युएईमा साथी-साथीबीचको झगडामा चौधरीले गुमाए ज्यान
- बैशाख ८, २०७६
- 0
वैदेशिक रोजगारीका लागि यूएईमा रहेका दुई नेपालीबीचको सामान्य विवादले उग्र रुप लिदा एक नेपालीले ज्यान गुमाएका छन ।
युएईको रसअलखेमामा एउटै कम्पनीमा कार्यरत पाल्पा तानसेनका तिलक चौधरी र भोजपुरका युगेन्द्र राईबीचको विवादले उग्र रुप लिदा राईको चुक्कु प्रहारबाट चौधरीको ज्यान गएको हो ।
उनीहरु दुबै जना रसअल खेमामा सरसफाइ गर्ने कामदार सप्लाई गर्दै आएको बेस क्लिनिङ कम्पनीमा कार्यरत थिए । सँगै रक्सी खान लागेको समयमा भएको सामान्य विवादले उग्ररुप लिएपछि युगेन्द्रले चक्कु प्रहार गरेका थिए ।
सोमबार दिउँसो सँगै रक्सी खान बसेका उनीहरुबीच आफ्नो जिल्लामा भएको विकासलाई लिएर विवाद शुरु भएको उनीहरुसँगै काम गर्ने एक साथीले बताए ।
‘दुई जना सँगै रक्सी खाइरहेका थिए’ प्रत्यक्षदर्शी समेत रहेका एक जना साथीले भने,‘दुबै जनाले आआफ्नो जिल्लामा धेरै विकास भएको भन्दै विवाद गरिरहेका थिए ।’ चौधरीले पाल्पा र राईले भोजपुरमा धेरै विकास भएको भन्दै विवाद गरेका थिए । विवादले उग्ररुप लिइरहेका बेलामा राईले चौधरीमाथि चक्कु प्रहार गरेका थिए ।
घटनापछि स्थानीय प्रशासनले तीन जनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका मध्ये दुई नेपालीलाई स्थानीय प्रशासनले छोडेको छ र उनीहरु काममा फर्किएका छन् भने राई थप अनुसन्धानका लागि भन्दै जेल चलान भएका छन् ।
मृत्यु भएका चौधरी र राई विगत एक वर्षदेखिसँगै बस्दै आएका थिए । तर घटनाबारे जानकारी नआएको युएईस्थित नेपाली दूतावासले जनाएको छ ।