन्द गरिएको हो ।

यही असोज १३ गते नेपाल-चीन अधिकारीबीच मितेरीपुलमा भएको बैठकमा कोरोना भाइरस नियन्त्रण गर्ने शर्तमा नाका खुलाउने सहमति भएको थियो ।

खासा र न्यालममा अड्किएका डेढ सय कन्टेनर सामान दशैँअघि काठमाडौं पुर्‍याउने योजनानुसार दुवै देशको सहमतिमा नाका खुलेको थियो । आइतबार बेलुकीदेखि सोमबार बिहानसम्म चीनको खासाबाट १२ कन्टेनरबाट लत्ताकपडा, तयारी कपडा सहित केही तयारी सामग्री तातोपानी भित्रिएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *