वैदेशिक रोजगारमा जानेको संख्या घट्नु उपलब्धी की घाटा ?
- रोजगारमञ्च
- जेष्ठ १४, २०७६
- 0
राम्रो अवसरको खोजीमा वैदेशिक रोजगारमा जाने नेपालीहरुको संख्या बढिरहँदा यो वर्ष यसरी विदेश जाने संख्या आधाले घटेको छ । सरकारी पक्षले वैदेशिक रोजगारमा जाने संख्या घट्नुलाई उपलब्धीमूलक मानेको छ तर बर्षेनी ५ लाख युवा श्रम बजारमा आइरहँदा उनीहरु स्वदेशमा खपत हुने वातावरण नबन्दै यसरी संख्या घट्नुलाई अर्थविद्हरु उपलब्धी मान्न तयार छैनन् ।
अर्थविद्हरु स्वदेशमा रोजगारका अवसर नहुँदै वैदेशिक रोजगारमा जाने संख्या घट्न थाल्दा मख्ख नपर्न सुझाव दिन्छन् । नेपाल सरकारका पूर्वसचिव पूर्णचन्द्र भट्टराई वैदेशिक रोजगारलाई रोक्न नसकिने तर देशमा रोजगारी उपलब्ध गराउन नसक्दासम्म त झन यसको विकल्प नै नरहेको बताउँछन ।
‘वैदेशिक रोजगारी विश्वव्यापी ट्रेन हो, यसलाई रोक्ने होइनकी व्यवस्थित र ऐच्छिक बनाउन सक्नुपर्छ’ भट्टराई भन्छन –‘राम्रो अवसर खोज्दै संसारको जुनसुकै कुनामा पुग्नु स्वभाविक हो, बरु हामीले देशमै राम्रा अवसरहरु बढाउदै धेरै राम्रा अवसरमा मात्र विदेशिने अवस्था सिर्जना गर्दै लैजानुपर्छ ।’
वैदेशिक रोजगारीप्रतिको परनिर्भरतालाई कमी गराउदै लैजानुपर्नेमा अर्थविद् तथा रोजगार विज्ञहरुको जोड भएपनि त्यसका लागि देशमै प्रशस्त अवसरहरु सिर्जना गर्नुपर्ने उनीहरुको धारणा छ । यसो हुन सकेमा सकभर देशमै रोजगार गर्ने र अत्यन्त राम्रा अवसरहरुमा मात्र विदेशिने परिपार्टी बस्ने उनीहरु बताउँछन । त्यो अवस्था सिर्जना हुन नसक्दासम्म वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित र सुरक्षित बनाउनुका अलवा नयाँ र आकर्षक गन्तव्य विकासमा लाग्नु उपयुक्त हुने उनीहरुको राय छ ।
रोजगार विज्ञ डा. गणेश गुरुङ विदेशिनुको संख्या घटनुमा रमाउनु भन्दा यसबाट उत्पन्न हुन सक्ने समस्याप्रति सजक बन्नुपर्ने बताउँछन् । ‘वैदेशिक रोजगारी दिर्घकालिन विकल्प होइन तर हामीले रोजगारी दिन नसक्दासम्म यसको विकल्प पनि छैन’ गुरुङ अगाडि भन्छन –‘बरु हामीले अहिले भएका गन्तव्य विस्तार गरी राम्रा तथा आकर्षक गन्तव्य मुलुकहरुको खोजि गर्न सक्नुपर्दछ ।’
सरकारले हालसालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा यो वर्षको फागुनसम्म एक लाख ४२ हजार ८२८ जना नेपाली वैदेशिक रोजगारीको लागि गएका छन् । जवकी गत आर्थिक वर्षको यही अवधिमा तीन लाख ६१ हजार ९४१ जना नेपाली वैदेशिक रोजगारीको लागि गएका थिए ।
गत वर्ष औसतमा मासिक ३० हजार नेपाली विदेश कामका लागि जान्थे । यो वर्ष भने मासिक औसत १७ हजार नेपाली मात्रै वैदेशिक रोजगारीमा गएका छन ।
के स्वदेशमै अवसर पाएर विदेशिने घटेका हुन त ?
अहिले सरकारले वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई अन्त्य गर्ने भनेपनि नयाँ रोजगारीका अवसरहरु पर्याप्त सिर्जना हुन सकिरहेका छैनन । उता कलकारखाना, उद्योगधन्दाको विकास र साना तथा मझौला उद्योगको अवस्था ज्यूकात्यूँ नै छन् ।
सरकारले स्वरोजगार र उद्यमी बनाउने भन्दै विभिन्न योजना तथा कार्यक्रमहरु ल्याएपनि कार्यान्वयन अभावमा ति अहिलेसम्म पनि हल्ला मै सीमित भएको अवस्था छ । केहि हदसम्म स्थानिय तह तथा विभिन्न कार्यक्रममार्फत रोजगारीका अवसर सिर्जना गरिएपनि बार्षिक ५ लाखको संख्याका युवा जनशक्तिहरुलाई त्यसले थेग्ने अवस्था नै छैन ।
अहिले सरकारले देशमै रोजगारी पाएकाले विदेश जानेको संख्यामा कमि आएको भने पनि वास्तवमा भने त्यो नभएर सबैभन्दा ठुलो रोजगार गन्तव्य मलेसिया बन्द हुँदा विदेशिने घटेका हुन ।
चालु वर्षको ८ महिनामा दुई हजार ६ सय ५१ जना मात्रै रोजगारीका लागि मलेसिया गएका छन् । जबकी गत आर्थिक वर्षमा मलेसिया जाने नेपालीको संख्या एक लाख एक हजार १६८ जना रहेको थियो ।
मलेसिया अवसर बन्द भएपछि जान नपाएका लाखौ नेपाली युवाहरु अझ पनि मलेसिया रोजगारी कहिले खुल्ला होला भनेर कुरेर बसिरहेका छन ।
यसर्थ विदेशिने घटे भनेर रमाउनुभन्दा विकल्प नहुदासम्म वैदेशिक रोजगारीलाई व्यवस्थित तथा मर्यादित बनाउदै थप राम्रा गन्तव्य खोजेर तथा सीप सिकेर मात्र जाने वातावरण बनाउन राज्य लाग्नुपर्दछ ।
वैदेशिक रोजगारीमा जानै पर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्दै यसलाई राम्रा अवसरको खोजिमा मात्र जाने अवस्था बनाउनका लागि हल्ला र गफ भन्दा पनि द्रुत गतिमा रोजगारीका अवसरहरु सिर्जना गर्न सरकार गम्भिर भएर लाग्नुपर्छ । यसका लागि स्वरोजगार तथा उद्यम बन्न सक्ने खालका नीति तथा कार्यक्रम ल्याइनु जरुरी छ । यसो भएमा विदेशिनेहरु स्वत घट्दै जानेछन ।