औद्योगिक करिडोरमा मागेजति बिजुली दिन संरचना बनाउँदै प्राधिकरण
- मंसिर २०, २०७८
- 0
हरेक युनिट बिजुलीलाई आर्थिक उत्पादनमा जोड्ने र देशभित्रै खपत बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले योजनावद्ध रुपमा प्रयास थालेको छ ।
प्रमुख औद्योगिक करिडोरमा बिजुली उपलब्ध गराउनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणका लागि प्राधिकरणले अगाडि सारेको योजना कार्यान्वयन भएको खण्डमा हाल निर्माणाधीन आयोजनाबाट उत्पादन हुने सबै ऊर्जाकोसमेत खपत हुनेछ । लामो समयदेखि उद्योगी व्यवसायीले थप बिजुली माग गरे पनि पूर्वाधारको अभावमा उपलब्ध हुनसकेको थिएन । सोही समस्या समाधानका लागि प्राधिकरणले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ काम अगाडि बढाएको जनाएको छ ।
प्राधिकरणले भैरहवा–बुटवल, बारा पर्सा र हेटौँडा औद्योगिक करिडोरका उद्योगले मागेजति बिजुली उपलब्ध गराउने संरचना निर्माण गर्ने योजनाका साथ अभियान सञ्चालन गरिएको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । पछिल्लो पटक बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित उद्योगलाई तत्काल २०० मेगावाटसम्म थप विद्युत् दिनसक्ने गरी पूर्वाधार तयार भएको छ । प्राधिकरणका अनुसार अशोक स्टिललाई थप २०.५ मेगावाटको लोड स्वीकृत भएको छ । उद्योगले हाल १६ एमभिए क्षमताको ट्रान्सफर्मर राखेकोले सोही क्षमता अनुसार विद्युत् दिन सकिने र ट्रान्सफर्मर थप भएपछि उद्योगले मागेजति विद्युत् दिन सकिने प्राधिकरणले जनाएको छ ।
जगदम्बा स्टिलले ३० मेगावाट थप माग गरेकोमा उद्योगलाई दुई महिनाभित्रमा विद्युत् आपूर्ति दिन सकिने प्राधिकरणले जनायो । जगदम्बा इन्टरप्राइजेजको ३० मेगावाटका लागि कनेक्सन सम्झौता गर्न लागिएको र सम्झौता भएपछि उद्योगलाई विद्युत् उपलब्ध गराइने प्राधिकरणले बतायो । यस्तै हिमाल आइरनलाई १३२ केभी लाइनबाट विद्युत् आपूर्ति लिने गरी ३० मेगावाट लोड स्वीकृत भइसकेको र उद्योगले आफ्नोतर्फ लाइन बनाएपछि परवानीपुर सवस्टेशनबाट तत्काल विद्युत् दिन सकिने प्राधिकरणले जनायो । नारायणी इस्पातलाई २०.५ मेगावाट विद्युत् आपूर्तिका लागि ग्रिड प्रभाव अध्ययन (जिआइएस) भइरहेको प्राधिकरणको भनाई छ ।
बाराको सिमरामा निर्माण हुन लागेको विशेष आर्थिक क्षेत्र (सेज)लाई तत्काल विद्युत् दिन सकिने जनाउदै प्राधिकरणले सेजमा आगामी दिनमा खुल्ने उद्योगलाई लक्षित गरी लाइन विस्तार तथा सवस्टेसन निर्माण गर्न लागिएको जनाएको छ । प्राधिकरणले उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियान अन्तर्गत प्रदेश नं २ मा पर्ने बारा–पर्सा औद्योगिक करिडोर क्षेत्रमा ५ वर्षभित्रमा थप दुई हजार मेगावाट विद्युत् खपत हुनेगरी पूर्वाधार बनाउने जनाएको छ ।
सो औद्योगिक करिडोरमा पर्ने सिमरा, निजगढ, वीरगञ्ज, परवानीपुर, पोखरिया, प्रसौनीलगायतका क्षेत्रमा हाल सञ्चालमा रहेका तथा आगामी दिनमा खुल्ने उद्योगलाई लक्षित गरी प्राधिकरणले व्यापक रुपमा विद्युत् प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउन लागेको हो । प्राधिकरणले मुख्य रुपमा उद्योगलाई मागेजति भरपर्दो र गुणस्तरीय विद्युत् दिएर खपत बढाउन अल्पकालीन र दीर्घकालीन योजना अन्तर्गत पूर्वाधार विस्तार तथा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको जनाएको छ ।
प्राधिकरणले तराई क्षेत्रमा विद्युत् लाइन विस्तारका लागि हुलाकी राजमार्ग हुँदै ४०० केभी प्रसारण लाइन निर्माणको अवधारणा पनि अगाडि सारेको छ । सिमरा र वीरगञ्ज क्षेत्रका उद्योगको विद्युत् आपूर्तिलाई विश्वसनीय बनाउन हेटौँडा–परवानीपुर ६६ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता विस्तार तथा सुदृढीकरणका लागि नयाँ टावर थप गर्ने र पुरानो कन्डक्टर निकाली बढी क्षमताको राख्ने काम भइरहेको प्राधिकरणले जानकारी दिएको छ । काम सम्पन्न भएपछि प्रसारण लाइनको क्षमता झण्डै दोब्बर हुने भएकोले उद्योगलाई थप विद्युत् आपूर्ति दिन सकिने प्राधिकरणले जनायो ।
निर्माणाधीन हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनबाट बाराको पिलुवा क्षेत्रमा नयाँ सवस्टेसन निर्माण गर्ने र पर्साको पोखरियामा सवस्टेशन निर्माण गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले विद्युत् खपत बढाउने अल्पकालीन योजना अन्तर्गत सिमरा, परवानीपुर क्षेत्रमा सञ्चालित उद्योगलाई तत्काल दुई सय मेगावाट विद्युत् उपलब्ध गराउने भएको छ । त्यस क्षेत्रमा सञ्चालित स्टिल उद्योगले क्षमता विस्तारका लागि थप विद्युत्को माग गर्दै आएका छन् ।
-रासस