माथिल्लो तामाकोशीको पैसा फिर्ता नपाएकालाई आवेदन दिन आग्रह

news-details

माथिल्लो तामाकोशीको साधारण शेयरमा आवेदन गरेका दोलखावासीले रकम फिर्ता नपाएको भन्दै गुनासो बढेपछि त्यसलाई सम्बोधन गर्न कम्पनीले आफ्नो दावीसहित आवेदन दिन आग्रह गरेको छ ।

कम्पनीले मंगलबार एक सूचनामार्फत रकम रकमान्तर हुन नसकेका ५२ हजार आवेदकलाई आगामी पुस १ गतेदेखि आवेदन दिन आग्रह गरेको छ । शेयर आवेदकको नाम नमिलेको, बैंक खाता नम्बर नमिलेको, खाता रोक्का रहेका तथा ग्राहक परिचयपत्र नम्बर नबुझाएका र छ महीनाभन्दा बढी समयसम्म कारोवार नभएको खाताले गर्दा आवेदकले रकम प्राप्त गर्न सकेका थिएनन् ।

रकम खातामा फिर्ता नभएका आवेदकको हकमा पुनः तथ्याङ्क रुजु गरी सम्बन्धित व्यक्तिलाई खातालगायत अन्य विवरण सच्याउन कम्पनीले आग्रह गरेको छ । कम्पनीले रकम प्राप्त गर्न नसकेका आवेदकलाई दरखास्त बुझाएकै दोलखाका सङ्कलन केन्द्र तथा काठमाडौँ उपत्यकामा सनराइज क्यापिटल कमलपोखरीमा चेकमार्फत फिर्ता लिन अनुरोध गरिएको छ । चेकमार्फत रकम फिर्ता गर्दासमेत रकम फिर्ता भुक्तानी प्राप्त गर्न नसके सनराइज क्यापिटलमा सम्पर्क राख्न सूचनामा आग्रह गरिएको छ ।

माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले गत साउन १६ गतेदेखि भदौ २१ गतेसम्म आयोजना प्रभावित दोलखावासीका लागि साधारण शेयर बिक्री गरेको थियो। कम्पनीले दोलखावासीलाई रु एक अर्ब पाँच करोड ९० लाख बराबरको शेयर बिक्री गरेको थियो । उक्त शेयरमा दुई लाख ७६ हजार १९४ ले आवेदन दिएका थिए।

रकम फिर्ता नपाएपछि दोलखावासीले गुनासो गर्दै आएका थिए । प्राप्त भएको गुनासो सम्बोधन गर्न कम्पनीले आफूले आवेदन गरेको कागजातसहित सम्बन्धित स्थानमा सम्पर्क राख्न अनुरोध गरेको हो । कम्पनीले दोलखावासीलाई बिक्री गरेको शेयरको बाँडफाँट गत कात्तिक १४ गते नै गरिसकेको छ । कम्पनीले गत कात्तिक १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणलाई बिक्री गरेको साधारण शेयरमा नपरेको रकम फिर्ता गरिसकेको छ । रासस

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *