निजगढ विमानस्थललाई एसियाकै ‘ट्रान्जिट हब’ बनाउने सरकारको तयारी

news-details

काठमाडौ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई देशकै ‘ट्रान्जिट’ विमानस्थलका रूपमा निर्माण गरिने सरकारले जनाएको छ । सञ्चालनमा रहेको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणका क्रममा रहेका पोखरा र भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका आफ्नै सिमितताका कारण निजगढलाई ‘ट्रान्जिट’ विमानस्थलका रूपमा निर्माण गर्ने सरकारको तयारी रहेको छ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय मूल्याङ्नका सम्बन्धमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले नेपालसहित एसियाका विभिन्न देशको ‘ट्रान्जिट हब’का रूपमा निजगढलाई विकास गर्ने योजना रहेको बताए । ‘टीआईएमा ट्रान्जिट छैन अनि भैरहवा र पोखरामा ट्रान्जिट हुन सक्दैन’, उनले भने, ‘निजगढ यस वरपरकै सबैभन्दा ठूलो ट्रान्जिट विमानस्थल बन्न सक्छ ।’

कार्यक्रममा उनले निजगढ देश बदल्ने परियोजना भएकोले यसलाई सकेसम्म समयमै सम्पन्न गर्ने गरी काम अघि बढाइने जानकारी दिए । ‘विश्वमा बनिरहेका ठूला परियोजनामध्ये निजगढ पनि एक हो’, उनले भने, ‘यसले मुलुकको अर्थतन्त्र कायापलट गर्न सक्छ ।’

निजगढ विमानस्थलको निर्माण गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)मा उल्लेख भए अनुसार नै वातावरणमा सकेसम्म कम क्षति पुग्ने गरी काम हुने उनले जानकारी दिए । ‘वातावरण र विकासलाई सँगसँगै लैजानुपर्छ भन्नेमा मन्त्रालय सचेत छु’, उनले भने ‘वातावरणमा न्यूनतम क्षति हुने गरी निर्माणका काम हुन्छन् ।’

२५ सय हेक्टरमा विमानस्थल

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि छुट्याइएको करिब आठ हजार हेक्टर क्षेत्रफलमध्ये करिब दुई हजार पाँच सय हेक्टर क्षेत्रफलमा मात्र विमानस्थल निर्माण हुनेछ । विमानस्थल निर्माणको पहिलो चरण अन्तर्गत उक्त क्षेत्रफलमा निर्माणको काम हुने मन्त्री अधिकारीले जानकारी दिए । ‘सोही क्षेत्रमा मात्रै ‘क्लियरेन्स’को काम हुनेछ’, उनले भने । उक्त क्षेत्रफलमा विमानस्थलको टर्मिनल भवन र अन्य संरचनासहित एउटा धावनमार्ग निर्माण हुनेछ ।

पहिलो चरणमा करिब दुई लाख रुख काटिने छन् भने त्यस्तै बोट बिरुवाको सङ्ख्या भने पाँच लाख हुनेछ । यसरी काटिने एउटा रुख बराबर स्थान पहिचान गरी २५ वटा रुख रोपिने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले जानकारी दिए । सञ्चालनमा आएपछि आवश्यकता अनुसार धावनमार्ग बढीमा तीनवटा बनाउन सकिने र क्षेत्रफल पनि त्यसै अनुसार बढ्ने उनले बताए ।

एक महिनाभित्रै डीपीआरको प्रक्रिया

प्राधिकरणले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक ‘विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न एक महिनाभित्रै कम्पनी छनोट गर्ने जनाएको छ । महानिर्देशक गौतमका अनुसार यसअघि गरिएको आह्वान अनुसार आवेदन दिएका कम्पनीमध्येबाट एक महिनाभित्र एउटा कम्पनी छनोट हुनेछ । डीपीआरको प्रक्रियासँगै रुख कटानीको काम पनि समानान्तर रूपमा अघि बढाउने योजना रहेको उनले बताए । उनका अनुसार रुख कटानीमा मात्रै दुई वर्ष लाग्नेछ । त्यस्तै विमानस्थलको पहिलो चरणको काम पूरा गर्न कम्तीमा पाँच वर्ष लाग्ने उनले जानकारी दिए ।

चार महिनाभित्र आशयपत्र माग

निजगढ विमानस्थल निर्माणका लागि यसअघि टुङ्ग्याइएको सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडालिटी अनुसार चार महिनाभित्र ईच्छुक कम्पनीसँग आशयपत्र माग गरिने मन्त्री अधिकारीले जानकारी दिए । विमानस्थल निर्माण सुरु गर्नुअघि नै धेरै काम सम्पन्न गर्नुपर्ने भएकोले सरकार अहिले ती काम अघि बढाउने प्रक्रियामा रहेको उनले जानकारी दिए । ‘टाङ्गीया बस्तीलाई स्थानान्तरण गर्नुपर्नेछ । त्यस्तै आफ्नै कार्यालय निर्माण गर्नुपर्नेजस्ता काम छन्’, उनले भने ।

कार्यक्रममा प्राधिकरण अन्तर्गतका राष्ट्रिय गौरव आयोजनाका निर्देशक प्रदीप अधिकारीले सबै विमानस्थलका लागि छुट्टै ‘मास्टर प्लान’ आवश्यक रहेको बताए । निजगढको सम्भाव्यता अध्ययन पनि सन् २०११ मै पूरा भइसकेको र अहिले परिस्थिति फरक भएकोले त्यसको निर्माणको लागि छुट्टै विशेष योजना आवश्यक रहने बताए ।

-गोरखापत्रबाट

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *