कोषाध्यक्षमा उम्मेदवारी दिएका बिक्रम श्रेष्ठ भन्छन ‘संघको कोष मजवुद र चलायमान बनाउने छु’
- चैत्र २६, २०८१
- 0

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनमा कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिएका बिक्रम श्रेष्ठले आफु निर्वाचित भएमा संघको कोषलाई मजबुद र चलायमान बनाउने प्रतिवद्धता व्यक्त गरेका छन ।
भुवनसिंह गुरुङ नेतृत्वको लोकतान्त्रिक वैदेशिक रोजगार एशोसिएसन र वैदेशिक रोजगार गणतान्त्रिक मञ्चको सयुक्त प्यानलबाट कोषाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका श्रेष्ठले भने ‘संघको कोषलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउने छु, साथै कोष मजबुद र चलायमान बनाउन आर्थिक स्रोत जुटाउन व्यक्तिगत हिसावले समेत लाग्नेछु ।’
उनले वैदेशिक रोजगारीमा गएका कामदारहरु समस्यामा पर्दा व्यवसायीहरुको साथमा उभिएर सहायताका लागि संघ तत्पर रहने बताए । साथै कोही मेनपावर व्यवसायी पीडित भए भने तथा उनीहरुलाई कुनै सहायताको आवश्यक्ता भएमा यसलाई संघमार्फत सम्वोधन गर्ने व्यवस्था पनि मिलाउने प्रतिवद्धता उनले व्यक्त गरे ।
सरकारले वैदेशिक रोजगार व्यवसायीहरुलाई अझै पनि राम्रो दृष्टिकोणले नहेरेको बताउदै श्रेष्ठ भन्छन- ‘रेमिट्यान्स हामी व्यवसायीले पठाएका कामदारले भित्र्याएको हो भन्ने सरकारले नबुझे जस्तो गर्दा र त्यही अनुसार व्यवसायीलाई सम्मान नगर्दा दुःख लाग्छ ।’
व्यवसायीहरुलाई सहज वातावरणमा व्यवसाय गर्ने वातावरण बनाउन, शेवाशुल्क निर्धारणको पहल गर्न तथा व्यवसायीका हकहितका लागि निरन्तर लडिरहने प्रतिवद्धता पनि उनले व्यक्त गरेका छन ।
विगत दुई दशक देखि म्यानपावर व्यवसायमा आवद्ध रहि व्यवसायीहरुको समस्या समाधानको लागि आवाज उठाउदै आएका श्रेष्ठले यसअघि लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको कार्यसमिति सदस्य तथा संघको पनि कार्यसमिति सदस्यको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन ।