नेपाल व्यवसायी संघ कतार र निर्यात व्यवसायी महासंघबीच १६ बूँदे समझदारी
नेपालको निर्यात व्यापारलाई सहजीकरण तथा अभिवृद्धि गरिने
- रोजगारमञ्च
- चैत्र ६, २०७९
- 0
कतार र नेपालबीच व्यवसाय अभिबृद्धि तथा सहजीकरण गर्ने उद्देश्यका साथ नेपाल व्यवसायी संघ कतार र निर्यात व्यवसायी महासंघ नेपालबीच द्धिपक्षिय समझदारीमा (एमओयू)मा हस्ताक्षर भएको छ ।
नेपाली दूतावास कतारमा आइतबार भएको कार्यक्रममा नेपालको निर्यात व्यापारलाई सहजीकरण तथा अभिवृद्धि गर्ने उद्देश्यका साथ संघ र महासंघबीच सम्झौता भएको हो ।
समझदारी पत्रमा नेपाली व्यवसायी संघका तर्फबाट अध्यक्ष महेन्द्रप्रसाद चम्लागाई र निर्यात व्यवसायी महासंघ नेपालका तर्फबाट उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय समन्वय तथा एक्स्पोका संयोजक गोविन्द घिमिरेले हस्ताक्षर गरेका छन् ।
कतारस्थित नेपाली राजदूत डा.नरेश विक्रम ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपालको निर्यात व्यापारलाई सहजीकरण तथा अभिवृद्धि गर्ने ध्येयले समझदारी गरी शैद्धान्तिक र व्यवहारिक पक्षमा सहकार्य गर्न दुवै पक्ष सहमत भएका हुन् ।
कार्यक्रममा दूतावासका प्रथम सचिव भुवन भट्ट, लेवर कन्सुलर टिकामणि न्यौपाने, नेपाल जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महा–प्रबन्धक संगिता यादव, संघका प्रमुख संरक्षक डा. देव काजी डंगोल, संरक्षक समीर मास्के, प्रमुख सल्लाहकार टिबि कार्की, सल्लाहकार शंकर प्रसाद न्यौपाने, कानुनी सल्लाहकार मोहम्मद रमजान अलि मियाँ, उपाध्यक्ष आरके शर्मा लगायतको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत ढकालले सम्झौताको उद्देश्य प्राप्तिका लागि दुबै पक्ष कृयाशिल रहन आग्रह गर्दै समझदारीमा हस्ताक्षर मात्र होइन कार्यान्वयन गरेको खण्डमा नेपाली दूतावासले सदैव अभिभावकीय भूमिका खेल्ने बताए । कतारमा चलेको ५ दिने अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा सहभागीता जनाउन आएका नेपालका प्रतिनिधिहरुलाई राजदूत ढकालले धन्यवाद दिए । राजदूत ढकालले हस्ताक्षरित सम्झौताको पूर्ण पालना गर्न आग्रह गर्दै नियोगले पूर्ण साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
त्यस्तै कार्यक्रममा संघका अध्यक्ष चम्लागाईले संघको मुख्य उद्देश्य नै नेपाली व्यवसायीहरूको हक हितमा काम गर्ने रहेको जनाउँदै विदेशी लगानी स्वदेश भित्राउन र स्वदेशको उत्पादन विदेशमा प्रवद्र्धन गर्न प्रतिवद्ध रहेको जनाए । उनले भने–‘आज हस्ताक्षरित सम्झौता समेत त्यसैको एक अंश हो ।’
संघका कोषाध्यक्ष चुडामणि कार्कीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमलाई संघका उपाध्यक्ष आरके शर्मा, प्रमुख सल्लाहकार टिबी कार्की, महाप्रबन्धक संगिता यादव, महासघंका उपाध्यक्ष गोबिन्द घिमिरे लगायतले सम्बोधन गर्दै सम्झौताको मर्म र भावना अनुरुप अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
साथै सम्बोधनका क्रममा वक्ताहरुले राजदूतावासबाट अपेक्षाकृत सहयोग एवं अभिभावकीय भूमिका प्राप्त गर्ने विश्वास व्यक्त गरेका थिए ।
कतार र नेपालको व्यवसायिक सम्वन्धमा यस समझदारीले नेपालका मौलिक उत्पादन र निर्यात व्यापार प्रर्वद्धनमा थप सहयोग पुग्नेछ । संघका सचिव पूर्ण पोखरीयाले सहजीकरण गरेको कार्यक्रममा नेपालबाट आएका प्रतिनिधि मण्डलका सम्पूर्ण सदस्यहरू, संघका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।
१६ बूँदे समझदारी
१. संस्थागत क्षमता अभिबृद्धि आदान प्रदान गरि दुवै सस्थाको छवि अन्तर्राष्ट्रिय स्तरमा उच्च राख्नका लागि पहल गर्नुका साथै नेतृत्व विकासमा अनुभवहरु आदान प्रदान गर्ने ।
२. दुवै देशमा गर्न सकिने तालिम, भ्रमण, मेला, गोष्ठि, सेमिनारमा सहकार्य गर्ने ।
३. नेपालको व्यापार बृद्धि गर्न आपसी सहकार्य, लगानी, प्रविधि, डिजीटल, अनलाइन व्यापारका लागि सहजिकरण, बजार प्रर्वद्धन, माग हुने वस्तुहरुको बजार अध्ययन, गुणस्तर, मापदण्ड, ट्रेडमार्कको प्रर्वद्धन, आउटलेटहरुको विस्तारमा सहकार्य गर्ने ।
४. दुवै देशका भन्सार विन्दुमा हुने समस्या, सहजीकरण, कलेक्टिभ ब्राण्ड श्रृजना, दर्ता जस्ता विषयमा संबन्धित सरोकारवाला सरकारी निकाय संग समन्वय गरि सहजिकरण एवं प्रर्वद्धन गर्ने ।
५. नेपाली समाज र व्यापारमा हुने कुनै पनि असमझदारी, कानुनी समस्यामा मध्यस्तकर्ताको भूमिका निर्वाह गर्ने साथै रोजगारिमा आउने समस्यामा सहजीकरण गरि असल व्यवसायीको पहिचान दिने कार्य गर्ने गराउने ।
६. नेपालमा बैदेशिक लगानी भित्रयाउन वातावरण निर्माण गरी लगानीकर्ता एवं नेपाल सरकार संग समन्वय तथा सहकार्य गरि नेपालको आर्थिक अभिबृद्धिमा टेवा पुग्ने कार्य गर्ने ।
७. नेपाली वस्तुहरुको प्रर्वद्धनमा बजार अध्ययन, माग र आपूर्तिको सहजीकरणका लागि आवश्यक कार्य गर्ने ।
८. पारस्परिक व्यवसायीक भम्रणका लागि आवश्यक सहजीकरण तथा समन्वय एवं सहयोग गर्ने ।
९. नेपालबाट कतार आएर व्यवसाय गर्न चाहने व्यवसायीहरूलाई प्रोत्साहन र आवश्यक सहयोग उपलब्ध गराउन समन्वय एवं सहकार्य गर्ने ।
१०. स्वदेश फर्की लघु उद्योगमा सरिक हुन चाहने नेपालीहरुका लागि आवश्यक परामर्स एवं सहयोग गर्ने ।
११. नेपाल र नेपालीको गरिमा उच्च राख्नका लागि सृजनात्मक एवं रचनात्मक कार्यहरु गर्ने ।
१२. समझदारी पत्र दुवै संस्थाहरुले हस्ताक्षर गरेको मितिदेखि कार्यान्वयनमा आउनेछ ।
१३.समझदारी पत्रलाई दुवै संस्थाहरुले समयानुकुल बनाउन एवं समाजमा उच्च आदर्श स्थापित गर्नका लागि आपसी सहमतिमा लिखितरुपमा मात्र परिमार्जन एवं संसोधन गर्न सक्नेछन ।
१४.समझदारी पत्रमा जेसुकै लेखिएको भएता पनि लेखिएका बुँदाहरु नेपाल तथा कतारको कानुनसँग बाझिन गएमा बाझिएको हदसम्म स्वतः निस्कृय वा खारेज भएको मानिने छ ।
१५.माथि उल्लेखित बुँदाहरु कार्यान्वयन र सहकार्य गर्न दुबै पक्ष प्रतिवद्ध रहने छौं भने कुनै पक्षबाट समझदारी विपरित कार्य भएमा आपसि छलफलबाट समाधान गरिनेछ र औचित्यका आधारमा कम्तिमा ३ महिना अघि लिखितरुपमा जानकारी गराएर मात्र दुबै पक्ष समझदारीबाट अलग रहनेछ ।
१६. दुबै अविछिन्न उत्तराधिकारवाला संस्था भएकाले नेपालको कानून अनुसार ब्यक्ति सरह सामाजिक र आर्थिक कार्यहरु गर्न पनि सहमत भएका छौं ।