आजको मौसम : कोसी र वाग्मती प्रदेशमा भारी वर्षाको सम्भावना
- भदौ ३, २०८२
- 0
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेका हुनाले नेपालमा मनसुन केही कमजोर रहेको छ । जसका कारण धेरै स्थानमा वर्षाको सम्भावना कम छ तर, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने जारी रहेको छ ।
विभागले दिउँसो देशभर साधारणतया बदली रहनुको साथै कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही स्थानहरूमा वर्षाको सम्भावना रहेको छ ।
साथै, मधेस प्रदेशको तराईको एकदुई स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोसी र वाग्मती प्रदेशको पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार, आज राति भने कोसी, गण्डकीलगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । कोसी प्रदेशको पहाडी तथा तराई भू-भागलगायत बाँकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा र बाँकी तराई भू-भागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोसी प्रदेशको पहाडी र तराई भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।











