समाजसेवी कृतु भण्डारीको संयोजकत्वमा बेलारुसमा फसेका ९ जना महिलाहरुको उद्धार
- चैत्र ६, २०७९
- 0
बैदेशिक रोजगारीको शिलशिलामा बेलारुसमा फसेका ९ जना नेपाली चेलीहरुलाई समाजसेवी कृतु भण्डारीको संयोजकत्वमा उद्धार गरिएको छ ।
लामो समयको अथक प्रयासका बाबजुद समाजसेवी भण्डारीको टिमले आगामी चैत्र १० गते शुक्रबार उनीहरुलाई स्वदेश फर्काउन लागेको हो । उद्धार हुनेमा नुवाकोट घर भएकी सानुमाया तामाङ, रामेछापकी कविता थापा मगर र अन्जना मगर, धनकुटाकी रत्नमाया राई, मकवानपुरकी पार्वती माया तितुङ, भोजपुर घर भएकी रमिता राई काभ्रेपलाञ्चोककी सुष्मा तामाङ चितवन घर भएकी मीना गुरुङ र मोरङकी माया सोताङ राई रहेका छन् ।
सामाजिक संजाल टिकटक लाइभ मार्फत सम्पर्कमा आएका उनीहरुलाई बैदेशिक रोजगार व्यवसायी कम्पनीले संस्थागत रुपमा नै पठाएको भनी अनेकौ कागजातमा हस्ताक्षर गर्न लगाएको पिडित महिलाहरुको भनाई छ । तर बैदेशिक रोजगार विभागमा गई रेकर्ड हेर्दा उनीहरुलाई भिजिट भिसामा पठाएको तथ्य प्राप्त भएको उद्धारकर्ताहरुले बताएका छन् ।
बेलारुसमा फसेका ती महिलाहरु उचित पारिश्रमिक, खाना, आवास तथा सुरक्षाको अभावमा दर्दनाक परिस्थितिको सामना खेप्नुपरेको अवस्था थियो । त्यसै शिलशिलामा सामाजिक संजालमा पटकपटक सम्पर्क हुँदैजाँदा उनीहरुको कारुणिक अवस्थाको बारेमा धेरै जानकारी कृतु भण्डारीको टिमले प्राप्त गरेपछि ती महिलाहरुलाई स्वदेश फर्काउने प्रयासमा उनीहरु लागेका थिए ।
उद्धारकर्ता भण्डारीको नेतृत्वमा विभिन्न नेपाल सरकारका संघ सस्थाहरुमा ती महिलाहरुलाई नेपाल फर्काउन धेरै प्रयास भएतापनि सबै निकायहरुबाट कानुनी सहायता गर्न सकिन्छ तर अर्थिक योगदान गरि उद्धार गर्न सकिदैन भन्ने उत्तर आएपछि उनीहरुको टिम आफै जुटेर विभिन्न ठाउँबाट आर्थिक सहयोग संकलन गरी पिडित महिलाहरुलाई नेपाल फर्काउन लागेको उनीहरु बताउँछन् ।
उनीहरुलाई बेलारुसको फेसल फ्याक्ट्रीमा काम गर्नका लागि दक्ष कामदारको रुपमा कागज बनाई कम्पनीले पठाइएतापनि कार्य दक्षताको अभाव रहेकाले कम्पनीले उचित पारिश्रमिक दिन नसकेकोे रोजगारदाता कम्पनीहरु बताएको उद्धारकर्ताहरुको भनाई छ ।
पिडित नेपाली महिलाहरुले प्रदान गरेको सुचना विवरण र उनीहरुको दुखदायी जीवनचर्यालाई देखेर उनको टिमले तत्काल केही गर्नुपर्छ भन्ने मानवीय सहयोगी भाव राखी सम्बन्धित निकायहरुलाई ध्यानाकार्षण गराएका थिए । त्यही अनुरोधलाई स्वीकार गर्दै रुसको राजदूतावासले पनि निरन्तर चासो राखेर सम्बन्धित निकायहरुमा पत्राचार गरी साथै बेलारुसमा रहेका गैरआवासीय नेपालीहरुले उनीहरुसँग प्रत्यक्ष भेटघाट गरी सहायता प्रदान गरेको उनीहरुको भनाई छ ।
नेपाल सरकारले प्रभावकारी रुपमा कुटनितिक पहल कदमी लिएमा उनीहरु जस्ता हजारौ नेपाली श्रमिकहरु विदेशी भूमीमा अलपत्र पर्ने थिएनन् । सोझा–साझा नेपालीहरुलाई विभिन्न प्रलोभनमा पारेर वैदेशिक रोजगारमा पठाउने व्यक्ति तथा गिरोहहरुलाई तत्काल कानुनको दायरामा ल्याउन सकेमा मात्र पछिल्ला दिनहरुमा यस्ता घटनाहरु कम हुने उनीहरु बताउँछन् । जुनसुकै कारणले अप्ठ्यारोमा परेको भएतापनि विदेशमा फसेका त्यस्ता व्यक्तिहरुको लागि राहत तथा उद्धार गर्ने दायित्व नेपाल सरकारले पुरा गनैपर्ने माग उनीहरुको रहेको छ ।