नेपाल फेस्टिवल पर्थको तयारी पुरा, आउँदा विदेशी नागरिक पनि ल्याउन आयोजक घिमिरेको अनुरोध

news-details

गैरआवासीय नेपाली संघ वेस्टर्न अष्ट्रेलिया (पर्थ)ले नेपाल बाहिर नेपाल झल्काउनका लागि सेप्टेम्बर १४ तारिख शनिवार गर्ने नेपाल फेस्टिवलको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ ।

पर्थमा हुने नेपाल फेष्टिवललाई ऐतिहाँसिक बनाउनका लागि सम्पुर्ण तयारी पुरा गरिसकेको जानकारी आयोजक एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा वेस्टर्न अष्ट्रेलियाका संयोजक शेखर घिमिरेले दिए ।

नेपाल फेस्टिवलमा आउने पाहुनाहरुको कन्फर्म भइसकेको र आयोजकहरु स्वागतका लागि पर्खिरहेको संयोजक घिमिरेले जनाएका छन् । संयोजक घिमिरे भन्छन्–‘ नेपाल फेस्टिवलको सम्पुर्ण तयारी पुरा गरेका छौं, पाहुनाहरुले पनि कन्फर्म गरिसक्नु भएको छ, अव हामी स्वागतका लागि पर्खिरहेका छौ ।’

संयोजक घिमिरेले पर्थमा रहेका नेपालीहरुलाई सपरिवार नेपाल फेस्टिवलमा आउँदा कम्तिमा एक जना विदेशी नागरिक पनि ल्याउनका लागि अनुरोध गरेका छन् । देश छोडेर विदेशी भूमीमा पुगेपछि नेपाल चिनाउन र बुझाउन नेपाल फेस्टिवल सही संगम हुने भएकाले विदेशी नागरिकलाई भ्रमण गराउन उनको आग्रह हो ।

नेपाल फेस्टिवल पर्थलाई अहिले निकै महत्वका साथ हेरिएको छ । पर्थबासी नेपालीहरु निकै उत्साहित भएका छन् । हरेक समुदाय, संघसंस्था, क्लव, समुहहरुले आआफ्नो ठाउँबाट नेपाल फेस्टिवल सफल बनाउन सहयोग गरिरहेको संयोजक घिमिरे बताउँछन् । उनी भन्छन्–‘ पर्थबासी नेपाली संघसंस्था र समुदायले मात्र होइन, वेष्टर्न अष्ट्रेलियाको स्थानीय सरकार पर्थ सिटी काउन्सिलले पनि नेपाल फेस्टिवललाई महत्व दिएका छन् ।’

नेपाल फेस्टिवलले हुर्किदै गरेको नेपालीको दोश्रो पुस्तालाई नेपाली भाषा, संस्कृति, भेषभूषाका बारेमा देखाउने अनि बुझाउने छ । यो मेलाले नेपालको पर्यटन विकासमा महत्वपुर्ण योगदान दिने एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष घिमिरेले बताए । साथै, एउटै ठाउँमा बसोबास गर्दै आएका नेपाली नेपालीबीच भाइचारा र सम्बन्ध स्थापित गराउनका लागि पनि नेपाल फेष्टिभलले महत्वपूर्ण योगदान दिने उनको भनाई छ ।

नेपाल फेष्टिभल पर्थ २०२४ लाई सफल बनाउन घिमिरे सहितको एनआरएन वेष्टर्न अष्ट्रेलियाको टिम सक्रियताका साथ लागेको छ । नेप्लीज एशोसिएसन अफ वेष्टर्न अष्ट्रेलिया (नावा), पर्थ नेपाली मन्दिर तथा कम्युनिटी सेन्टर पश्चिम अष्ट्रेलिया सहित विभिन्न संस्था, क्लब र व्यवसायीहरु समेत फेस्टिवलको सफलताको लागि क्रियाशिल रहेका छन् । सबैले आआफ्नो क्षेत्रबाट प्रचार प्रसार गरिरहेको घिमिरे बताउँछन् ।

फेस्टिवललाई वेष्टर्न अष्ट्रेलिया बहुसांस्कृतिक मन्त्रालय, सिटी अफ पर्थले आर्थिक सहयोग गरेको छ भने अजी फाईनान्स एण्ड होम लोनले मुख्य प्रायोजन गरेको छ ।

एनआरएन अष्ट्रेलिया उपाध्यक्ष तथा वेस्टर्न अष्ट्रेलिया संयोजक घिमिरेका अनुसार यस पटकको नेपाल फेष्टिवलमा वेष्टर्न अष्ट्रेलिया राज्य सरकारका मन्त्री, उच्चपदस्थ अधिकारीहरु सहभागी हुने भएका छन् । नेपाल फेष्टिवलमा सहभागी हुन अष्ट्रेलियाका विभिन्न राज्यबाट मात्र नभएर विभिन्न देशमा रहेका एनआरएनका अभियन्ताहरु, सामाजिक व्यक्तित्व, नेपाली समूदायका अगुवाहरु पनि आउने तय भएको छ ।

संयोजक घिमिरे भन्छन्–‘यस पटकको नेपाल फेस्टिवलमा नेपाल झल्काउने नमूना सगरमाथा, ढुंगेधारा, बुद्धको मूर्तिदेखि नमूना धरहरा, पशुपति मन्दिर, स्वयम्भु समेत राखिनेछ, त्यसैगरी बालबालिकाहरुलाई समय विताउन सहज होस् भनेर धेरै रमाइला गतिविधि समावेश गर्दैछौं, नेपाली राष्ट्रिय कलाकारसहित नेपालको गीत संगीत स्टेजमा घन्किने छ ।”

नेपाल फेष्टिवलमा ४५ वटा विभिन्न नृत्य, फेशन शो, विदेशी कलाकारहरुको पनि प्रस्तुती रहने संयोजक घिमिरे बताउँछन् । नेपाल फेस्टिवलको १० दिनअघिदेखि नै विभिन्न स्थानीय लोकप्रिय पत्रिकाहरुमा र दुई सता अगाडि बाट स्थानिय रेडियोहरुबाट प्रचारप्रसार गरिएको छ । यस्तै सार्वजनिक यातायातका साधन, विभिन्न जमघटका ठाउँहरुमा नेपाल फेस्टिभलमा निमन्त्रणा गरिएको प्रचार सामग्री राखिएको छ ।

नेपाल फेस्टिवलमा निःशुल्क प्रवेशको व्यवस्था रहेकाले स्वदेशी तथा विदेशी गरेर १२ हजार अवलोकनकर्ता सहभागी हुने अपेक्षा आयोजकहरुको रहेको छ ।

नेपाल फेष्टिवल दिन सेप्टेम्वर १४ मा सुप्रिम कोर्ट गार्डेनबाट ११ बजे कलश यात्रा गरी सुरु हुँदै विभिन्न कार्यक्रमका साथमा राति ९ बजे आतिशबाजीका साथ भव्यताका साथ समापन गर्ने कार्यक्रम रहेको आयोजको भनाई छ ।

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *