एनआरएनएलाई राजनीति र सरकारी हस्तक्षेपबाट टाढा राख्न प्रधानमन्त्रीको अनुरोध

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि ५१ लाख हस्तान्तरण
news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि ५१ लाख हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई संघका अध्यक्ष डा बद्री केसीसहितको प्रतिनिधिमण्डलले बुधवार उक्त रकम हस्तान्तरण गरेको हो ।

उक्त अवसरमा अध्यक्ष डा केसीले हालैको बाढी, पहिरो र डुुबानको खबरले आफूहरु मर्माहत भएको भन्दै संघको तर्फबाट एक करोड बराबरको राहत उपलब्ध गराएको र सो क्रम जारी रहेको जानकारी गराए ।

अध्यक्ष डा केसीले ‘एनआरएन नागरिकता’ प्राप्त भएपछि आर्थिक र सामाजिक काममा पनि त्यसको प्रयोगमा समस्या रहेको भन्दै सम्बन्धित निकायलाई परिपत्र गरिदिन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । अध्यक्ष केसीले भने–‘हामीले नागरिकता त पायौ तर त्यो कागजको खोस्टा जस्तो मात्र भयो, अव प्रधानमन्त्रीले अध्यादेशमार्फन भए पनि अधिकारसम्पन्न नागरिकता बनाउन अनुरोध गर्दछौ ।’

अध्यक्ष डा केसीले बेलायतस्थित भूतपूर्व गोर्खाहरुले उठाउँदै आएके समान पेन्सन र अधिकारको माग सम्बोधन गर्न मन्त्रीस्तरीय संवाद गर्नुपर्नेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।सो अवसरमा अध्यक्ष डा केसीले आगामी २७ र २८ अक्टोबरमा आयोजना गर्न लागिएको एनआरएन डे विशेष कार्यक्रम तथा ग्लोबल कन्क्लेभको लागि प्रधानमन्त्री ओलीलाई निमन्त्रणा पत्र बुझाए ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले विपद्का समयमा मानवीय सहयोग गरेकामा एनआरएनएलाई धन्यवाद दिँदै एक पटकको नेपाली सँधैको नेपाली हुने भएकोले संविधानले दिएको राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार दिन कुनै समस्या नभएपनि दोहोरो नागरिकता समस्याको समाधानका लागि भने गम्भीर छलफल आवश्यक पर्ने जनाए । यस्तै भूपू गोर्खाको समस्या समाधानका लागि सरकार सचेत रहेको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले संघको स्थापनापूर्वदेखि नै नेपालको समृद्धिमा गैरआवासीय नेपालीको भूमिकाका लागि आफू लागेको उल्लेख गर्दै संघलाई राजनीतिक र सरकारी हस्तक्षेपबाट टाढा राखेर गैरआवासीय नेपालीको साझा संस्थाका रुपमा अघि बढाउन सुुझाव दिए ।

प्रधानमन्त्री ओलीले आगामी २७ र २८ अक्टोबरमा आयोजना गर्न लागिएको एनआरएन डेका लागि उपस्थिति हुने प्रतिवद्धता जनाए ।

अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा संघको तर्फबाट गएको टोली उपाध्यक्ष रोजिना प्रधान राई, उपाध्यक्ष रामशरण सिम्खडा, कोषाध्यक्ष सुदन थापा, सहकोषाध्यक्ष कृष्ण तिमल्सिना,आइसीसी सदस्यहरु हेमन्त काफ्ले, राजकुमार थापा, सल्लाहाकार अतुल कोइराला, एसिया प्यासिफिक संयोजक हरि भट्टराई, ओम गुरुङ, एनआरएन अभियन्ताहरु, गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउत लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *