‘यार’लाई पद्मश्री साहित्य पुरस्कार र शर्मालाई पद्मश्री साधना सम्मान प्रदान

news-details

काठमाडौं– आख्यानकार नयनराज पाण्डेको संस्मरण संग्रह ‘यार’लाई ‘पद्मश्री साहित्य पुरस्कार’ र डाक्टर तारानाथ शर्मालाई ‘पद्मश्री साधना सम्मान’ प्रदान गरिएको छ ।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले हरेक वर्ष २ लाख राशिसहितको उक्त सम्मान तथा पुरस्कार प्रदान गर्ने गरेको छ ।

‘पद्मश्री साहित्य पुरस्कार’ वर्षभरी प्रकाशित कृतिमध्ये उत्कृष्ट कृतिलाई र ‘पद्मश्री साधना सम्मान’ नेपाली साहित्य, कला, संस्कृति आदि क्षेत्रमा दीर्घ साधना गरी विशिष्ट योदना दिने व्यक्तिलाई प्रदान गरिँदै आएको छ ।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछाने र उनका आमा हरिकला लामिछानेद्वारा संयुक्त रुपमा ती पुरस्कार एवम् सम्मान प्रदान गरिएको थियो ।

यार आफ्ना निकट साथीहरूका माध्यमबाट नेपाली समाज,साहित्य र कलाका साथै त्यहाँभित्रका मानिसको मनोदशालाई विशिष्ट शैलीमा प्रस्तुत गरिएको संस्मरणात्मक कृति हो । प्रतिष्ठानले वर्षकै उत्कृष्ट कृतिको रुपमा यारलाई छनोट गरेको थियो।

त्यसैगरी डा. तारानाथ शर्मा विगत ६ दशकदेखि नेपाली नियात्रा, निबन्ध, समालोचना, आख्यान, अनुवाद र सम्पादनमा विशिष्ट योगदान दिँदै आइरहेका छन् । उनी नेपाली साहित्यमा झर्रोवादी अभियानका एक अभियान्ता पनि हुन् ।

प्रतिष्ठानले २०६२ देखि मोफसलमा प्रकाशित उत्कृष्ट कृतिलाई ‘पद्मश्री साहित्य पुरस्कार’प्रदान गर्दै आएको थियो । २०६६ सालबाट देश तथा विदेशबाट समेत नेपाली भाषामा प्रकाशित उत्कृष्ट कृतिलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।

त्यसैगरी २०६७ सालबाट नेपाली साहित्य, कला, संस्कृति आदि क्षेत्रमा दीर्घ साधना गर्ने विशिष्ट व्यक्तिलाई‘पद्यश्री साधना सम्मान’ प्रदान गर्दै आइरहेको प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *