कोरोना डायरी : विश्वास नै लागेन हामी पोजेटिभ छौँ भनेर

news-details

०७८ भदौ २ देखि नै शारदालाई रुघाखोकी, टाउको दुखाइ सुरु भयो । दुरी कायम राख्दै उनको सेवा गरेँ । दुईदिनसम्म भान्साको कामबाट परै राखियो । तीन दिनपछि अलि ठिक भयो । आफन्त छिमेकी र घरकासँग दुरी कायम रहेपनि भान्साको काम उनैबाट फ्त्ते भइरह्यो ।

ममीको छेउ नजाउ है दुईचार दिन अलग्गै बस ।

छोरो सुशानलाई स्पष्ट अनुरोध गरेपनि कार्यान्वयन भएन । नपरुन्जेल न ठूलाले चेत्ने न सानाले ।

८ कक्षामा पढ्ने भयो तर खाना खुवाइदिनु भनेर थाल ममीतिरै तेर्स्याउँछ । छेउमा टाँसिन पुगिहाल्छ । देखेका वेला सम्झायो अरु बेला उस्तै ।

५ गते साँझ उसले मेरो ब्ल्याङकेट आफ्नो ओछ्यानमा लगेछ । माग्न गएँ । आफ्नो ब्ल्याङकेट सानो छ जाडो हुन्छ भन्यो । ओडिरहेको ब्ल्याङकेट सानो हुनु संयोग वा बहाना के थियो उही जानोस् । त्यसो भए आज बाबासँगै सुत भनेर उसलाई आफूसँगै ल्याएँ ।

राति अचानक उसलाई ज्वरो आयो । घरि सिटामोल, घरि पानीपट्टी घरि मालिस गर्दिरहेँ । तर उसको ज्वरो १०२ भन्दा तल झर्न मानेन ।

बिहान शारदा र मैँले शिक्षण अस्पताल महाराजगंज लग्यौँ । भाइरल ज्वरो हो आत्तिनु पर्देन भनेर सिटामोल सिफारिस गरे ।

की पिसिआर गर्ने त बाबु ? डाक्टर सिर्जना बस्नेतले सोधिन् । गर्दिन भन्यो उसले । फर्किँदा बाटोमा सुनायो पोजेटिभ रिपोर्ट आउला भनेर डराएको रे ।

सुशानको भाइरल हो भने शारदाको पनि भाइरल नै हो, पक्का भयो ।

विरामी आमाछोरालाई स्कुटरमा हाँकेर जतिजति घर फर्किँदै छु उतिउति जिउ दुख्दैछ, शरीर असजिलो हुँदैछ ।

यो भाइरल अब मेरो शरीरमा पनि प्रवेश गर्ने कुरा निश्चित भयो । तीनवर्ष अगि दशैँमा यसैगरी तिनैजना सुतेको हौँ । कोरोना बराबरको सकस हामीले त्यसवेलै भोगिसकेका थियौँ । त्यही संयोग दोहोरिने भयो ।
नोप्रब्लम यसपटक पकाएर खानदिने सन्तोष छ । सोच्दै घर आइपुगेँ । ज्वरो पनि मसँगै आइपुग्यो । सिटामोल खाएँ ।

ज्वरो त मलाई सुशानबाटै सरेको थियो । दुईदिनपछि उसको ज्वरो घट्यो, मेरो घटेन । शारदालाई ज्वरोनै आएको छैन, रुघामर्की र जीऊदुख्ने मात्रै छ । भिनाजु डिल्लीराम भट्टराईले भन्नुभयो भाइरल नै हो भने सिटामोलले हुँदैन कोडोमल खाऊ ।

कोडोमोल खाँदापनि ज्वरो घटेन । ८ गते फेरि फोन गरेँ उहाँलाई ।कोडोमलले पनि छोएन भने टाइफाइड हुनसक्छ ल्याबटेष्ट गरेर मात्र औषधि खाऊ ।

आज दिनभरमा पनि ज्वरो घटेन भने हेम्स अस्पतालमा गएर दुईहजार खर्च गर्नैपर्ला । दुबैजनाको रिपोर्ट नेगेटिभ आए बल्ल टाईफाइड चेक गर्ने । सल्लाह भयो दुईबिच ।

छिनमै के मन आयो कुन्नि । बित्थामा किन४ हजार खर्च गर्ने ? यो दुईवर्षमा त्यस्ता४हजार धेरै गइसक्यो । पोहोर त विमाकोआश थियो अहिले त त्योपनि छैन । जाऔँ पुलिस हस्पिटल ल्याब टेष्ट गरौँ ।
शारदालाई स्कुटरको पछाडि राखेर गएँ प्रहरी अस्पताल ।

केहि महिना अगि पिसिआर गर्न निकै पापड बेल्नुपरेको थियो । उच्च ओहोदाका डाक्टरको सिफारिस चाहिने अवस्था एकाएक परिवर्तन भएर तलकै कर्मचारीले पिसिआर निर्णय गर्न सक्ने भएछन् ।

फिवर क्लिनिकका साथीहरुले धेरै सोधीखोजि नै नगरी आफैँले फारम भरिदिए । पिसिआरनै गरिदिन्छौ भने झनै गजब, पैसा पनि बच्यो ढुक्क पनि भइन्छ । मन बोल्यो ।

स्वाव दिएर घर आयौँ । सुशान निको भइओरी अनलाइन कक्षा पढ्न थालिसकेको थियो । दुईदिनमै निको हुने अल्पायु भाइरल देखेर आनन्द र अचम्म एकसाथ भयो ।

रिपोर्ट पोजेटिभ आए ९ गते बेलुका फोन वा मेसेज आउँछ नेगेटिभ भए केहीपनि आउँदैन भनेका थिए ।

यसअगि कयौँ पटक रिपोर्ट आउने समयमा आएका फोन उठाउन डरलागेको थियो । के भयो होला भनेर मन आत्तिरहन्थ्यो । आफूसँगै कामगरेका साथीहरु संक्रमित भइरहेका कारण आफूपनि संक्रमित हुने सम्भावना प्रवल थियो । त्यसैले पोजेटिभ आएछ भने एकलाखको विमा पाइन्छ भनेर अफिसमा चर्चा चल्थ्यो ।

तर अहिले त घरमा छ बसाइ । न कतै जानु छ न केही खानु छ । ढुक्कै थियौँ हामी नेगेटिभको समाचार सुन्न ।

९ गते साँझ ६बजेर४० मिनेटमा शारदाको मोबाइलमा फोन आयो ।

उसले कुरा गर्दागर्दै मैँले बुझिहालेँ । फोन समाचार सुनेर सुशान बुरुक्क उफ्रेर पर भाग्यो ।

उसलाई ज्वरो निकोहुने बित्तिकै मबाट अलग्गै सुताएको थिएँ । तर घरिघरि ममीसँग टाँसिन छोडेको थिएन । यतिवेला चेते जस्तो छ ।

विश्वास नै लागेन हामी पोजेटिभ छौँ भनेर । मनमा एउटा प्रश्नआइरह्यो । त्यसोभए हाम्रो खुशी र सुशानको सुखका लागि उसको कोरोना दुईदिनमै ठिक भएको हो ? की उसलाई कोरोना थिएन ? उसको स्याहार गर्दा नै मलाई सरेको थियो । मलाई कोरोना भए उसलाई के थियो त ?

सुशान सन्चो भइसकेको कारणले हो वा आफ्नै रिपोर्टमा विश्वास नलागेर हामी हाँस्यौँ खुबहाँस्यौँ ।

रिपोर्ट हाम्रो होइन तिनीहरु झुक्किएकै हुन भन्ने पनि लागिरह्यो ।

जसलाई पनि सजगता सिकाएको छ । कराएको छ । कतै जानुखानु छैन । फेरिपनि कोरोना । सम्झिँदा रिस उठ्छ घरि, घरि हाँसो पनि लाग्छ । शारदा पनि खितखिताएको सुन्छु । कसरी भयो किन भयो कुरै नबुझेर हाँसेका थियौँ घरिघरि ।

पुलिस एकेडेमीमा कार्यरत मित्र लिला मोक्तानलाई अनुरोध गरेँ रिपोर्ट कन्फर्म गरौँन यार फरक परेको पो होकी ।

रिपोर्ट ईमेलमा आयो । पोजेटिभ नै थियो ।

भतिज सन्तोषलाई भनेँ, सुशानलाई नसताएको मात्रै हो ऊ पनि संक्रमित नै हो । तँपनि के जोगिएको होलास दुबैजनाले पिसिआर गर ।

उसले मानेन । केही भएकै छैन किन गर्ने ? फेरि कसैका घर गइन्न पनि ।

१० गते बिहानको भिडमा खटिएका डाक्टर डिएसपी विवेकराज भण्डारीलाई फोन गरेँ । उहाँको मिठो बोलीले आधा आलस्य घटेर फुर्ति बढेझैँ भयो । उहाँले केही सुझाव र औषधिको नाम सिफारिस गर्नुभयो ।
अक्सिमिटर, औषधि र खाने तरिका लेखिएको लिष्ट लिएर आयो सन्तोषले गोठाटार भिनाजुको पसलबाट ।

डाक्टर विवेकले अक्सिजन लेभल ९२ भन्दा कम भयो भने सम्पर्क गर्नु नत्र डराउनु पर्दैन भन्नुभएको थियो । एउटा एक्स्रे गर्न मन छ भनेँ । त्यसोभए दिउँसो ३ बजेपछि आउनु भन्नुभएको थियो ।

कोभिड पेसेन्टको एक्स्रे गर्ने समय परिवर्तन भएको कारण नेपाल प्रहरी अस्पतालमा एक्स्रे हुन सकेन । छिमेकमा रहेको करुणा अस्पतालका श्रीकृष्ण श्रेष्ठजीलाई फोन गरेँ । र, एक्स्रे गरेँ ।
सामान्य छ डराउनुपर्दैन भने डाक्टरले ।

उटपट्याङ बिचार आयो मनमा । गाउँघरमा प्रसस्तै झारफुक गरेको देखेको थिएँ । म आफूलाई पनि गराएको थाहा छ । काठमाडौँमा आएपछि पनि एकपटक आमा र शारदा मिलेर मलाई फुकफाक गराएका छन् । धामीले अनौठो पाराले फुकफाक गर्नथाले पछि हाँसो रोक्न कठीन हुन्छ । कमेडी जस्तो लाग्छ धामीको फुकाइ ।

घरमा कसैलाई सञ्चो भएन भने त्यसैगरी रमाइलो फुकफाक गरिदिन्थेँ ।

नजान्नेले गर्नुहुँदैन देउता रिसाउछन भनेर आमाले गाली गर्नुहुन्थ्यो । सम्झना आयो त्यो । तीनबजे अस्पताल जानु थियो । आइसोलेसनमा काम के नै होस दुख्दा ऐया आत्था, भोक लाग्दा खाने बाहेक ।

हे..तिमी कोरोना ! देवी देउराली हौ की ? भूत पिशाच हौ ? किन मेरी पियारीको शरीरै छोयौ ?….. भनेर शारदालाई फुकफाक गरिरहेको थिएँ । शारदाको हाँसो रोकिएन ।
यसो गर्दा त अरुपनि हाँस्छनकी क्या हो भन्ने लाग्यो।
धुपबात्ती, फुल, अक्षता, सागपात, तरकारी, फलफूल जुटाएँ । अनि क्यामेरा स्टेण्डमा मोबाइल राखेर खिच्न थालिहालेँ । विरामीको अभिनयमा बसेकी शारदा आफैँ हाँसेर कठिन भयो रेकर्ड गर्न । जेनतेन रेकर्ड गरेँर युट्बमा हालेँ । जतिले हेर्नुभयो एकदमै हाँसेको प्रतिक्रिया प्राप्त भयो ।

प्रतिक्रियाहरू रोगसँग लड्ने उर्जाझैँ भएर आएझैँ लाग्यो मलाई ।

११ गते टेकु अस्पतालबाट फोन आयो । कुनै ट्राभल हिस्ट्री छ की ? भनेर सोधे । ओल्लो कोठाबाट पल्लोकोठा, माथिल्लो फ्लाटबाट तल्लो फ्लाट र छतबाहेक कुनै ट्राभल हिस्ट्री थिएन । त्यही भन्दिएँ ।

कस्तो छ तपाईलाई ? कुनै अरु समस्या छ की ? परिवारमा कति जना बस्नुहुन्छ ? कतिजना सङ्क्रमित हुनुभयो । कुनै समस्या परे १११५मा कल गर्नुहोला भनेर आफन्तले झैँ जानकारी लिएकाले भावुकता मात्र प्रदान गरेन मनोबल पनि बढायो ।

भदौ १२ गते मलाई त सदाझै समयमै निन्द्राले छोड्यो । तर शारिरीक कमजोरी बढेको थियो । टाउको झिरले घोचेझैँ दुखिरह्यो । औषधि र भिटामिन खाइरहेको छु तर कमजोरी घटेको थिएन । शारदालाई झन आँखा खोल्नै कठिन भयो ।

छिनमा आशा र छिनमा निराशा बाँडिरह्यो ।

१६ गतेदेखि अलि आराम जस्तो भएपनि कमजोरी धेरै थियो । पिठ्युँको बायाँपटि एकदम पोल्ने, सुते आराम हुने बस्योकी भतभती पोल्नेभइरह्यो । जसलाई जे समस्या छ त्यसैमा प्रहार गर्ने रहेछ । मेरो सर्भाइकल पेन थियो त्यही सतायो । अरु जटिल रोग हुनेहरूलाई कठिन हुने कारण त्यहीत होला यस्तै लाग्यो ।

अब ठिक भयो भन्ने लागेर उमङ्ग बढिरहेको हुन्छ छिनमै कोखो दुख्ने, टाउको दुख्ने, पिठ्युँ दुख्ने हुन्छ र नकारात्मक सोचाइ ल्याईदिन्छ अनायास ।

१२ दिनपछि २० गते पुलिस अस्पताल गयौँ । कोभिड वार्डकी डाक्टरले भनिन अब तपाईहरु डराउनुपर्दैन । स्वास्थ्य मन्त्रालयको प्रोटोकल अनुसार १० दिन आइसोलेसनमा बसेपछि हिँडडुल र आफ्ना नियमित गतिविधि गर्न मिल्छ ।

शरीरमा शक्ति छैन हिँड्दा हुर्रिएला जस्तो हुन्छ । कसरी हिँड्न डाक्टर ?

धेरैमा यस्तो कमजोरी ६ महिनासम्म रहन्छ । लिस्नो चढ्दा पनि थकाई मार्दै चढ्नुपर्छ । त्यसैले नडराउनु । बरू कोभिडका कारण सुगर, थाइराइडले ठाउँ छाडेको हुनसक्छ मेडिकल ओपिडिमा देखाएर ल्याब टेस्ट गराउनु ।

बिचरा पिपिई र फेससिल्डले छोपिएर कतिन्जेल बस्दा हुन गर्मीमा झर्को नमानी परामर्श दिइन् । उनको तारिफ गर्दै सिकबुक दर्ता गरेर मेडिकलमा गयौँ । त्यहाँकी डाक्टरले त केको थाइराइड न सुगर कुनै जाँच लेखिनन् । आयुर्वेद खानु भयोकी क्या हो ? नखानुहै जे पायो त्यहीभनिन् ।

हामीले नियमित खाने गरेको औषधीको लिस्ट देखाएपछि ढुक्कभइन् । र दुवैजनालाई छातिको एक्स्रे लेखिदिइन् । कमजोरी छ भनेर छिटै तङ्ग्रिन माछामासु होइन फलफूलमा बलगर्नुस् । सुझाव दिइन् ।
खिस्स हाँस्यौँ हामी । तीनवर्षदेखि साकाहारी भइसकेको मलाई भतिज सन्तोष र मित्र लिलाले लसपस बनाइसकेका थिए ।

एक्स्रे गरेपछि छातिमा कुनै समस्या नभएको पक्का भएपछि घर फर्कियौँ र आइसोलेसन मुक्तिको घोषणा गर्दै आफै खाजा बनाएर खायौँ ।

साँझ समाचार आयो आज एकहजार भन्दा बढी संक्रमित र पन्ध्रसयमाथि कोरोना मुक्त भएको भनेर । हामीजस्ता पिसिआर नगरी मुक्तिको घोषणा गरेकालाई कहाँराख्छ होला । की हामीजस्तै दसदिन आइसोलेसनमा बसेकालाई सबैलाई मुक्त भनिदिने हो ?

प्रश्न र कोरोनाको शिथिलता बाँकी छ । जीवन यात्रा निरन्तर छ एक अनुभवको निरन्तरतासहित।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *