जनजिवन : विदेश भोगेर गाउँमै रमाएका गजेन्द्र

news-details

वैदेशिक रोजगारका लागि विदेश उड्ने संख्या दैनिक बढिरहेको छ । स्वदेशमा अवसर नभएपछि श्रम गर्नका लागि भनेर होस् या उच्च शिक्षा अध्ययनको वहाना बनाएर होस् लाखौँलाख नेपालीले दुगुना दिन चौगुना रातको हिसाबमा मुलुक छोडिरहेका छन् ।

यहाँ देशलाई सिङ्गापुर बनाउँछौ भनेर छाती पिट्दै कति नेताले भाषण गरे तर खोई बनाए ? स्मरणीय कुरा चुनावमा भोट तान्न र सत्तामा पुग्न बाहेक सर्वसाधारण जनताले के पाए ? सत्तामोहप्रतिको त्यो आकर्षणले सिन्को भाँच्नुभन्दा बरु कसरी कुर्सी जोगिन्छ ? हो, त्यो खेलतिर लागे । यथार्थ कुरा हामी नागरिकहरु मिलेर नेपाल बनाउनु पर्छ । यहाँ भाषणले भोक मेटिदैन, न त भाँडामा चामल नै पर्छ ।

यद्यपि विदेश जानै हुँदैन भन्ने होइन, जानु पर्छ । त्यता सिकेको ज्ञान, सीप र कमाइलाई स्वदेशमा लगाउन सकियो भने रोजगारी र्सिजनासँगै देशको अर्थतन्त्रमा समेत टेवा पुग्छ । पहाड, तराई र हिमाल धरातलीय हिसाब यसरी मिलेको भूगोल विश्वमा कहाँ छ ?

राजनीतिक अस्थिरताले नेपाललाई पिरोल्नु पिरोलेको छ । उद्यमशील तथा स्वरोजगारमा रहेकाहरु पनि लगानी पोको पारेर विदेशीन खोजिरहेका छन् । झट्ट सुन्दा कुरा व्यक्तिपरक भए पनि राज्यसँग सम्बन्धित विषय हुनाले यस्तो किन हुँदैछ ? भनेर चासोका साथ सरकारको ध्यान खिचिनु पर्ने हो । जसरी अभिभावकको दृष्टिकोण आफ्ना छोराछोरीतिर हुन्छ ।

अहिलेको परिवेशमा स्वदेशमा लगानी गर्नेलाई जुन प्रोत्साहन र हौसलाको आवश्यकता छ, त्यो मिलिरहेको छैन । आफ्नै देशको माटोमा सुन फलाउन सकिन्छ भनेर अहोरात्र जुट्नेहरुका लागि राज्यले किन उपयुक्त वातावरण दिन चाहदैन ? हो, सम्बन्धित निकाय नै यसरी लाचारी बन्दा आम नागरिकको भोलि कस्तो आउँला ? गम्भिर यस प्रश्न तर्फ नेपाल सरकारको विवेक पुगोस् ।

विदेश जाने हावामा हुँइकिएर नमिठो पीडा भोगेपछि स्वदेशमै श्रम गरेर आफ्नो पेसा व्यवसायलाई माथि उचाल्ने युवाहरु माझ एक जना जुझारु युवा कृषक हुन्, गजेन्द्र प्रसाद ढकाल । अब उनको जीवन कथातिर जाऊ, “मेरो घर भोजपुर हो । हाम्रो परिवारमा मेरा हजुरबुवा भन्दा अघि अघिका पुस्ता र बुवा पनि किसान हुनुहुन्थ्यो । त्यो समय आफ्नै रेखोपाखोमा खनिखोस्री काम गरेर अन्नपात फलाएर खाने चलन थियो ।

गाउँमा शिक्षाको लहर सुरु भइसकेको हुनाले दाजुहरु पढ्न जानु हुन्थ्यो । छोरी मान्छेलाई पढाउने चलन थिएन । त्यसो हुँदा बढेका दिदीहरुको बिहे भयो । यसरी हुर्किएजति सन्तान क्रमशः लाखापाखा हुँदै जाँदा मैले घर व्यवहार हेर्नुपर्ने भयो । चरम्वीस्थित अरुणोदय माध्यमिक विद्यालय हाम्रो घरबाट एक घण्टामा पुगिन्छ । बिहे गरेका दाजुहरु पनि छुट्टिनु र बुवाको लगाव स्थानीय राजनीतिक दौडधुपमा भएको हुनाले घरमा भरथेगका लागि आमाको काँध भएँ म । यसकारण मैले एसएलसी भन्दामाथि पढ्न सकिनँ ।

मैले आफ्नो नाममा ‘अरुण कृषि फर्म’ दर्ता गरेँ । अहिले अलैँचीको नर्सरी बिक्रीबाट मात्रै वार्षिक एक लाख आम्दानी हुन्छ । बीस रोपनी जग्गामा फलेको अलैँचीबाट वार्षिक रुपमा एक लाख पँचास हजार आम्दानी हुन्छ । वर्षभरि खान पुगेर केही अन्न बेचिन्छ पनि । नभए कसरी छोराछोरी पढाउनु ?

अंशबन्डा गरेको जमिन आफ्नो भागमा जति प¥यो, प¥यो । घर नहुनाले कहाँ ओत लाग्नु ? जटिल समस्या भयो । त्यस बेला आमाकी बहिनी मेरी आफ्नै कान्छी सानीमाको घरमा बसेँ । भगवान्को कृपा सानीमाहरु सपरिवार गाउँबाट काठमाडौं सर्नु भएको थियो । हाम्रो त्यो नयाँ बास नजिकै काल्लामाथि उभिएको आफ्नो घर धेरै पुरानो भइसकेको हुनाले र तत्काल घर बनाउन आर्थिक समस्या हुदा हामीमा बासको समस्या पैदा भएको थियो । यस कारण दुईचार पैसा कमाउन भनेर उमेर ढल्दै गएकी आमा र भर्खर बिहे गरेकी श्रीमतीलाई छोडेर ०६१ सालमा मलेशिया गएँ । त्यो मुलुकमा तीन वर्ष बसेँ ।

त्यताबाट नेपाल फर्केर दुई वर्ष गाउँमा बिताएपछि पुनः कुवेत गएँ । त्यहाँ बाइस दिनभन्दा बढी टिक्न सकिनँ । थुप्रो कमाइ हुन्छ भनेर चर्को ब्याजमा ऋण खोजेर गएको त्यो एक लाख पचास हजार रुपैयाँ सबै माटोमा मिलो । बर्खामास असारमा खेत रोप्नु पर्ने काम अलपत्र छोडेर दुबई गएँ । त्यहाँ तेत्तीस महिना बिताएपछि एक दिन आफैँलाई यस्तो लाग्यो, यसरी पर मुलुक चहारेर आखिर मैले के पाएँ ? यही चालले कहिले उँभो लागिएला ? सोचेँ, यतिका दुःख र पसिना आफ्नै गाउँठाउँमा बगाउदा के हुन्छ ? परिवारबाट पर÷एक्लो मैले हुर्किदै गरेका छोराछोरी, श्रीमती र आमालाई धेरै सम्झिएँ । दोमनको त्यो भूमरीबाट आफ्नै गाउँ फर्की आएँ ।

सासुबुहारीले धान्दै गरेको खेतीपातीको काममा ईटा थपिने निश्चित भयो । वसन्तका पाउला पलाए जसरी परिवारमा खुसी छायो । वैदेशिक श्रमबाट कमाएर ल्याउन सकिएन भन्दा विदेश जान लिएको ऋण तिरेर तराईमा एघार धुर घडेरी किनेँ । जङ्गल नजिक रहेको आफ्नो गाँउ उर्वर र सिमसारजस्तो छ, यस ठाउँमा पानीको स्रोत पनि राम्रो छ । मलिलो आफ्नो भूमिमा बजिएका खेतका गरा खनजोत गर्न पहिला झाडी फाडेँ । मेटिएका गरा बिराउँदै क्रमशः कृषिमा हात बढाउन थालेँ । कालो सुन भनेर चिनिने नगदेबाली अलैँची खेती सुरु गर्न मैले कुनै आइतबार पर्खिनँ । गर्दै भन्दै जाँदा मक्किएको आफ्नो घरको जीर्णोद्घार पनि सम्पन्न भयो ।

मैले आफ्नो नाममा ‘अरुण कृषि फर्म’ दर्ता गरेँ । अहिले अलैँचीको नर्सरी बिक्रीबाट मात्रै वार्षिक एक लाख आम्दानी हुन्छ । बीस रोपनी जग्गामा फलेको अलैँचीबाट वार्षिक रुपमा एक लाख पँचास हजार आम्दानी हुन्छ । वर्षभरि खान पुगेर केही अन्न बेचिन्छ पनि । नभए कसरी छोराछोरी पढाउनु ? गाउँको बसाइँ मलकै लागि गाईवस्तु र खसीबोका पाल्नु पर्छ । उसो त घाँसको दुःख नहुनाले भैँसी पाल्न अप्ठ्यारो छैन । चार जना छोराछोरी काम गर्दै पढ्दै छन् ।

मासिएका मौरी अलिअलि गर्दै घारमा आए, जसरी म परदेशबाट घर आएँ । अहिले पच्चिस घारबाट कम्तिमा एक लाख पचास हजार आम्दानी हुन्छ, वर्षको दुई पटक कात्तिक र चैतमा मह काड्छु । बारीका दुई पाटामा अकबरे खोर्सानी लगाएका छौँ, नहुँदा पनि त्यसबाट डेढलाख आम्दानी हुन्छ । त्यस्तै, अम्लिसो, सुन्तला, कागती, दूध, चामल, धान, कोदो, मकै समेत सबै जोडजाड गर्दा वार्षिक दुई अढाई लाख नगद हात लाग्छ । खसीबोका बेच्न डोहो¥याएर हिँड्नु पर्दैन, हातमा पैसा बोकेर ग्राहक आँगनमा आउछन् । भोजपुर जाने मूल सडकबाट एक किलोमिटर मुन्तिर पुराना गाउँमा उब्जेका सागसब्जी, स्कुस र वन्दा सडकमा पु¥याउनु मात्र पर्छ, हातहातै बिक्छ । यसलाई भन्छु, सडकले पु¥याएको फाइदा ।

तराईमा किनेको एघार धुर जमिन बेचेर दुई वर्ष अघि इटहरीमा घर किनेँ । ठूली छोरीको बिहे भईवरी दुईटा नाती छन् । माइली र कान्छीले बाह्र–बाह्र कक्षा चरम्वीकै अरुणोदय उच्च मा.वि.बाट क्लियर गरेर इटहरीमा व्याचलर पढ्दै छन् । छोरो कक्षा दशमा पढ्छ । इटहरीमा उसको स्कुल बिदा हुनासाथ भोलिपल्टै गाडी चढेर गाउँ आइपुग्छ । सानो उमेरदेखि खेतीपातीको काममा खटेको हुनाले उसलाई कृषि विज्ञले भेट्दैनन् । जोत्न, खन्न मात्रै होइन सिजनअनुसार कुन माटोमा कस्तो बाली लगाउनु पर्छ, पाका मानिस जस्तो हरेक पक्षमा पूर्ण छ ।”

पढाइलेखाइ अधुरो हुनाले जीवन निर्वाह कसरी गर्ने ? यस विषयमा गजेन्द्रलाई केही पछुतो नहोला भन्न सकिन्न तर मान्छे जन्मिदै आफ्नो भाग्य लिएर आउने हुनाले कतै न कतै संयोग जुर्छ । यो सत्यतालाई उधिनेर मन्थन गर्दै यहाँसम्म आइपुग्दा ढकालको अनुहारभरि झलमल घाम जसरी आशाका किरणले अनुहार पोतिएको प्रष्टिन्थ्यो । त्यही गाउँको स्कुल पढेका कति दाजुभाइ दिदीबहिनी नेपाल सरकारको उच्च तहसम्म पुगेका छन् भने कति विदेश पलायन भएका छन् ।

कर्मका पूजारी ढकाल आफ्नो विगत पस्किदै भन्छन्, ‘अहिलेसम्म खाडी मुलुकमै बसेको भए न यतिको आम्दानी गर्थे, न त समाज सेवानै गर्न पाउथेँ । आफू जन्मेर हुर्केको यस ठाउँलाई अहिले मैले हराभरा बनाएको छु । वर्षमा अठार बीस लाख कमाउँछु । यही गाउँ मलाई अहिले स्वर्ग समान भएको छ । हिजो शहर पसेका छिमेकी दाजुभाइहरु पुनः गाउँमा आएर जग्गा किन्न थालेका छन् । यसले गर्दा गाउँमा नयाँ उत्साह छाएको छ । अतः आम युवालाई मेरो अनुरोध छ, थाप्लामा ऋण बोकेर विदेशीनु भन्दा आफ्नै माटोमा पसिना बगाए सुन फल्छ ।’

“भाग्य छ भन्दैमा डोकामा दूध अडिन्छ ? म विदेश जाँदा धेरै ठूलो सपना देखेर चिलगाडी चढेको थिएँ । त्यता कमाएर ल्याएको पैसाले यसोउसो के–के न गर्छु भनेर सोचेका कुरा मनको लड्डु घिउसँग भनेको जस्तो मात्रै भयो । आफ्नो देशजस्तो कहाँ हुन्छ र ? मलाई त लाग्छ, चन्द्रमामा पुगे पनि हुँदैन । यहाँको यो स्वच्छ हावापानीले स्वर्ग पुगेजस्तो आनन्द दिएको छ । पहिलाको शहर के शहर ? त्योभन्दा बढी विकास अहिले गाउँमा पुगेको छ तर खोई मान्छे ? यतिबेला बाँदरले धेरै दुःख दिएको छ । कुकुर भुक्दा कुलेलम ठोक्ने ती बाँदरहरु अब थेत्तरा भइसके । यिनीहरुलाई तह लगाउन स्थानीय सरकारले कुनै कदम चाल्नु पर्ने देखिन्छ ।

गाउँमा बसेर कृषि काम गर्दैमा मान्छे सानो हुँदैन । आफ्नो घर व्यवहार धानेर हामी श्रीमान् श्रीमती नै सामाजिक काममा समेत सक्रिय छौँ । गाउँका सबैले मान्छन्, त्यसैले वडा अध्यक्षमा उठेँ । जिल्लामा सबैले चिन्छन् । प्रहरी प्रशासनले समेत सल्लाह लिन्छन् ।” कर्मका पूजारी ढकाल आफ्नो विगत पस्किदै भन्छन्, “अहिलेसम्म खाडी मुलुकमै बसेको भए न यतिको आम्दानी गर्थे, न त समाज सेवानै गर्न पाउथेँ । आफू जन्मेर हुर्केको यस ठाउँलाई अहिले मैले हराभरा बनाएको छु । वर्षमा अठार बीस लाख कमाउँछु । यही गाउँ मलाई अहिले स्वर्ग समान भएको छ । हिजो शहर पसेका छिमेकी दाजुभाइहरु पुनः गाउँमा आएर जग्गा किन्न थालेका छन् । यसले गर्दा गाउँमा नयाँ उत्साह छाएको छ । अतः आम युवालाई मेरो अनुरोध छ, थाप्लामा ऋण बोकेर विदेशीनु भन्दा आफ्नै माटोमा पसिना बगाए सुन फल्छ । जीवनमा कर्म नगरि हुदैन । खटाईले कामप्रति रुचि बढ्दो रहेछ । उत्साह र जागर थपियो भने सुनमा सुगन्ध ! हजुरले लेख्ने काम गर्नुहुन्छ । धैर्यता बिना पत्रकार हुन सकिदैन । मैले बुझेअनुसार पत्रकारितालाई राज्यको चौथो अङ्ग भनिएको छ । औपचारिक शिक्षा डिग्री/डबल डिग्री नपढे पनि जीवनले सिकाएको पाठ पनि एक प्रकारको सिकाइ नै हो ।”

सकारात्मक सोचका धनी गजेन्द्रसँग भलाकुसारीको त्यो क्षण देश विदेश घुमेको आभास भयो । गाउँको उकाली ओराली अनि त्यो पानी भर्ने पँधेरी भोजपुरको माटो कण कणको झल्को आयो । साँच्चै, मानिसको जीवनमा सुखको ज्योती बाहिरबाट बल्ने होइन । मानिस आफैँले आफैँभित्रबाट बाल्नु पर्छ । मानिसको त्यो चक्षुलाई कसैले हर्न सक्दैन । अभिभावकको मिहिनेतलाई छोराछोरीले बुझे भने त्यो भन्दा बहुमूल्य सम्पत्ति अरु छैन । श्रीमती भावनाको परिपाठले गजेन्द्रको घर घरजस्तो भएको छ । गाँज फलाउन आफ्नो कर्ममा यी जोडी यसरी नै अघि बढुन् । परिवारको यो सुख र खुसी बाँचिरहोस्, मङ्गलमय शुभकामना !

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *